19/08/2026
प्रिय ग्यादरिङ मण्डली परिवार,
हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ बाइबलका पदहरूबारे विभिन्न शिक्षा, व्याख्या र दाबीहरू सामाजिक सञ्जालमार्फत छिट्टै फैलिन्छन्। कतिपय कुरा नयाँ र गहिरा देखिन्छन्, तर नयाँ वा असामान्य हुँदैमा ती कुरा सत्य हुँदैनन्।
यसकारण, प्रिय हो, हामीले हरेक शिक्षालाई प्रेमपूर्वक तर गम्भीरतापूर्वक धर्मशास्त्रको प्रकाशमा जाँच्नुपर्छ। बेरियाका विश्वासीहरूले प्रेरितहरूको शिक्षा सुनेपछि पनि “धर्मशास्त्रमा यी कुरा यस्तै हुन् कि होइनन्” भनेर दिनहुँ जाँच्थे (प्रेरित १७:११)। हाम्रो विश्वास पनि यही नम्र र जाँच्ने विश्वास हुनुपर्छ।
यस लेखको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा आक्रमण गर्नु, कसैलाई लज्जित पार्नु वा कुनै विवाद जित्नु होइन। हाम्रो उद्देश्य केवल परमेश्वरको वचनप्रति इमानदार हुनु हो। विशेष गरी उत्पत्ति ९:२०–२७ मा हाम, नोआ र कनानको घटनाबारे गरिएका केही असामान्य दाबीहरूलाई हामी पाठ, सन्दर्भ, ऐतिहासिक व्याख्या र सम्पूर्ण धर्मशास्त्रको प्रकाशमा जाँच्नेछौं।
हाम्रो सरल सिद्धान्त यही हो: बाइबलले जे भन्छ, त्यही भनौं। बाइबलले नबताएको कुरालाई बाइबलको शिक्षा नबनाऔं। जहाँ धर्मशास्त्र स्पष्ट छ, त्यहाँ हामी दृढ रहौं; तर जहाँ व्याख्यामा मतभेद छ, त्यहाँ हामी नम्र रहौं।
उत्पत्ति ९:२०–२७ — हामले वास्तवमा के गरे?
उत्पत्ति ९:२०–२७ बाइबलको एउटा कठिन खण्ड हो। विशेष गरी पद २२ मा आएको “आफ्ना पिताको नाङ्गोपन देखेर” भन्ने अभिव्यक्तिले धेरै प्रश्न उठाउँछ। यही पदलाई आधार बनाएर कतिपयले हामले आफ्ना पिता नोआसँग समलैङ्गिक सम्बन्ध राखेको दाबी गरेका छन्। यस्तो दाबीलाई भावनात्मक बहसका रूपमा होइन, धर्मशास्त्रको पाठ, यसको तत्काल सन्दर्भ, ऐतिहासिक व्याख्या र सम्पूर्ण बाइबलीय सन्दर्भमा जाँच्नु उचित हुन्छ।
हाम्रो उद्देश्य कसैलाई हराउनु होइन, उद्देश्य सरल छ: बाइबलले जे भन्छ, त्यही भनौं; बाइबलले नबताएको कुरालाई बाइबलको शिक्षा नबनाऔं।
१. व्याख्याको पहिलो सिद्धान्त: शास्त्रले शास्त्रको व्याख्या गर्छ
कुनै पनि कठिन पदलाई एक्लै लिएर निष्कर्ष निकाल्नु राम्रो व्याख्याशास्त्रीय पद्धति (Hermeneutical Method) होइन। हामीले त्यसलाई तत्काल सन्दर्भ, पुस्तकको साहित्यिक सन्दर्भ र सम्पूर्ण धर्मशास्त्रको प्रकाशमा बुझ्नुपर्छ। यसलाई एउटा महत्वपूर्ण सिद्धान्तले व्यक्त गर्छ: “धर्मशास्त्रले धर्मशास्त्रको व्याख्या गर्छ” (Scripture interprets Scripture)।
