12/21/2025
*धनुर्मास महोत्सव*
*तिरुप्पावै (श्रीव्रत प्रबन्ध)*
*पाशुर–६*
➡️ मिठासयुक्त वस्तु एक्लै अनुभव गर्नु हुँदैन; अरूसँग मिलेर नै त्यसको सेवन गर्नुपर्छ। यहाँ गोपीहरूको हार्दिक अभिप्राय अनुसार मार्गशीर्ष व्रत भनेको श्रीकृष्ण–अनुभव नै हो, र भगवानलाई मधु, क्षीर, इक्षुरस आदि जस्तै परमभोग्य मान्नु भक्तहरूको स्वभाव हो। त्यसैले यस्ता परममधुर भगवानको अनुभव गर्दा अरूलाई पनि बोलाउनु आवश्यक हुन्छ। परममधुर भगवानको अनुभव एक्लै गर्नु हुँदैन।
➡️ श्री वैकुण्ठमा विराजमान परवासुदेव मूर्तिभन्दा विभवावतार मूर्तिहरूमा भक्तहरूले अनुभव गर्न सक्ने गुणहरू अझ अत्यन्त उज्ज्वल हुन्छन्। त्यसैले गोपीहरूको अभिप्राय यो हो कि वैकुण्ठभन्दा पनि बढी भक्तजनहरू मिलेर विभवावतारहरूको अनुभव गर्नुपर्छ।
➡️ भगवानसँग भेट्नुभन्दा पहिले उहाँका परमभक्त गोपीहरूसँग भेट हुनु नै स्वरूपानुकूल परमपुरुषार्थ ठानी उनीहरूलाई जगाइरहेकी छन्। भगवत्सन्निधिमा जानेहरूले भागवतहरूको पुरुस्कार प्राप्त गरेर मात्र जानुपर्छ।
➡️ भगवान र भक्तहरूको मिलनमा दुवै तर्फ सिफारिस गर्ने भागवतहरूको आवश्यकता हुन्छ।
➡️ भगवदनुभव गर्ने महात्माहरूमा, परमपदमा समेत केही विभाग बताइएका छन्। कतिपय मानिसहरू भरतजी जस्तै गुणानुभवमै निरत रहन्छन्, जसको बिरुद मुनि हो। अरू कतिपय लक्ष्मणजी जस्तै सेवामा उत्सुक हुन्छन्; उनीहरूलाई योगी भनिन्छ। यी दुवै भगवानका दिव्य लीलाहरूको ध्यान गर्दै गर्दै निदाउँछन्।
➡️ महात्माहरू एक–एक समयमा एक–एक नामको कीर्तन गर्नु अत्यन्त औचित्यपूर्ण मान्छन्। यात्राको प्रसङ्गमा केशव भन्नु; भोजनको बेला गोविन्द नाम उच्चारण गर्नु; शय्यामा पल्टिँदा माधव भन्नु; उठ्ने बेलामा हरि पुकार्नु आदि।
➡️ ज्ञान र त्यसअनुसारको सदाचार बिना कुनै पनि मानवले सद्गति प्राप्त गर्न सक्दैन।
➡️ श्रीमदष्टाक्षर महामन्त्रमा रहेको प्रणवको अर्थबारे हाम्रो आचार्यगण भन्नुहुन्छ कि यसमा एउटा वाच्यार्थ र एउटा व्यङ्ग्यार्थ हुन्छ। वाच्यार्थ यो हो कि जीवात्मा भगवानको शेष हो; र व्यङ्ग्यार्थ भने यो हो कि जीवात्मा भगवद्भक्तहरूको शेष हो। यसरी सकल वेदको सारभूत प्रणवले ध्वनिमर्यादाबाट आत्मा भगवद्भक्तहरूको शेष हो भन्ने तात्पर्य जनाउँछ।
➡️ आत्माले शरीर त्यागेपछि जाने मार्गहरू बताइएका छन्। यस्ता मार्ग चार प्रकारका हुन्छन्, जसलाई दुई भागमा विभाजन गर्न सकिन्छ—
१. दुर्गति
गर्भगति — कतिपय जीवहरू एक शरीर छोडेपछि तुरुन्तै अर्को गर्भमा प्रवेश गरी अर्को जन्म लिन्छन्; यस मार्गलाई गर्भगति भनिन्छ।
याम्यगति — अन्य धेरै जीवहरू मरेपछि नरकमा जान्छन्; यो मार्ग याम्य (अर्थात् यमपुरी जाने) गति हो।
धूमादिगति — केही जीवहरू आफूले गरेका विशेष पुण्यकर्मको फल भोग्न स्वर्गमा जान्छन्; यो मार्ग धूमादिगति हो।
यी तीनै प्रकारका जीवहरू संसारमण्डलमै रहँदै यताउता भट्किरहन्छन् र अनेक प्रकारका सांसारिक सुख–दुःख भोगिरहन्छन्।
२. सद्गति
अर्चिरादिगति — “स महात्मा सुदुर्लभः” आदि वाक्यद्वारा प्रशंसित, भगवानको विशेष अनुग्रह प्राप्त गरेका केही विशेष व्यक्ति त यस शरीरसँगै सबै कर्मबन्धन पूर्ण रूपमा त्यागेर सीधै परमपद जान्छन्। उनीहरू जाने मार्गलाई अर्चिरादिगति भनिन्छ। आचार्यका पादारविन्दसँग सम्बन्धित मानव (अथवा प्राणीमात्र) गर्भगति आदि दुःखद मार्ग त्यागी साक्षात् अर्चिरादिगति द्वारा परमपदमा पुग्छ।
➡️ आचार्यहरू त निरन्तर भगवद्गुणहरूको अनुभव गरिरहनु हुन्छ।
आण्डाल दिव्य तिरुवडीगले शरणम्।
आल्वार एम्पेरुमानार् जीयर् तिरुवडिगळे शरणम्।