20/08/2026
मैले देखेको जीवन्त पाठशाला --
म हजुरबुबाको काखमा हुर्केर बढेको हुँ। मेरो बाल्यकालका धेरै सम्झनाहरू उहाँसँगै जोडिएका छन्। अहिले ती दिनहरू सम्झिँदा उहाँले मलाई सिकाउनुभएको कुरा र उहाँसँग बिताएका समयहरू एक–एक गरेर आँखाअगाडि आउँछन्।
हजुरबुबा बाँसका चोया काढेर डोको, थुन्से, मोला र झोलुङ्गो बुन्नुहुन्थ्यो। परालको टौवा बनाउन र खरको छानो हालेर धुरी मार्न पनि उहाँ सिपालु हुनुहुन्थ्यो। गाउँमा त्यसबेला यस्ता काम आफैँले गर्न जान्नुपर्थ्यो। उहाँले ती कामहरू गरेर हामीलाई पनि देखाउनुहुन्थ्यो।
बाल्यकालमा उहाँसँगै बेँसीको गोठमा बास बस्दा मलाई साह्रै रमाइलो लाग्थ्यो। गोठमा रातभर मुढोमा आगो बलिरहन्थ्यो। उहाँले कहिले खीर बनाएर खुवाउनुहुन्थ्यो, कहिले मकै पोलेर दिनुहुन्थ्यो। उहाँले पोलेर दिएको मकैको स्वाद अहिले पनि सम्झना आउँछ। गोठमा गाईबस्तु हुन्थे, गोबरको गन्ध पनि हुन्थ्यो, तर त्यो वातावरणसँग हामी अभ्यस्त थियौँ।
हजुरबुबासँग गोठालो जाँदा जंगलमा पाइने मौसमअनुसारका फलफूल खोजेर खान्थ्यौँ। ऐसेलु, तिदु, अमारो, निमारो, बयर, दहीकमलो, क्यमुनो, कालीअगेरी, पानीअमला, अमला, चिउरी, कटुस, काफल, बनतरुल, गोलकाक्रीजस्ता फलफूल जंगलमा खोज्दै टिपेर खान्थ्यौँ। अहिले बजारमा विभिन्न किसिमका फलफूल पाइन्छन्, तर त्यतिबेलाको जंगलमा आफैँ खोजेर टिपेर खाएको फलको आफ्नै मज्जा थियो।
गोठालो जाँदा कहिलेकाहीँ चोटपटक लाग्थ्यो। त्यस्तो बेला हजुरबुबाले तिग्रेझारको मुन्टा वा तितेपाती माडेर घाउमा लगाइदिनुहुन्थ्यो। पेट दुख्दा दम्कने झारको मुन्टा दुई–तीनवटा चुडेर खान दिनुहुन्थ्यो। उहाँलाई गाउँघरमा उपलब्ध हुने यस्ता कुराहरूको राम्रो ज्ञान थियो।
घाँस–दाउरा काट्ने औजार भुत्ते भयो भने उहाँ कडा ढुङ्गा खोजेर त्यसमा रगेटेर धार लगाइदिनुहुन्थ्यो। त्यसपछि औजार फेरि राम्ररी चल्थ्यो। जंगलमा गाईबाख्रा चराउन जाँदा रुखको हाँगा वा बुट्टाको राम्रो टाउके लठ्ठी पनि उहाँ आफैँ बनाएर हामीलाई दिनुहुन्थ्यो। उहाँले मेहनत गरेर बनाइदिएको त्यो लठ्ठी हातमा पाउँदा हामीलाई खुसी लाग्थ्यो।
हजुरबुबाले पुरानो समयका कुरा पनि सुनाउनुहुन्थ्यो। गाउँमा सोलारको उज्यालो आएको, बिजुलीबत्तीबाट टेलिभिजन चलेको, रेडियो र क्यासेटमा गीत बजेको देख्दा उहाँ निकै खुसी हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, “बाँचियो भने संसार देख्न पाइँदो रहेछ, नसोचेको परिवर्तन भइरहेको छ। कली युग साँच्चै लागेछ।”
तर यस्तो परिवर्तन देख्न नपाई आफ्ना दाजुभाइहरू स्वर्गीय भएको सम्झेर उहाँ दुःख पनि व्यक्त गर्नुहुन्थ्यो।
खेतीपातीका कुरामा पनि उहाँ हामीलाई सम्झाउनुहुन्थ्यो। डाँडावारी र बेँसीखेत दुवैतिर बालीनाली लगाउनुपर्छ भन्नुहुन्थ्यो। उहाँको भनाइ थियो, “बेँसीमा अन्न नफले डाँडामा फल्छ, डाँडामा नफले बेँसीमा फल्छ। छोराछोरीको पेट भोको हुँदैन।”
गाउँको मुख्य काम खेतीपाती र गोठालो नै थियो। हजुरबुबा ९६ वर्षको उमेरसम्म पनि स्वास्थ र हिड्नडुल्न सक्रिय नै हुनुहुन्थ्यो। उहाँले मलाई हलो कसरी समाउने, गोरु कसरी जोत्ने, कोदाली कसरी समातेर खन्ने र हँसिया कसरी समातेर घाँस काट्ने भनेर आफैँ गरेर देखाउनुहुन्थ्यो। उहाँले त्यसरी सिकाउनुभएको कुरा अहिले सम्झँदा हिजोमात्रको जस्तो लाग्छ।