यसको अर्थ एउटा पदलाई अलग गरेर आफ्नो निष्कर्षको प्रमाण बनाउनु होइन, बरु पाठले आफ्नै सन्दर्भमा के भन्न खोजेको छ, त्यसलाई पहिले बुझ्नु हो। यहीँ पाठबाट अर्थ निकाल्ने व्याख्या (Exegesis) र आफ्नो विचार पाठमा थोपर्ने व्याख्या (Eisegesis) बीचको भिन्नता महत्वपूर्ण हुन्छ। पाठबाट अर्थ निकाल्नु भनेको लेखकले आफ्नो पाठमार्फत के भन्न खोजेका छन् भन्ने कुरा पत्ता लगाउनु हो। तर आफ्नो विचार पाठमा थोपर्नु भनेको हामीले पहिले नै मानेको विचारलाई पाठले समर्थन गर्छ भनेर त्यसमा जबर्जस्ती राख्नु हो। त्यसैले उत्पत्ति ९:२२ मा केवल “नाङ्गोपन” भन्ने शब्द देखेर तुरुन्तै यौन सम्बन्धको निष्कर्ष निकाल्नु पर्याप्त हुँदैन। शब्दहरू महत्त्वपूर्ण छन्, तर सन्दर्भले शब्दको अर्थ निर्धारण गर्छ।
२. पहिले पाठले वास्तवमा के भन्छ?
उत्पत्ति ९:२१–२२ मा यस्तो लेखिएको छ:
“जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे। कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए।”
मूल हिब्रू भाषामा “नाङ्गोपन” का लागि עֶרְוָה (ʿervah) शब्द प्रयोग भएको छ। पुरानो करारका केही ठाउँमा यो शब्द यौन सन्दर्भमा पनि प्रयोग हुन्छ। यही कारणले केही विद्वानहरूले उत्पत्ति ९ मा हामको अपराध यौन प्रकृतिको हुनसक्ने प्रस्ताव गरेका छन्। तर यहाँ एउटा अत्यन्त महत्वपूर्ण भिन्नता छ: “नाङ्गोपन” भन्ने शब्द यौन सन्दर्भमा पनि प्रयोग हुन सक्छ भन्ने कुरा र “हामले नोआसँग यौन सम्बन्ध राखे” भन्ने कुरा एउटै कुरा होइन। उत्पत्ति ९ ले हाम र नोआबीच यौन सम्बन्ध भएको स्पष्ट रूपमा बताउँदैन। त्यसैले “हाम र नोआ समलैङ्गिक सम्बन्धमा थिए” भन्ने निष्कर्षलाई यस पदबाट निश्चित बाइबलीय शिक्षा भन्न मिल्दैन।
३. तत्काल सन्दर्भले के देखाउँछ?
पद २३ अझ महत्वपूर्ण छ:
“तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।”
कथाले जानाजानी दुई प्रकारको व्यवहारलाई आमनेसामने राख्छ: एकातिर हामले देखे र बाहिर गएर बताए, भने अर्कोतिर शेम र येपेतले नहेरी आफ्ना पिताको नग्नता ढाकिदिए। यसैले धेरै व्याख्याकारहरूले हामको अपराधलाई आफ्ना पिताको कमजोरी र लज्जाप्रति अनादर, उपहास र त्यसलाई अरूका सामु ल्याउनु भनेर बुझ्छन्। यो व्याख्या कथाको तत्काल सन्दर्भसँग स्वाभाविक रूपमा मेल खान्छ। तर यहाँ पनि हामीले सावधानी अपनाउनुपर्छ। “हामले केवल देखे” भनेर कथालाई अत्यन्त सामान्य बनाउनु पनि उचित हुँदैन। पद २४ मा नोआले “कान्छा छोराले गरेको कुरा” थाहा पाए भन्ने उल्लेख छ, जसले हामको कार्यलाई गम्भीर रूपमा प्रस्तुत गरेको देखिन्छ। प्रश्न भनेको त्यो गम्भीर अपराधको ठ्याक्कै प्रकृति के थियो भन्ने हो, र यही ठाउँमा व्याख्याकारहरूबीच मतभेद सुरु हुन्छ।
४. यौन अपराधको व्याख्या पनि किन पाइन्छ?
