16/01/2024
आजको दिब्य दर्शन ,
डोलेश्वोर महादेवको जय होस् ..
केदारनाथ बाबाको जय होस् .
शिव -गोमा माताको जय होस् ..
हर हर महादेव ..
------------4-------------------
काठमाडौं उपत्यका भक्तपुर नगरको आग्नेय कोणमा रहेको श्री डोलेश्वर महादेवलाई नेपाल भाषा (नेवारी) मा ‘सिपारे माद्यो’ भनिन्छ । यस डोलेश्वर महादेवलाई हिमवत्खण्डमा विमलेश्वर भनी उल्लेख गरेको पाइन्छ,डोलेश्वर महादेवको नाम भौगोलिक अवस्थाअनुसार नामाकरण भएको अनुमान गर्न सकिन्छ,डोलेश्वर पर्वत शृङ्खलाको दक्षिण भागमा डोल परेको पहाडमा काखमा रहेको यो शिवलिङ्गलाई प्राचीनकालमा कुन नामले पुकारिन्थ्यो भन्ने कुरा अनुमान गर्न सकिँदैन,यो शिवलिङ्गको उत्पत्ति द्वापरयुगको अन्त्य र कलियुगको प्रारम्भकालमा भएको हुँदा र महाभारतका पाण्डवहरूले समेत तीर्थाटन गरिएको यो शिवलिङ्गको नाम श्रीकेदारनाथजी नामसँग मिल्ने नाम हुनसक्थ्यो भनेर अनुमान गर्न सकिन्छ,कालान्तरमा यो शिवालयको नाम ‘डोलेश्वर’ रहेको प्रमाण यसै मन्दिर परिसरमा रहेको विक्रमसम्वत् १६२९ को राजा भूपतिन्द्र मल्लले स्थापना गरेको शिलालेखबाट त्यो समयभन्दा अगाडिदेखि नै ‘डोलेश्वर’को नामले चिनिँदै आएको प्रमाणित हुन्छ।
नेपाल भाषामा शिवलिङ्गलाई ‘सी’ भन्ने गरिन्छ । त्यसैबाट ‘सिपारे माद्यो’ भन्ने गरिएबाट डोलेश्वर र सिपारेको आ–आफ्नो भाषाद्वारा सम्बोधन भएको देखिन्छ तर, क्षेत्रको नाम रहँदा दुवै भाषाको शब्द संयुक्त रूपमा प्रयोग भई सिपा तथा डोल अर्थात् सिपाडोल रहेको देखिन्छ । यही कारणले गर्दा डोलेश्वर र सिपारे दुवै नाम यो शिवलिङ्गका लागि प्रयोग हँुदै आएको प्रस्ट रूपमा देखिन्छ । नेपाल मण्डलका लिच्छवि तथा मल्ल राजाहरूले यो डोलेश्वर महादेवको मन्दिर छानायुक्त (प्यागोडा शैली)मा तीनतले बनाएका थिए । तर, कहिले र कसको शासनकालमा बन्यो भन्ने कुराचाहिँ कतैबाट देखिँदैन । सो तीनतले मन्दिर वि.सं. १९९० को महाभूकम्पबाट क्षतिग्रस्तपछि आजभन्दा ७० वर्षअगाडि यो हालको देखिने गुमोज शैलीको मन्दिरको निर्माण भएको हो ।
राजा भूपतिन्द्र मल्लको वि.सं. १६२९ को शिलालेखमा यस डोलेश्वर मन्दिरको जीर्णोद्धार गरी सुनको कलश चढाएको उल्लेख भएबाट सो जीर्णोद्धार भएको मन्दिर त्यसभन्दा तीन–चार शताब्दीअगाडि निर्माण भएको हो भन्न सकिन्छ । यसको इतिहासलाई हेर्दा करिब सात–आठ सय वर्ष अगाडिसम्म मात्र अनुमान गर्न सकिने भएकाले यसभन्दा अगाडिका समयको अनुमान गर्न नसकिने भएकोले किंबन्दतीलाई आधार मानेर यो मन्दिरबारे अनेक चर्चा–परिचर्चा चलेको देखिन्छ ।