गोठालो जाँदा उहाँ प्रायः ठूलो ढुङ्गामाथि बसेर बस्तुभाउ कता चरिरहेका छन् भनेर हेर्नुहुन्थ्यो। बालीनाली नखाउन् भनेर ध्यान दिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँको आँखा छलेर गाईबस्तुले छिमेकीको बाली खाइदिँदा उहाँले गाली खानुपर्थ्यो। तर त्यसमा उहाँ झगडा गर्नुहुन्नथ्यो। जति क्षति भएको छ, त्यसको हिसाब गरेर आफूले नै व्यहोर्नुहुन्थ्यो।
जंगलबाट घर फर्किँदा कहिलेकाहीँ बाघले बाख्रा लिएर जान्थ्यो। पछि खोज्दा जंगलको वडारमा बाख्रा मारेर छोडेको अवस्थामा भेटिन्थ्यो। हजुरबुबा निडर हुनुहुन्थ्यो। एकपटक उहाँले जंगलको बाटोमुनि बाघ सुतेको देख्नुभएछ। उहाँले नजिकैको ढुङ्गा टिपेर बाघलाई हिर्काउनुभएछ। बाघले उहाँलाई हेरेर तलतिर लागेको कुरा उहाँले हामीलाई सुनाउनुहुन्थ्यो।
उहाँ र उहाँका दाजुभाइहरू अन्यायको विषयमा पनि कडा हुनुहुन्थ्यो भन्ने कुरा हजुरबुबाले सुनाउनुहुन्थ्यो। गाउँमा कसैले अन्याय गर्न खोजेमा दाजुभाइहरू मिलेर त्यसको सामना गर्ने गरेको कुरा उहाँबाट सुनेको हुँ। त्यसैले उहाँका लागि दाजुभाइबीचको एकता महत्वपूर्ण थियो।
हजुरबुबाले आफूसँग भएको खानेकुरा पनि अरूसँग बाँडेर खानुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, “मानिस एकलकाटे हुनुहुँदैन। सबै दाजुभाइ चाहिन्छ। मेलमिलाप चाहिन्छ। दिएर आफ्नो खौरेर मसिनो हुँदैन।”
उहाँ धेरै लोभ गर्न नहुने कुरा पनि सम्झाउनुहुन्थ्यो। “मानिस असन्तोकी प्राणी हो, सन्तोष गर्न सिक्नुपर्छ। आफूसँग भएकोमा चित्त बुझाउनुपर्छ। बढी लोभ गर्नु हुँदैन। लोभले लाभ र लाभले बिलाप हुन्छ,” भन्नुहुन्थ्यो।
हजुरबुबाले पढाइको महत्व पनि धेरै सम्झाउनुहुन्थ्यो। आफुले लेखपढ गर्नुभएको थिएन तर पनि उहाँ भन्नुहुन्थ्यो, “चोरले चोरेर लान नसक्ने र राजाले हरेर लान नमिल्ने चिज ज्ञान हो। त्यसैले बाबुनानी पढीलेखी ज्ञानी बन्नुपर्छ, नाम कमाउनुपर्छ।”
आफूले पढ्न नपाए पनि हामीले पढ्नुपर्छ भन्ने उहाँको सोच थियो। आफ्ना छोराछोरी र नातिनातिनाले आफूले जस्तो दुःख नपाऊन् र सही बाटोमा हिँडून् भन्ने उहाँ चाहनुहुन्थ्यो।
धर्म र संस्कृतिप्रति पनि उहाँको आस्था थियो। आफ्नो इष्टदेवी श्री शंखमाई देबी प्रति उहाँ भक्तिभाव राख्नुहुन्थ्यो। हामीलाई पनि धर्म र संस्कृतिको जगेर्ना गर्न, मन्दिर सफा राख्न र आफ्नो परम्परालाई सम्मान गर्न सम्झाउनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, “कर्मअनुसारको फल मिल्छ, त्यसैले असल कर्म गर।”
आज हजुरबुबासँग बिताएका ती दिनहरू सम्झँदा उहाँले हामीलाई ठूलाठूला कुरा भनेर मात्र शिक्षा दिनुभएको होइन भन्ने लाग्छ। उहाँको आफ्नै व्यवहारबाट पनि धेरै कुरा सिक्न पाइन्थ्यो। खेतमा काम गर्ने तरिका, जंगलमा हिँड्ने तरिका, बस्तुभाउ हेर्ने जिम्मेवारी, छिमेकीसँग व्यवहार गर्ने तरिका, आफूसँग भएको कुरा बाँडेर खाने बानी र अरूलाई सहयोग गर्ने सोच—यी सबै उहाँको जीवनका सामान्य व्यवहार थिए।
उहाँको जीवन पनि गाउँघरका अरू मानिसहरूको जस्तै दुःख–सुख, अभाव र मेहनतले भरिएको थियो। तर त्यही जीवनभित्र उहाँले हामीलाई धेरै कुरा सिकाउनुभयो।
आज ती दिनहरू सम्झिँदा मलाई लाग्छ—हजुरबुबाले हामीलाई धनसम्पत्ति दिएर जानुभएन होला, तर मेहनत गर्न, जिम्मेवारी लिन, सन्तोष गर्न, मिलेर बस्न, पढ्न, आफ्नो धर्म–संस्कृति सम्झन र असल कर्म गर्न सिकाएर जानुभयो।
उहाँले भनेका धेरै कुरा त्यतिबेला सामान्य लाग्थे। अहिले जीवनका कुरा बुझ्दै जाँदा ती शब्दहरूको अर्थ अझ स्पष्ट हुँदै गएको छ।
सायद यही नै हजुरबुबाको सबैभन्दा ठूलो शिक्षा थियो— मानिस ठूलो उ सङ्ग भएको धनले होइन, उसको काम, व्यवहार र कर्मले हुन्छ।