नेपाल प्राकृतिक रुपले समस्त भूमि सुन्दर एवं पुण्यमय देश हो । प्रकृतिमय सुन्दर वातावरण र सात्विक भावनाको मनोहर सङ्गम धौलागिरी हिमालको काखमा उत्तरबाट नागवेली परेर कल्कल गर्देै घुम्दै, खेल्दै र स्वस्साउदै सलल बग्ने कालिगण्डकीको तट र पुर्वतर्फ बग्ने काठेखोला मिसिएको दोभानको ठिक माथि बाङ्ेचौरसंग जोडिएको प्राकृतिक सुन्दर वातावरणको जंगल सहितको मैदानमा दृष्टिगोचर हुन्छ । प्रकृतिको यो सौन्दर्यको केन्द्रमा
अवस्थित छ कालिका भगवती मन्दिर । कालिकाको दर्शन वा कालिकालाई आत्मानुभूति नगरिकन मरणरुपी भवसागरबाट मुक्ति पाउन सकिदैन भन्ने जनविश्वास यो क्षेत्रमा रहेको छ । कालिका मन्दिर धार्मिक एवं पर्यटन क्षेत्रको उत्कृष्ठ स्थल हो । मनोरन्जन, मनोकामना, तिर्थपर्यटन र धर्मको विषेश स्थलको रुपमा पनि कालिका भगवती गुठीको नामक कहलिन थालेको छ ।
नेपालमा विविध किसिमका सम्पदाहरु रहेका छन । सम्पदाहरुको कुरा गर्दा मुख्यत प्राकृतिक, धार्मिक र सास्कृतिक गरी ३ किसिमबाट विभाजन गरी हेर्न सकिन्छ । बागलुङमा रहेको कालिका भगवतिको मन्दिर यस्तो ऐतिहासिक महत्व बोकेको स्थल हो जहा यी ३ वटै सम्पदाको मिस्रित रुप र महत्व रहेको क्षेत्र हो । यस्तो महत्व बोकेको स्थल नेपालमा कमै भेटिएलान । कालिका भगवती गुठी बहुमुखि सम्पदा र विषेश आस्थाको रमणिय केन्द्र विन्दुका रुपमा प्रख्यात छ ।
नेपाल अधिराज्यको धौलागिरी अंचलमा पर्ने बागलुङ जिल्ला नेपाल भित्रको सानो नेपालले चिनिन्छ । हुनत बागलुङ जिल्लालाई चिनाउने अन्य विभिन्न उत्पादन, स्थान र क्षेत्रहरु नभएका पनि होइनन । जस्तो झोलुङेपुल, बुट्टेनली, एक मात्र शिकार आरक्ष ( ढोरपाटन ) आदीले पनि यहाको पहिचान देश विदेशमा बढाएको छ । बागलुङको पहिचान भनेको यहाको ऐतिहासिक कालिका भगवतीको मन्दिर प्रमुख पहिचान हो । हरेक बर्षको चैत्राष्टमी (चैते दशैं)े राष्ट्रिय स्तरमै महत्वपुर्ण स्थान राख्ने मेला हो । यो मेला र कालिका भगवतीको ऐतिहासिक सम्वन्ध रहेको छ । यो मेलाले धार्मिकरुपमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिकरुपमा पनि विषेश महत्व राख्ने गर्दछ ।
कालिका भगवती मन्दिरको ऐतिहासिक पृष्ठभूमि हेर्दा पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुनि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसंग विं.स.१५९१ मा विवाह हुंदा राजकुमारीले पाल्पा माझकी देवी (कालिका देवी) साथमा ल्याई यस पावन भूमिमा वैदिक विधिपूर्वक प्रतिष्ठापन गरिएको हो । कालिका देवी वेगर राजकुमारी एक क्षण पनि वस्न नसक्ने भएकीले विवाह गरी आउदा देवीलाई आप–नो वुवासंग मागि साथमा ल्याएकी हुन । श्रुतिस्मृति अनुसार राजकुमारीको विवाह पश्चात जन्ती पर्वत फिर्ता हुन लाग्दा दरबारमा कालिका देवीको खड्ग र डोली उठाउन कसैले पनि नसकेको अवस्थामा एकजना शिकारी भेषधारी व्यक्तिले डोली उठाउन सके । सो समयमा आप–नो कामको लागि पाल्पा पुगेका बागलुङ लुङगाउका मगरहरुले डोली बोके भने शिकारी भेषधारी व्यक्तिले खड्ग समाति आए । शिकारी भेषधारी खड्ग उठाउने ति व्यक्ति चक्र पुवार थिए ।
