27/04/2026
उपत्यकाका धेरैजसो चर्चहरू भाडाको जग्गामा अस्थायी टहरा निर्माण गरी ठड्याइएका छन्। प्राविधिक रूपमा भन्नुपर्दा, ती संरचनाहरू सम्झौताको जगमा उभिएका हुन्छन्। जब भाडाको अवधि सकिन्छ, सहमति तोडिन्छ वा जग्गाधनीलाई आफ्नो जग्गा आवश्यक पर्छ, तब क्रूस ठड्याइएका ती संरचन स्वतः हट्नुपर्ने हुन्छ। यो एक कानुनी र व्यावहारिक सत्य हो।
त्यसैले, अनधिकृत जग्गा वा सुकुम्बासी क्षेत्रमा बनाइएका यस्ता अस्थायी संरचनाहरू भत्काइँदा यतिविघ्न विचलित र आलोचनात्मक बन्नु आवश्यक छैन। यदि आफ्नो स्वामित्वको लालपूर्जा भएको जग्गामा बनेको विधिवत चर्चमाथि राज्यले प्रहार गरेको भए, त्यो अन्याय हुन्थ्यो र त्यसमा मेरो पनि कडा विरोध रहने थियो।तर, सार्वजनिक जग्गाको दोहन गरेर बनाइएका संरचना जोगाउन आफ्नो शक्ति खर्चिनुको कुनै औचित्य देखिँदैन।
सुकुम्बासी क्षेत्रका घरटहरासँगै चर्च पनि भत्काइँदा त्यहाँ क्रूस ठड्याइएको भवन वा टहरा मात्र जोगाउनुको के अर्थ रहन्छ? अनुयायी र आराधक विनाको चर्च केवल एउटा निर्जीव भौतिक संरचना मात्र हो। चर्चको महानता इँटा र काठका टुक्रामा होइन, मानिसको हृदय र विश्वासमा निहित हुन्छ।
कतिपयले "अरूका संरचना नभत्काइने तर चर्च मात्र किन?" भन्दै पक्षपातको कुरा उठाएका छन्। यदि ख्रीष्टियानहरूले पनि अरूको गल्तीलाई उदाहरण बनाएर आफूलाई दाँज्ने हो भने, ख्रीष्टियान जीवनको भिन्नता र मूल्य के रह्यो त?
अरूले के गरे भन्नुभन्दा पनि हामी सही ठाउँमा उभिनु महत्त्वपूर्ण हुन्छ। बुद्धिमानी त ती हुन्, जसले आजको दिनसम्म त्यहाँ आराधना गर्न पाइएकोमा धन्यवाद दिँदै सहजताका साथ अघि बढ्छन्।
आफ्नो आस्थाप्रति समर्पित हुनु राम्रो हो, तर सुरक्षाको नाममा 'धर्मभिरु' वा 'अन्धभक्त' बन्नु गलत हो। हामीले बुझ्नुपर्छ कि जे अनन्त र सत्य छ, त्यसलाई कसैले नष्ट गर्न सक्दैन। तथापि जुन भौतिक र अस्थायी छ, त्यो एकदिन ढल्नु निश्चित छ; ढिलोचाँडो ढल्ने नै छ।
अन्त्यमा, सामाजिक सञ्जालमा टिप्पणी गर्दा आफूलाई धर्मको 'ठेकेदार' झैँ प्रस्तुत नगर्नुहोस्। गालीगलौज र निकृष्ट शब्दहरूको प्रयोग धर्मका व्यापारीहरूले गर्छन्। एउटा साँचो अनुयायीले सधैँ शिष्ट भाषामा आफ्नो विचार राख्छ र भिन्न मत राख्नेहरूलाई पनि उत्तिकै सम्मान गर्छ।
यदि तपाईंको आस्था भौतिक थोकमा नभएर सार्वभौम ईश्वरमा छ भने यो याद गर्नुहोस् कि भौतिक थोक वा भवन होइन, विश्वास अमर रहन्छ।