यो आधुनिक समयमा मात्र आएको विचार होइन। केही रब्बीनिक (Rabbinic) अर्थात् यहूदी व्याख्यात्मक परम्पराहरूमा हामको कार्यलाई यौन अपराध वा नोआलाई नपुंसक बनाउने कार्यका रूपमा बुझिएको पाइन्छ। आधुनिक विद्वानहरूमध्ये John S. Bergsma र Scott W. Hahn ले पनि उत्पत्ति ९ को भाषिक र साहित्यिक सन्दर्भका आधारमा यौन अपराधसम्बन्धी व्याख्या प्रस्ताव गरेका छन्। तर यौन व्याख्या प्रस्ताव गर्ने विद्वानहरूबीच पनि हामले वास्तवमा के गरे भन्ने विषयमा एकमत छैन। कसैले यौन दुर्व्यवहार (sexual abuse) को सम्भावना देख्छन् भने अरूले नोआको नाङ्गोपनसँग सम्बन्धित अर्को प्रकारको अपराध प्रस्ताव गर्छन्। त्यसैले, “यौन अपराधको सम्भावना” भन्ने विद्वत प्रस्ताव (scholarly proposal) लाई “हाम र नोआबीच समलैङ्गिक सम्बन्ध थियो” भन्ने निष्कर्षमा पुर्याउनु उचित हुँदैन। यी केवल व्याख्यात्मक प्रस्तावहरू हुन्; उत्पत्ति ९ ले तीमध्ये कुनै एउटा विवरण स्पष्ट रूपमा बताउँदैन।
५. “शास्त्रले शास्त्रको व्याख्या गर्छ” भनेपछि हामीले अर्को के हेर्नुपर्छ?
यहाँ सम्पूर्ण धर्मशास्त्रीय सन्दर्भ (Canonical Context) महत्त्वपूर्ण हुन्छ—अर्थात्, सम्पूर्ण धर्मशास्त्रले समान भाषा र विषयलाई कसरी प्रयोग गर्छ भन्ने कुरा। उदाहरणका लागि, लेवी व्यवस्था १८ मा “नाङ्गोपन उघार्नु” भन्ने भाषा पारिवारिक तथा यौन सम्बन्धको सन्दर्भमा प्रयोग हुन्छ। त्यसैले केही विद्वानहरूले उत्पत्ति ९ मा पनि यौन अर्थ खोजेका हुन्। तर यहाँ एउटा महत्त्वपूर्ण व्याख्याशास्त्रीय सावधानी चाहिन्छ: समान शब्द प्रयोग हुँदैमा समान घटना भएको प्रमाण हुँदैन। शब्दको अर्थ शब्दगत सन्दर्भ (Lexical Context) र साहित्यिक सन्दर्भ (Literary Context) दुवैले निर्धारण गर्छ। हामीले केवल “ʿervah भनेको यौन अर्थ हो” भनेर शब्दकोशबाट सीधै निष्कर्ष निकाल्न सक्दैनौं। हामीले त उत्पत्ति ९ को कथाले त्यो शब्दलाई यहाँ कसरी प्रयोग गरेको छ भनेर हेर्नुपर्छ। यही नै पाठबाट अर्थ निकाल्ने साँचो व्याख्या (Exegesis) हो।
६. कनानलाई किन श्राप दिइयो?