राजकुमारी यी कालिका देवीको अनन्यभक्त थिइन । भनिन्छ यिनले कालिका देवीको प्रत्यक्ष दर्शन पाउथिन । कालिका देवीलाई पहिला माझकीदेवी, कालि, कालिका, देवी, श्री देवी, माइस्थानको नामले पुकारेको पाइन्छ । कालिका देवीको वारेमा प्राप्त कागजातहरु र लालमोहरहरुमा भगवती भनि उल्लेख गरिएको देखिदैन । केही वर्ष पहिले देखि मात्र कालिका देवीको अर्काे नाम भगवति पुकारिन थालिएको हो । पर्वत राज्य विं.सं १८४३ मा नेपालमा गाभिएपछि विं.संं.१८४५ मा सरदार अमरसिंह थापाले पुजारी रामचन्द्र खड्काको नाममा गरिदिएको सनद जुन वि.सं.१८४८मा तत्कालिन श्री ५ महाराजधिराजबाट लालमहोहर भएको थियो ,यो लालमोहर नै खड्का पुजारीलाई प्राप्त पहिलो लालमहोहर देखिन आएको छ । वि.स.ं१८५९ सालमा श्री ५ महाराजधिराजबाट कृष्ण खड्का र जयविन्द खड्काको नाममा भएको लालमोहरमा बागलुङ चौरकी कालिका देवीको गुठ अक्षत्या चांफावोट षेत १ पाडाका तीन भाइका परिवारले पायाको बारी घडयारी तस्को साध पुर्व थाइलाको वृत्ता यति चार किल्लाभित्रको जगह समालको १४ पुस्तादेषी गुठ राष्याको रहेछ मुलुक मार्दा हाम्रा भारदारले जांची बुझी श्री बाज्यूका हजुरमा बिन्ती गरी थामी बक्स्याको रहेछ सोही लालमोहर बमोजिम हामीले पनि थामी बक्स्यौं भनी लेखिएको छ ।
राजा प्रतापी नारायण मल्लले पाल्पादेखि कालिका देवीको खड्ग समाती आउने चक्र पुवारलाई खड्गा पदवी दिई पुजारी गराई गुठ राखि दिए । सोही समय देखि यिनै चक्र पुवारका सन्तानहरु बागलुङका पुवार खड्का दाजुभाईहरुले हालसम्म अविच्छिन्न रुपमा कालिका देवीको पुजारी भई सेवा गरिरहेका छन । पारदर्शिता, सुरक्षा आदीका कारण खड्का समुदायले गुठी संस्थानसंग समन्वय गरी काम गर्न थालेको पाँइन्छ । २०३२ सालदेखि गुठी संस्थानको सामान्य रेखदेख र नियन्त्रणमा कालिका भगवती मन्दिरको संचालन भैरहेको छ ।
चैत्राष्टमी मेलालाई जोडेर सदरमुकाममा तिन पटक बागलुङ महोत्सव पनि भव्यरुपमा सम्पन्न भैसकेको छ । परापूर्व कालदेखी नै चैतेदशैंमा स्वतस्फूर्तरुपमा कालिकादेवीको प्राङगण बाङेचौरमा मेला लाग्ने गर्दथ्यो । त्यस समयमा स्थानिय लोक संस्कृतिको मोैलिकतालाई जो कोहीले नजिकबाट नियाल्न सक्थ्यो । यसै गरी स्थानिय उत्पादन डोका, डाला, ठेका, नाङ्ला, सोली, मादल लगायत फलाम, तामा आदीका भाडाकुंडा तथा घरेलु हतियारहरुको खरिद विक्री राम्रो हुने गर्दथ्यो । कालिका देवीको मन्दिरमा विशेषगरि मंगलवार ,शनिवार र अष्टमी तिथिमा भाकल पुरा गर्न र देवीको पुजा आजा गरि दर्शन गर्न आउने भक्तजनहरुको निकै ठुलो भिड लाग्ने गर्दछ । देवीलाई सांक्षी राखी व्रतवन्ध गर्ने र विवाह वन्धनमा वांधिने जोडिहरु पनि यस मन्दिरमा निकै टाढा टाढा वाट आउने गर्दछन । विभिन्न धार्मिक तिथि मिति पारेर मन्दिरमा वाह्रम्ण मार्फत पुजा पाठ गराउने भक्तजनहरु पनि प्रशस्त भेटिन्छन । पुनरनिर्मित मन्दिर अगाडिको मन्दिर वि.स.१७६९ मा निर्माण भएको प्रमाणित हुन आउछ पुरानो मन्दिरका ऐतिहांसीक तथा पुरातात्वीक दृष्टिकोणले महत्वपूर्ण झयाल, ढोका, खापाहरुको संरक्षणका लागि समितिले कालिका कुञ्ज तयार पारि विशेष संरक्षण गरेको छ । वर्षको २ चोटी वडा दशैं र चैते दशैमा कालीका देवीको विशेष पुजा र धुमधामसंग हुने मेलाले बागलुङ बजारको चहल पहल बढ्ने गर्दछ । आम श्रद्धालु भक्तजनहरुको आशा भरोसा र विश्वासको प्रतिमुुर्ति वागलुङ कालिकाको प्रभावकारी व्यवस्थापन र विकासका लागि विभिन्न धर्मानुरागी दाता माहानुभावहरु तथा समितिका तर्फवाट विभिन्न सहयोग तथा रचनात्मक कार्यहरु हुंदै आईरहेका छन यद्यपी १८९–८–१–१ क्षेत्रफलमा फैलिएको मन्दिर परिसरको भाग तथा उद्यँनको क्षेत्रमा प्रभावकारी गुरुयोजनाको अभावमा अपेक्षा कृत विकास हुन सकिरहेको छैन । मन्दिर तथा उद्यँनलाई पर्यटकिय, सामाजिक, सास्कृतिक तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न सकिएको छैन ।
।।जय बागलुङ कालिका।।