छिन्ताङ्ग जाल्पदेवी मन्दिर

  • Home
  • Nepal
  • Dhankuta
  • छिन्ताङ्ग जाल्पदेवी मन्दिर

छिन्ताङ्ग जाल्पदेवी मन्दिर आदर्निय सम्पुर्ण मित्रहरु यो पेज लाई?

यो पेज स्नात्तक तह प्रथम बर्ष इतिहास विषय कोड नं.३११ को आंशिक आवश्यकता परिपूर्ति गर्नको निम्ति तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदन २०६९
" छिन्ताङ जाल्पादेवी मन्दिरको सामाजिक र आर्थिक पक्षहरु" बाट लिईएको छ ।
प्रस्तुतकर्ता
केशब राई
धनकुटा वहुमुखी क्याम्पस, धनकुटा हाल स्नातकोतर तह (ध.व.क्य.ध) ग्रामिन विकास मन परेमा लाईक अनि सेयर पनि गरिदिनु होला ।

26/04/2018

३.५ धार्मिक र सांस्कृतिक पक्षहरु (Religious and Cultural Aspects)

३.५.१ देवी स्थलमा लाग्ने महत्वपूर्ण मेला र पर्वहरु (Important Festivals and Fair of Temple)

यस जाल्पा देवी मन्दिरमा दैनिक पूजा–आराधना संञ्चालन बाहेक वर्षमा दुईचोटी धार्मिक उत्सवको रुपमा भव्य मेला लगाउने चलन छ । हरेक वर्षको बैशाख र भदौ महिनाको कृष्ण पक्ष तिथिमा उभौली सेवा र उधौली सेवाको रुपमा पूजा-आरधना देवीको गद्धि घरमा विहानै देखि लिप–पोत गरी धुप–बत्ती बाली दीपहरु जलाई पूजारीले पूजा–आरधना गर्दछ । त्यस गद्धी घरबाट नगर निशानीहरुको साथमा गाजा–बाजाहरुको संगीतमय वातावरणमा पूजारी मन्दिरमा आउने गर्दछन् । त्यस दिन त्यहाँका सम्पूर्ण बासिन्दाहरु र छिमेकी बासिन्दाहरु अनिवार्य प्रत्येक घरबाट पूजामा आई जिउ वरदान, अन्नपानी, आयुवल माग्ने गर्दछन् । उक्त दिनहरुमा पूजारीले सवैको नाममा वलिपूजा समेत लगाउने चलन चलि आएको छ । यि महत्वपुर्ण मेलाहरुलाई महोत्सबको रुपमा विकास गरी प्रचार प्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ र यहाँको धार्मिक महत्वका सार्थ आर्थिक उपलब्धि पनि प्राप्त हुन सक्छ ।

क) वैशाखे पूर्णिमा पूजा (उभौली सेवा) (Baisakhe Purnima Pooja)

धार्मिक विश्वास अनुसार वैशाखे पूर्णिमा पूजा देखी देवी देवताहरु हिमाल कैलाश पर्वततिर सवार भै जाने या उभो लेकतिर लाग्ने बेला भएको हुँदा सम्पूर्ण देवी देवताहरुलाई मानभाउ बढाई दिनको लागी उक्त मेला लगाउने गरिएको हो उक्त अवसरमा हामी सबैमानव जाती, पशुपंक्षी र तुलफूल समेतलाई राम्रो होस् भनी पूजा गर्ने गरिन्छ । त्यस बेला उभौली सेवामा १ जोडी भाले र पोठीले आछापिछा माग्न पूजा लगाईन्छ ।

ख) भदौरे पूर्णिमा पूजा (उधौली सेवा) (Bhadaure Purnima Pooja)

हरेक सालको भदौ पूर्णिमा कृष्ण पक्षको बखत भदौरे पूर्णिमा पूजा गरिन्छ । धार्मिक मान्यता अनुसार यस दिनदेखि विशेष गरि देवी देवताहरु हिमाल पर्वत देखि काशीगंगा तिर फर्कि सवार हुने हुँदा उक्त दिन पनि देवताहरुको मानभाउ बढाईदिन र स्वागत स्वरुप उत्सवकै रुपमा भव्य मेला लगाउने चलन छ । जसरी बैशाखे पूर्णे (उभौली सेवा) गर्दा विधि गरिन्छ, त्यस्तै गरी सम्पूर्ण विधिहरु भदौरे पूर्णिमा पूजामा पनि गरिन्छन् ।

३.५.२ मूल पूजा बाहेक अन्य पूजाहरु (Additional Worshipping)