यहाँ अर्को महत्वपूर्ण प्रश्न आउँछ। उत्पत्ति ९:१८ ले भन्छ: “जहाजबाट बाहिर निस्किआएका नोआका छोराहरू शेम, हाम र येपेत हुन्। हामचाहिँ कनानका पिता थिए।” अर्थात्, कनान नोआका छोरा होइनन्; तिनी हामका छोरा हुन्। त्यसपछि पद २५ मा नोआले भने: “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”
अब प्रश्न उठ्छ: यदि हामले अपराध गरेका थिए भने कनानलाई किन श्राप दिइयो? यो प्रश्न आफैंमा उत्पत्ति ९ को कठिन पक्ष हो। केही यहूदी र आधुनिक विद्वानहरूले यसलाई समाधान गर्न विभिन्न व्याख्यात्मक पुनर्निर्माणहरू (Interpretive Reconstructions) प्रस्ताव गरेका छन्। तर पाठले यीमध्ये कुनै एउटा व्याख्यालाई स्पष्ट रूपमा प्रमाणित गर्दैन। त्यसैले यहाँ एउटा महत्वपूर्ण सिद्धान्त लागू हुन्छ: पाठले नखोलेको खाली ठाउँलाई हाम्रो अनुमानले भर्नु हुँदैन। अझ स्पष्ट रूपमा भन्नुपर्दा, उत्पत्ति ९ ले “कनान हाम र नोआबीच भएको समलैङ्गिक सम्बन्धका कारण श्रापित भयो” भनेर कतै पनि भन्दैन। त्यसैले यस्तो दाबीलाई बाइबलको स्पष्ट शिक्षा भन्न सकिँदैन।
७. नोआको आफ्नै पापलाई पनि बिर्सनु हुँदैन
यस कथामा हामको कार्यमा मात्र ध्यान दिन सजिलो हुन्छ। तर कथा सुरु कसरी हुन्छ, त्यो पनि हामीले हेर्नुपर्छ: “जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे।” नोआ परमेश्वरको अनुग्रहद्वारा जलप्रलयबाट बचाइएका मानिस थिए, तर उनी पापरहित मानिस थिएनन्। यहाँ उत्पत्तिको एउटा गहिरो धर्मशास्त्रीय सत्य देखिन्छ: जलप्रलयले संसारलाई न्याय गर्यो, तर मानव हृदयको पापको समस्या समाप्त भएन। नोआको परिवारभित्रै फेरि लज्जा, अनादर र श्रापको कथा सुरु हुन्छ। मानिसलाई केवल नयाँ परिस्थिति मात्र चाहिँदैन, मानिसलाई त नयाँ हृदय चाहिन्छ।
८. शेम र येपेतको व्यवहारले हामीलाई के सिकाउँछ?
हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर गएर बताए। तर शेम र येपेतले आफ्ना पिताको नग्नता ढाकिदिए। यसको अर्थ पापलाई लुकाउनु वा सत्यलाई दबाउनु होइन। तर यसले हामीलाई अरूको कमजोरीसँग हामी कसरी व्यवहार गर्छौं भन्ने एउटा गम्भीर प्रश्न सोध्छ। जब हामी अरूको पतन देख्छौं, के हामी त्यसको लज्जा फैलाउँछौं? कि प्रेम, सम्मान र नम्रताका साथ व्यवहार गर्छौं? यस अर्थमा यो कथा केवल “हामले वास्तवमा के गरे?” भन्ने जिज्ञासा मात्र होइन, यसले हाम्रो आफ्नै हृदयलाई पनि जाँच गर्छ।
जहाँ धर्मशास्त्र स्पष्ट छ, त्यहाँ हामी स्पष्ट होऔं।
जहाँ व्याख्यामा मतभेद छ, त्यहाँ हामी नम्र होऔं।
जहाँ पाठ मौन छ, त्यहाँ हामी पनि सावधान होऔं।
र सबै कुरामा हाम्रो दृष्टि ख्रीष्टमा रहोस्।
