परम्परागत धार्मिक, सामाजिक, सांस्कृतिक मूल्य र मान्यता मानव समाजका बहुमुल्य आधारस्तम्भ हुन् । आफ्ना पूर्वजहरुको रीतिरिवाज, पुरातन धर्म संस्कृति र सामाजिक परिपाटीलाई अक्षुण राख्ने हाम्रा धेरै महर्षिहरुमा आ–आफ्ना विशेषताहरु रहेका छन् । तापनि प्रेम, करुणा, सद्भावना, त्याग र तपस्या जस्ता सद्गुणले परिपूर्ण भएका विभिन्न ऋषिहरुमध्ये महर्षि कौडिण्य पनि एक हुनुहुन्थ्यो । वहाँका वंशका विभिन्न सन्ततिहरुमध्ये
हाम्रा सापकोटाका पूर्वजहरु नेपालको मध्य पश्चिममा सर्पकोट नाम गरेको स्थानमा बस्दथे । त्यहाँका बासिन्दाहरुलाई सर्पकोटे भनिन्थ्यो । सोही सर्पकोटेबाट अपभंश भै सापकोटा हुन आएको भन्ने एकथरी जनश्रृति पाईन्छ । त्यहीबाट कौडिण्य गोत्रीय सापकोटाहरु विभिन्न समयमा विभिन्न स्थानमा फैलिएका हुन सक्छन् । अद्यापी त्यहाँ कौडिण्य नामको गुफा समेत पाईन्छ । “सवेभ्यो ब्राहमणेभ्यो दधि दियतां तक्रं कौडिण्याय” भन्ने नीति अनुसार अद्यापी सो गुफामा साजी मही चढाउने चलन भएको पनि पाईन्छ ।
प्रारम्भमा नेपालभित्र र बाहिर भएका कौडिण्य गोत्रिय सापकोटा बन्धुहरुलाई गोलबन्द गरि आपसमा एकता, भाइचारा र बन्धुत्वको भावनाको विकास गरी लोककल्याणकारी कार्यमा अभिमुख गराउने, ऐतिहासिक तथा पर्यटकिय सम्भावना बोकेको तिलोत्तमा आसपास क्षेत्रमा सम्पुर्ण कौडिण्य गोत्रका प्रथम पुरुष कौडिण्य ऋषिको सम्झनामा कौडिण्याश्रम स्थापना गरी कौडिण्य ऋषिको प्रस्तर मूर्ति प्रतिस्थापना गर्ने, प्रत्येक वर्षको मंसिर पूर्णिमाका दिन सम्पुर्ण सापकोटा बन्धुहरु एकत्रित भै अहिंसात्मक रुपले कुलपूजा गर्ने उद्देश्यले सापकोटा कुल मन्दिर, नाफारहित र सेवामूलक संस्था स्थापना गर्न वाञ्छनीय भएकोले कौडिण्य गोत्रीय सापकोटा बन्धुहरुको अग्रसरतामा यो अगाडी बढाईएको छ I