“यस मन्दिरमा मुख्य पूजाहरु बाहेक अन्य पूजाहरु पनि गर्ने गरिन्छन् । त्यस पूजाहरु मध्येमा देवी स्थलभित्रको पोखरी अन्तर्गत नाग पूजा गर्ने गरिन्छ । कसैकसैलाई सामान्य चोटपटक लागी घाउ भई निको नहुने वा आफै घाऊ निस्कि निको हुन ढिलाई भएको खण्डमा धुप–वत्ति र १ वटा कूखूराको अण्डाले नाग नागेनीलाई पूकार्दै पूजा गरिन्छ र घाउ चोट पटक विशेक हुने कूरामा ठुलो विश्वास गरिन्छ । यसका साथै सामान्य दुःख विमारलाई विशेक पार्नको लागी फूल–अक्षता, भेटी १ वटा कुखुराको अण्डा मन्दिरमा चढाइ जडिबुटी (दबाई) पनि मागी खाने चलन छ । सो बुटी ग्रहण गरेपछि सामान्य दुःख, विमार हट्छ भन्ने विश्वास लिइन्छ ।

यसैगरी बाल–बच्चाहरु जन्मिएको मिति देखि विशेषगरि ३–४ महिना पूगि सकेपछि मन्दिरमा देखाउँन लाने चलन छ । उक्त दिनमै बाल–बच्चालाई नयाँ लुगा, गरगहना लगाईदिई शुरुको अन्न (भात) खुवाउने चलन छ । त्यसबेला बच्चाहरुको नाउमा फूल–अक्षता, भेटी, धुप–वत्ति चढाइन्छ र बली पूजा समेत गर्ने गरिन्छ । मन्दिर क्षेत्रको बाहिरपट्टि गाउँ–घरका छरछिमेकहरुलाई बोलाई सम्पुर्ण नित्य कर्महरु गर्ने गरिन्छ । बच्चाहरुलाई उपस्थित छरछिमेक र बुढापाकाहरुले आशीर्वाद दिने गर्छन् ।”[2]

३.५.३ बलि पूजा नगर्ने व्यक्तिहरुको लागि पूजापात (Additional Worshipping for Devotees Except Sacrificial Ritual)

कुनै कुनै भक्तजनहरु बलीपूजा नदिने पनि हुन्छन् । उक्त ब्याक्तिहरुले यस मन्दिरमा दर्शन गर्न आउनु पर्यो भने फूल–अक्षता, धुप वत्ति, भेटी र अन्य फलफूलहरु ल्याई चढाउँने प्रचलन छ । कसै कसैले परेवालाई जिउदै उडाउने गर्दछन् । यस्तो किसिमको कोरा पूजाहरु पनि गर्ने गरिन्छन् । मन्दिरभित्र व्राम्ह्रण, पुरोहितहरुद्धारा जप, पाठ गर्ने चलन पनि छ । यसरी जप–पाठ गर्नाले देवीले ग्रह शान्ति बनाई सुख सन्तोष मिल्दछ भन्ने कुरामा पूर्ण विश्वास लिइन्छ ।

४.५.४ मन्दिर प्रवेशको परम्परागत र धार्मिक मान्यता (Traditional and Religious Norms)

v यहाँ प्रवेश भई दर्शन/पूजा गर्न चाहने भक्तजनहरुले नुहाई–धुवाई गरी उपवास बस्नु पर्छ ।

v यहाँ (१०-१२) वर्ष भन्दा माथिका रजस्वला भएका (किसोर, युवती, महिला) लाई मन्दिरको प्रवेशद्धारमा रहेको पुल, खोल्सो तरेर भित्र जान निषेध गरिएको छ ।

v मन्दिर भित्र छालाको वस्तु लगाएर प्रवेश गर्न हुदैन ।

v मन्दिर वरिपरि वा देवी स्थल भित्र दिशा–पिशाब गर्न मनाही रहेको छ ।

v भक्तजनहरुले मन्दिरमा पूजाको पकुवा नचढाई भोजन गर्न हुदैन ।

v दलित वर्गहरुलाई मन्दिर थान भित्र प्रवेश गर्न परम्परागत मनाही गरिएको छ । प्रवेश गरेमा अनिष्ट हुने परम्परागत मान्यता रहिआएको छ हाल आएर विस्तारै यो मान्यता कम हुदै गईरहेको छ ।

v मन्दिरमा पूजा गर्न ल्याईएको बलिपूजाहरु पूर्वको मार्ग पोखरी र उत्तर–दक्षिण–पश्चिमतिर अरुण नदी,तमोर नदी कटाउनु हुदैन ।

v मन्दिरको फूल प्रसाद चाँहि कुनै पनि ठाउँमा लग्न सकिन्छ ।

४.५.५ जाल्पादेवी मन्दिरको पूजा विधि आवश्यक सामग्रीहरु (Goods Worshipping Procedure)

