25/04/2026
दो मा ङ (शुङ्दु):
प्रायः हिमाली भेगको प्रत्येक गाउँ घरमा दोमाङ सदियौंदेखि संरक्षण गर्दै राखेको हुन्छ। दोमाङ भनेको धेरै सुत्र भन्ने हुन्छ। यसलाई सुत्र धारणी र विविधमा विभाजन गरिएको छ भने यो बुद्ध वचन (कग्युर)मा संग्रहित धेरै सुत्र धारणीहरूमा संकलन गरिएको पुस्तक नै दोमाङ हो। यसमा दुई यानको सुत्रहरु मिलाएर २३५ सुत्रहरू संग्रह गरिएको छ। यो अत्यन्तै महत्त्वपूर्ण महायान वज्रयानको अलि थोरै हिनयानको पनि रहेको यस ग्रन्थमा विशेष गरी महायानको सुत्र अध्ययन गर्नु इच्छुक व्यक्तित्वहरूको लागि अत्यन्तै लाभदायक देखिन्छ। बुद्धद्वारा देशित ८४ हजार धर्मस्कन्ध (त्रिपिटक) र ४ तन्त्रको ११० पुस्तकको सारांश नै दोमाङ (बहुसुत्र धारणी) हो। त्यसैले आध्यात्मिक जिवन यापनको लागि पनि अत्यन्तै महत्त्वपूर्ण रहेको र अध्ययन, अभ्यास आदिको लागि पनि त्यतिकै महत्त्व छ। यस भित्र संग्रहित सुत्र धारणी क्रमशः
(१) आर्य मञ्जुश्री नाम सङ्गगिती॥
(२) आर्य अपरिमित आयुर्ज्ञान महायान सुत्र।।
(३) आर्य अपरिमित आयुर्ज्ञान हृदय नाम धारणी॥
(४) सर्वतथागत उष्णीषविजय नाम धारणी कल्प सहित॥
(५) आर्य सर्वदुर्गत परिशोधनी महापाच्च नाम धारणी।।
(६) आर्य तथागतोष्णिष सितातप त्रिअपराजित महाप्रत्यंतिगिर परमसिद्ध नाम धारणी॥ आदि २३६ सुत्र धारणीहरू रहेको यस पवित्र दोमाङ पुस्तकको कारणले सर्वप्राणी हिताय र सर्वप्राणी सुखायको कल्याणार्थ भावोत्पाद गर्नु सक्नु हुने छ।
स्वयंले साधना गरेमा पनि यसको लाभको वर्णन साध्य छैन। दोमाङ अध्ययन र अभ्यास गर्दा छुटाउनु नहुने कुरा।
(१) साधना र अभ्यासको लागि मन्त्र जप भावनाको लागि अभिषेक, आगम र व्याख्याको नितान्त अत्यावश्यक हुन्छ।
(२) यस भित्र रहेको सुत्राध्ययन र सुत्रानुसन्धानको लागि चाहीँ स्वयंले स्वाध्ययन गर्दा पनि हुन्छ।
(३) यस भित्रको सुत्र धारणी अभ्यास र साधनाको लामा गुरुद्वारा अभिषेक,आगम र व्याख्याको दीक्षा राम्रो संग लिनु पर्दछ। अर्थात् दोमाङ मुख्य बौद्ध ग्रन्थ (मन्त्र)हरू र प्रार्थनाहरूको संग्रह हो। जसलाई कग्युरबाट लिइएको हो। यो विशेष गरी बौद्ध परम्परामा पूजा पाठ र पुण्य सञ्चय लागि अत्यन्त महत्त्वपूर्ण ग्रन्थ-सङ्ग्रह हो। यसमा धेरै रहस्यमय र सुत्रबद्ध पाठहरू छन्। जसमा विशेष शक्ति हुने विश्वास गरिन्छ। दोमाङ भित्र विभिन्न उदेश्यका लागि वाचन गरिने धेरै खण्डहरू रहेका हुन्छन्। एउटा मानक दोमाङमा १ हजार भन्दा बढी पृष्ठहरू हुन्छन्। जसमा लगभग १ सय वटा विभिन्न पाठ र मन्त्रहरू समावेश हुन्छन्। धेरै पहिले दोमाङ हुनुलाई एक महँगो सम्पत्तिको रूपमा लिइन्थ्यो। किनकि थोरै मानिसहरूसँग मात्र यो हुन्थ्यो। त्यसैले जब मानिसहरूलाई दोमाङ पाठ गराउनु पर्थ्यो। उनीहरूले कि त गोम्पाबाट वा यो ग्रन्थ हुने व्यक्तिबाट सापट लिन्थे। दोमाङलाई पूरै एकै पटकमा वा आवश्यकता अनुसार तल उल्लेखित चयन गरिएका पाठहरू मात्र वाचन गर्न सकिन्छ।
१. यदि तपाईंको 'पाँच जीवन शक्ति' (5 Life forces) राम्रो छैन भने 'ग्यानाग कादोग' पाठ छनौट गरी वाचन गरिन्छ।
२. यदि समृद्धि, पशुधन वा सम्पत्तिका लागि अनुष्ठान गर्नु परेमा 'नोरशुङ' पाठ गरिन्छ।
३. यदि कोही जीवन नै जोखिममा पर्ने गरी बिरामी भएमा उनीहरूले 'छेजुङ' वा (दीर्घायुका बुद्ध) को धारणी वाचन गर्नु पर्छ।
४. यदि कसैको मृत्यु भयो भने 'मोन्लाम' वा प्रार्थनाहरू वाचन गरिन्छ।
५. यदि कसैको अदालतमा मुद्दा छ भने सामान्यतया 'खाचु नागपो' पाठ गरिन्छ।
६. यदि कसैले खराब कुरा काट्ने र डाहबाट बच्न चाहन्छ भने 'मिखा डादोग' पाठ गर्नु पर्छ।
दोमाङ वाचनले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यसको वाचनले पुण्य सञ्चय गर्न, दुर्भाग्य हटाउन, रोग निको पार्न, आयु लम्ब्याउन, धन प्राप्त गर्न, योग्यता बढाउन, जीवनमा सफल हुन र अन्त्येष्टि संस्कारका लागि मद्दत गर्दछ।
यो विश्वास गरिन्छ कि यदि कुनै व्यक्तिले यो ग्रन्थ किन्छ, आफूसँग राख्छ, छपाउँछ, पूजा गर्छ र वाचन गर्छ भने त्यो व्यक्तिलाई त्रिरत्न र देवी- देवताहरूको आशीर्वाद प्राप्त हुन्छ। ती व्यक्तिले शान्ति, समृद्धि र सुख प्राप्त गर्ने छन् र अन्ततः बुद्धत्व प्राप्त गर्ने छन्। त्यसैले आफ्नो घरको पूजा कोठामा दोमाङ राख्नुपर्छ र आफ्नो घरमा शान्ति र समृद्धि ल्याउन समय-समयमा यसको पाठ गर्नु पर्दछ। शुभम्।।