01/11/2019
रत्नैः कल्पितमासनं हिमजलैः स्नानं च दिव्याम्बरं
नानारत्नविभूषितं मृगमदामोदाङ्कितं चन्दनम् ।
जातीचम्पकबिल्वपत्ररचितं पुष्पं च धूपं तथा
दीपं देव दयानिधे पशुपते हृत्कल्पितं गृह्यताम् ॥१॥
हे दयानिधि! हे पशुपति! हे देवाधिदेव महादेव! यो विभिन्न किसिमका रत्नहरूद्वारा निर्माण गरिएको सिंहहास, शीतल पानीबाट स्नान, विभिन्न रत्नहरूद्वरा सिँगारिएको दिव्य कपडा, कस्तूरीको सुगन्ध समाहित भएको चन्दन, जुही, चम्पा र बेलपत्रबाट रचना गरिएको पुष्पाञ्जलि तथा धूप र दीप यी सबै मानसिक पूजामा चढाइएका सामग्रीहरू स्वीकार गरिदिनुहोस् ॥१॥
सौवर्णे नवरत्नखण्डरचिते पात्रे घृतं पायस
भक्ष्यं पञ्चविधं पयोदधियुतं रम्भाफलं पानकम्।
शाकानामयुतं जलं रुचिकर कर्पूरखण्डोज्ज्वलं
ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो स्वीकुरु ॥२॥
मैले नवीन रत्नखण्डहरू जडिएको सुनको पात्रमा घिउ, खीर, दूध र दहीसहित पाँच प्रकारका व्यञ्जन अर्थात् भोजन गर्ने सामग्री, केरा, सर्वत, रस आदि पिउने वस्तु, अनेकौं किसिमका साग, कपुरको जस्तो सुगन्ध भएको र सफा गरिएको गुलियो पारिएको पानी र पान यी सबै मनद्वारा नै तयार गरेर भक्तिपूर्वक समर्पण गरेको छु । हे प्रभु! कृपया यिनीहरूलाई स्वीकार गर्नुहोस् ॥२॥
छत्रं चामरयोर्युगं व्यजनकं चादर्शकं निर्मलं
वीणाभेरिमृदङ्गकाहलकला गीतं च नृत्यं तथा ।
साष्टाङ्ग प्रणतिः स्तुतिर्बहुविधा ह्येतत्समस्तं मया
सङ्कल्पेन समर्पितं तव विभो पूजां गृहाण प्रभो ॥३॥ :
छाता, दुईओटा चमर, पङ्खा, सफा ऐना, वीणा, भेरी, मृदङ्ग, दुन्दुभीको बाजा, गीत र नृत्य, दण्डवत् प्रणाम, विभिन्न किसिमको स्तुति-यी सबै मानसिक सङ्कल्पबाटै हजुरलाई समर्पण गर्दछु । हे प्रभु! मद्वारा गरिएको यो मानसिक पूजा स्वीकार गर्नुहोस् ॥३॥
आत्मा त्वं गिरिजा मतिः सहचराः प्राणाः शरीरं गृह
पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थितिः ।
सञ्चारः पदयोः प्रदक्षिणविधिः स्तोत्राणि सर्वा गिरो
यद्यकर्म करोमि तत्तदखिलं शम्भो तवाराधनम् ॥४॥
हे शम्भु! मेरो आत्मा हजुर नै हुनुहुन्छ, बुद्धि पार्वती हुनुहुन्छ, प्राण हजुरका गण हुन्, शरीर हजुरको मन्दिर हो, सम्पूर्ण विषयभोगको रचना हजुरको पूजा हो, निद्रा समाधिको अवस्था हो, मेरो घुमफिर गर्ने कार्य हजुरको परिक्रमा हो तथा मद्वारा निस्किएका सबै शब्दहरू हजुरका स्तोत्र हुन् । यस प्रकार मैले जे-जे कर्म गर्दछु, त्यो सबै हजुरको आराधना मात्र हो ॥४॥
करचरणकृतं वाक्कायजं कर्मजं वा
श्रवणनयनजं वा मानसं वापराधम् ।
विहितमविहितं वा सर्वमेतत्क्षमस्व
जय जय करुणाब्धे श्रीमहादेव शम्भो ॥५॥
हे प्रभो! मैले हात, खुट्टा, वचन, शरीर, कर्म, कान, आँखा अथवा मनबाट जे-जस्तो अपराध गरेको छु, ती विधिसम्मत हुन् वा विधि-विपरीत, ती सबैलाई हजुरले क्षमा गरिदिनुस् । हे दयासागर श्री महादेव शङ्कर! हजुरको जय होस् ॥५॥