v प्रत्येक दिन आइतबार र औँशीको दिन बाहेक पूजा लाग्ने गर्दछ ।

v संखुवा–सभामा रहेको होम्वोयोङ्ग देवीमा बिहान ७ बजे देखि १२ बजे भित्र पूजा लागि सक्छ त्यसपछि मात्र यहाँ दिउँसो १ बजे देखि यता पूजा सुरु हुन्छ ।

v पूजारीले बिहान उठी देवीथानको छेउमा नाग पोखारी छ त्यँही नुहाएर देवी घरमा धूप बत्ती गरी दिउँसो मन्दिरमा गएर सफा सुग्घर गर्छन् ।

v धुनीबाट मुलमन्दिर र कन्या मन्दिरको गरि २ वटा काँशको कचौरामा आँगोको कोइला हाली पूजारीले लगेर १–१ वटा मन्दिरमा राख्दछ र मुलमन्दिरमा धुप–वत्तीले सर्वप्रथम पूजारीले पूजा–आराधना गर्दछन् । मुल मन्दिरको धुप–वत्ती गरी सकेपछि कन्या मन्दिरतिर त्यही काँशको कचौरामा पानी थापी प्रवेश गर्छन् । त्यहाँ पनि धुप–वत्तीले नै पूजा, आराधना पूजारीले गर्छन् ।

v पहिला कन्या मन्दिरमा परेवा वा अन्य फूल अक्षता चढाएर पूजा गरेपछि मात्र मूल मन्दिर जाल्पा देवीमा पूजा शुरु हन थाल्छ ।

v मूल मन्दिरमा पूजा सुरु हुनु पूर्व यहाँ रहेको ठूलो सांकेतिक घण्टा पूजारीले बजाउने गर्दछ यो घण्टाले पूजा सुरु भएको संकेत गर्दछ र होम्बोयोङ्गमा भएको देवीले सुन्छ भन्ने विश्वास छ । त्यसपछि पूजा सूरु हुन्छ ।

v यसरी कन्या देबीमा पूजा–आराधना गरी सके पछि मन्दिरको मूल पूजा गर्ने मन्दिरमा पुजारी (नाक्छोङ) प्रवेश गरी मूल ढोकामा अक्षता र पानी लिएर वस्छन् ।

v टपरीमा सत् बिऊ ( कोदोका गेडा, तोरीको गेडा, फापारको गेडा, फिलिङगेको) फूल अछेता, धुपवत्ती, भेटी र अविर रङ,चुरा पोते, ध्वजा ( कपडाका टुक्राहरु) पनि चढाउन सकिन्छ । कसै-कसैले नाक्छोङलुङमा सोलोईवा ( चिन्डोमा मार्चा र शुद्धो पानी) चढाउने गर्दछन् । त्यसपछि टा-टाढाका भक्तजनहरु आ-आफ्नो मनोकामना पुरा गर्नलाई विभिन्न उद्देश्यमा कुखुरा, परेवा, हाँस, बोका, बाख्री लिई आऊछन् । कसैलाई आफ्नो ठुलो उद्देश्य पुरा गर्नका लागि पञ्चवलीमा पाँच खालको बली भोग दिने चलान छ । जस्तै- कि कुखुरा, परेवा, हाँस, बाख्रा वा भेडा र राँगो गरी ५ खालको मिलाएर पुजा लगाऊने चलन छ । यो पञ्चवली पुजा टाढा वा नजीक जोसुकैले पनि लगाउन सकिन्छ । यि पुजाहरु गर्ने बाहेक यस स्थानका मानिसहरुले विधि पुर्वक पुजा लगाउने चलन छ । यो पुजा बिधिलाई महत्चका साथ लिईन्छ ।

v यहाँ सुँगुर बाहेक अन्य राँगो हाँस, कुखुरा, चल्ला, बोका, पाठी, अण्डा आदिको बली चढाउने गरिन्छ । बली नचढाउनेले धूप, अक्षता, फूल, भेटी चढाउने गर्दछन् ।

v मन्दिर भित्र उपबास बसेका व्यक्तिहरु मात्र मन्दिरको ढोकाबाट भित्र छिरेर देवीको दर्शन गर्न पाउँदछन् ।

v आफ्नो छुट्टै भाकल अनुसार कन्यादेवीमा पनि फूल, अक्षता, धूप, भेटी र परेवा चढाइन्छ ।

v भक्तजनहरुले चढाएको बली, पकुवा, घिऊ, चामलको पकुवाको नाक्छोङलुङ ( पुर्खाढुंगामा) चढाए पछि देवी थान भित्र भएको संकेतिक घण्टा पूजारीले बजाएर पुजा समाप्त भएको संकेत गर्दछन् ।

v पूजारीले जाल्पादेवीमा पूजा सकेर देवीघरमा गई शुद्ध पानी छर्केर अक्षता पातीले पूजा गरेपछि त्यस दिनको नित्य कर्म सकिन्छ अनि मात्र शुद्ध भोजन गर्दछ ।