यसै सन्दर्भमा डोलेश्वर महादेवको दर्शन गर्न महाभारतकालीन पाण्डवहरू आएका थिए भन्ने कुरा पोखरेलबाट पूर्वतर्फ रहेको ‘पाण्डव ढुङ्गा’ले आजसम्म लोक मान्यता पाएको कारणले गर्दा पाण्डवहरूले यस डोलेश्वर महादेवको दर्शन गर्न आएको कुरा प्रमाणित भएको छ । यस सम्बन्धमा लोकबोलीका अनेक कथाहरू प्नि प्रचलनमा रहेका छन् । डोलेश्वर महादेवको इतिहासमा बीचमा टुटेको हुँदा यस सन्दर्भमा पछि खोज, उत्खनन् तथा अनुसन्धानबाट उजगार हुने नै छ । हालसम्म पनि यस डोलेश्वर महादेवलाई विमलेश्वर सिपारे माद्यो भन्ने गरिन्छ । साथै ०६६ भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिर भाग भन्ने घोषणा भइसकेपछि केदारनाथ पनि भनिने गरिएको छ ।
बाह्र ज्योतिर्लिङ्गमध्ये भारत उत्तराखण्डमा अवस्थित चारधाम, गंगोत्री, यमुनोत्री, बद्रीनाथसहित केदारनाथको महत्व परापूर्वकालदेखि नै विशिष्ट रहेका र उनै केदारनाथ महादेवको शिरोभाग पाशुपत क्षेत्र काठमाडौं उपत्यकाअन्तर्गत भक्तपुर जिल्लाको सिपाडोलमा डोलेश्वर महादेवको रूपमा रहेका छन् । महाभारतकालमा पाण्डव परिवारले राज्यव्यवस्था अर्जुनपुत्र अभिमन्युका छोरा परीक्षित महाराजलाई जिम्मा लगाई स्वर्गारोहणका लागि उत्तरापन्थको यात्रा गर्दै गए । यात्राकै क्रममा पाण्डवहरूले आशुतोष भगवान् केदारनाथको दर्शन गर्ने इच्छा गर्दा ती स्वजन हत्या गरी आएका पापी पाण्डवहरूलाई दर्शन नदिने निर्णय गरी केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विहारमा रहनुभएको थियो ।
पाण्डवहरूले ध्यान दृष्टिले विचार गर्दा केदारनाथले राँगोको रूप धारण गरी जङ्गल विचरण गरेको थाहा पाएपछि सोही रूपको पनि दर्शन गर्छौं भनी पाण्डवहरू प्छि लागेर पुच्छर समाएर तान्न खोज्दा भगवान्ले आफ्नो शिर भाग लुकाई पृथ्वीतर्फ धसिँदै आफ्नो शरीरलाई तीन टुक्रा बनाई अलप हुनुभयो । शिर, धर र पुच्छर तीन टुक्रामध्ये धड सोही ठाउँमा रहेको र भीमसेनको हातमा रहेको पुच्छरसमेत अन्य स्थानमा पछारिन पुगेको थियो । यस्तो अनर्थपछि पाण्डवहरू भयभीत भएर भगवान्को आराधना गर्न थालेका थिए । यसैबीच ‘तिमीहरूले पाप ग-यौ, साँच्चै मेरो दर्शन गर्न आएका हौ भने नेपालमा दर्शन गर्न जाऊँ आकाशवाणी भएपछि पाण्डवहरू पूर्वतर्फ लागेका थिए । उक्त कुरा शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पष्ट उल्लेख भएको छ ।