उत्पत्ति ९ मा हामी एउटा गहिरो विडम्बना देख्छौं। जलप्रलयपछि नोआलाई नयाँ संसारमा प्रवेश गर्ने मानिसका रूपमा प्रस्तुत गरिएको छ। तर नयाँ संसारमा पुगेपछि पनि पाप, लाज र सराप फेरि देखापर्छन्। यसले प्रमाणित गर्छ कि समस्या बाहिरी संसार मात्र थिएन; साँचो समस्या त मानिसको हृदयमा थियो। नोआ नाङ्गै थिए। उनको लाज देखियो। शेम र येपेतले उनको नग्नता ढाकिदिए। तर बाइबलको ठूलो कथा यहाँ समाप्त हुँदैन।
पछि हामी यस्तो मानिसलाई भेट्छौं जो लाज मान्नुपर्ने कुनै पाप नगरीकन, हाम्रो लाज आफूमाथि लिनुहुन्छ, येशू ख्रीष्ट। येशूले हाम्रो लाज केवल ढाक्नुभएन उहाँले हाम्रो लाजको स्थान लिनुभयो। उहाँ क्रूसमा सार्वजनिक रूपमा अपमानित हुनुभयो, नाङ्गो पारिनुभयो, अस्वीकार गरिनुभयो र काठमा झुण्ड्याइनुभयो। पावल भन्छन्: “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ।” — गलाती ३:१३
त्यसैले उत्पत्ति ९ को कथा पढ्दा हामी केवल "हामले आफ्नो पिताको नाङ्गोपन देखेर के गरे?" भनेर सोध्दैनौं। हामी अझ गहिरो प्रश्न सोध्छौं: "मेरो लाज कसले बोक्नेछ?" र सुसमाचारको उत्तर हो: ख्रीष्टले।
नोआको लाज उनका छोराहरूले कपडाले ढाकिदिए। तर हाम्रो गहिरो लाज ख्रीष्टले आफ्नो धार्मिकताले ढाक्नुहुन्छ। नोआको कथामा पापले फेरि सराप ल्याउँछ। तर ख्रीष्टले हाम्रो निम्ति सराप लिनुहुन्छ, ताकि हामी उहाँमा आशिष् पाउन सकौं। त्यसैले सुसमाचार भनेको केवल "आफ्नो लाज लुकाऊ" भन्ने सन्देश होइन। सुसमाचार भनेको त यो हो: "तिम्रो लाज लिएर ख्रीष्टकहाँ आऊ।"
हामीले अरूको लाज उघारेर आफूलाई धर्मी प्रमाणित गर्न खोज्नु पर्दैन, किनकि ख्रीष्टमा हामीले पहिले नै आफ्नो धार्मिकता पाइसकेका छौं। त्यसैले यो कथा पढ्दा हाम्रो दृष्टि हाममा मात्र नरोकिओस्। हामले अरूको लाज देख्यो; तर ख्रीष्ट हाम्रो लाज बोक्न आउनुभयो। र यहीँ सुसमाचारको सुन्दरता छ: हामीले लुकाउनुपर्ने कुरासहित ख्रीष्टकहाँ आउँछौं, र उहाँले हामीलाई अस्वीकार गर्नुहुन्न। उहाँ हाम्रो लाज लिनुहुन्छ र आफ्नो धार्मिकता हामीलाई दिनुहुन्छ। यही कारणले हाम्रो अन्तिम प्रश्न "हामले वास्तवमा के गरे?" मात्र होइन; बरु "मेरो लाज र पापको समाधान कहाँ छ?" भन्ने हुनुपर्छ। र यसको एकमात्र उत्तर हो, येशू ख्रीष्टमा।
थप अध्ययन गर्न चाहनुहुन्छ?
1. John S. Bergsma & Scott W. Hahn, Noah’s Nakedness and the Curse on Canaan (Genesis 9:20–27), Journal of Biblical Literature 124.1 (2005), pp. 25–40।
2. Justin Michael Reed, The Injustice of Noah’s Curse, Oxford University Press (2025)।
3. David Frankel, Noah, Ham and the Curse of Canaan: Who Did What to Whom in the Tent?