लामो समयसम्म निर्णय हुन नसकेका कारण केदारनाथको शिरभाग नेपालमै छ भन्ने भएको र कुनचाहिँ देवस्थल केदारनाथको शिरभाग हो भन्ने निर्णय नभएको अवस्थामा आदिदेव श्री पशुपतिनाथलाई नै केदारनाथको शिर भाग मानिएका थिए । मानव सृष्टिसँगसँगै उत्पत्ति भएको आदि ज्योतिर्लिङ्ग पशुपतिनाथको लाखौँ वर्षको इतिहास भएको र केदारनाथको उत्पत्तिको इतिहास द्वापरको अन्त्य र कलीको प्रारम्भसँग अर्थात् करिब पाँच हजार वर्ष मात्र रहेको हँदा पशुपतिनाथको इतिहाससँग केदारनाथको इतिहास जुट्न नसकेको स्पष्ट देख्न सकिन्छ । हाल आएर हिमवत्केदार वैराग्य सिंहासनाधिश्वर रावल पदवी विभूषित श्री श्री श्री १००८ जगत् गुरु भीमाशङ्करलिङ्ग शिवाचार्य महास्वामीबाट २०६६ साल भदौ ६ गतेका दिन केदारनाथको शिरोभाग डोलेश्वर महादेव भएको विधिवत् घोषणा गरेपछि विश्वमा रहेका एक अर्ब २० करोड हिन्दूहरूमा रहेको भ्रम निवारण हुन पुगेको छ । शिव पुराणमा ‘उत्तराञ्चलमा जुन रूपमा म छु, त्यही रूपमा नेपालमा पनि रहनेछु’ भनिएको छ । ज्यातिर्लिङ्ग केदारनाथमा शरीरको मात्र दर्शन हुने र सो दर्शनपछि शिरोभाग डोलेश्वर दर्शन, त्यसपछि आदि ज्योतिर्लिङ्ग पशुपतिनाथको दर्शन तथा आराधना जीवनको सार्थकताका लागि आवश्यकता हुन्छ ।
वि.सं. १६२९ मा जीर्णोद्धार भएको डोलेश्वर मन्दिर वि.सं. १९९० को महाभूकम्पले भत्काएपछि हाल गुमोज शैलीमा निर्माण भएको छ । पहिले डोलेश्वर महादेवको नौ सय रोपनी जङ्गल रहे पनि राणाकालमा बक्सिस पाएर उनका नजिकका व्यक्तिहरूको नाममा दर्ता भएको देखिन्छ । परिणामस्वरूप १९८० र २०२९ को नापीमा डोलेश्वरको जग्गा व्यक्तिहरूको नाममा कायम गरिएको थियो । उक्त नापीले काठमाडौं विष्णुप्रसाद श्रेष्ठ, रामराजा श्रेष्ठ, सिद्धिबहादुर श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठको नाममा सात सय ९७ रोपनी जग्गा कायम गरेको देखिन्छ । मन्दिरको स्वामित्वमा २०६६ सालसम्म जम्मा एक रोपनी १२ आना जग्गा मात्र थियो । हाल पदमबहादुर पौडेलबाट १५ रोपनी र कुमार उप्रेतीबाट १५ आना जग्गा प्राप्त भएको छ ।
धार्मिक दृष्टिकोणले निकै पवित्र र महत्वपूर्ण तीर्थस्थलको रूपमा डोलेश्वर महादेव रहे पनि राष्ट्रिय प्रचारप्रसारको अभावले गर्दा राजधानीबाट नजिकै रहेर पनि त्यति चर्चा पाउन सकेको छैन । डोलेश्वर महादेवको दर्शन गर्न नेपालीभन्दा भारतीयहरू बढी आउने गरेको त्यहाँका पुजारीले बताए । ती पुजारीका अनुसार महिनामा दुईदेखि तीन सयजना भारतीय हिन्दूधर्मावलम्बीहरू आउने गरे पनि नेपालीहरूको सङ्ख्या भने निकै न्यून रहेको बताए । सरकारले पनि डोलेश्वर महादेवको संरक्षण, विकास र प्रचारप्रसारका लागि कुनै कदम नचाल्नुले पनि यो तीर्थस्थल छायाका परेको ती पुजारीले बताए । वर्तमान अवस्थामा डोलेश्वर महादेव क्षेत्र संरक्षण तथा विकास समितिले यो क्षेत्रको विकासका लागि एक बृहत् गुरुयोजना बनाएको छ । जुन कार्यान्वयन भएको खण्डमा डोलेश्वर महादेवको काँचुली फेरिने पक्का छ ।