४.५.६ महिला तथा दलितलाई प्रवेश (Entry for Women and Dalit)

यहाँ १२ वर्ष भन्दा मुनिका केटीहरु अर्थात् कुमारी केटीहरुलाई मात्र मन्दिर भित्र छिर्न पाउछन्, तर महिनावारी भएका केटी वा महिलालाई मन्दिर भित्र छिर्न मनाही रहेको छ । यो देवी कन्या हुँदा नै यहाँ देवीको रुपमा उत्पत्ति भएको हुनाले कन्या केटीलाई मात्र छिर्न पाउने धार्मिक मान्यता छ । केही भुलवस मन्दिर भित्र प्रवेश गरे देवीबाट अनिष्ट हुने मान्यता छ । यसै गरि दलित जातिलाई मन्दिर परिसर सम्म प्रवेश गर्न पाउने नियम छ तर मन्दिरको थान भित्र प्रवेश गर्न मनाही छ, तै पनि आजभोली सामाजिक परिवर्तन संगै यसमा परिवर्तन भएको छ ।

४.५.७ कन्या मन्दिरको संक्षिप्त चिनारी र पुजा विधि (Worshipping Procedure)

जालपा देवीको मुल मन्दिरको बायाँपट्टी कन्या मन्दिर रहेको छ । यस कन्या मन्दिरको विशेषता मुल मन्दिरको भन्दा वेग्लै छ । यस मन्दिरको उत्पत्ति पनि जाल्पा देवी सगंसगैं भएको हो । यी कन्याहरु कसका सन्तान हुन् भन्ने विषयमा बुढापाकाहरुको भनाई अनुसार कसै–कसैले जाल्पादेवी कै सन्तान हुन् भन्ने गरेको पाइन्छ । कसै-कसैले जालपा देवी सँगसँगै आएका कन्याहरु हुन् भन्ने पाइएको छ र उक्त भनाई मध्येमा जालपा देविको उत्पत्ति सँगै यस कन्या देवीहरुको पनि उत्पन्न भएको ठहर गर्न सकिन्छ । उक्त कन्या मन्दिरमा मुल मन्दिरको पूजा शुरु हुनु अगाडी प्रायः फूल–अक्षता, धुप, वत्ति, भेटी मात्र चढाइ पूजा गर्ने गरिन्छ । सम्पूर्ण भत्तजनहरुले चढाएको फूल–अक्षता, धुपलाई पूजारीले थानीमा चढाई सकेपछि त्यहाँको पूजा सकिन्छ । यस बाहेक त्यहाँ बलिपूजा गर्दा परेवा मात्र चलाउने गरिन्छ । त्यो पनि प्रायः कमै मात्रामा बलिपूजा हुन्छ र कसै कसैले उक्त कन्या मन्दिरमा जिउँदै परेवा उडाउने चलन पनि गर्छन । त्यहाँको पूजा सकिएपछि मात्र मुल मन्दिरमा पुजा शुरु गरिन्छ । अन्त्यमा मुल मन्दिरको सम्पुर्ण पूजाहरु सकिसकेपछि नै सँगसँगै मन्दिरको ढोका बन्द गरिने चलन छ ।

आदर्निय सम्पुर्ण मित्रहरु यो पेज लाई?

19/01/2018

२.२. भौतिक पक्षहरु (Physical Aspects)

२.२.१.मन्दिर बाहिरको भौतिक अवस्था (Physical Aspects of Temple's Peripheral)

साविक छिन्ताङ गा.वि.स. हाल खाल्सा छिन्ताङ शहिद भुमी गाउँपालिकाको उत्तरी भागको मूलगाउँमा छिन्ताङ जाल्पादेवी स्थापित् छिन् । उत्तर दक्षण तर्फ भिरालो भु–भागमा वरिपरी ठूला–ठूला रुखहरुले ढाकिएको जंगल छ । यही जंगलको विच भागमा मन्दिर अवस्थित छिन् । जुन साविकको छिन्ताङ गा.वि.स.को वडा नं. २ र ३ को संगम स्थलमा पर्द थियो । हाल खाल्सा छिन्ताङ शहिद भुमी गाउँपालिकाको वडा नं.-३ मा पर्दछ । यहाँ धेरै बर्ष पूराना अग्ला–अग्ला रुखहरु छन् । विशेष गरि यहाँ सिमल, खिर्रा, बर्कुम्लो, राजवृक्ष, उत्तिस जस्ता रुखहरु पाईन्छन् । यस क्षेत्र भित्र घाँस, दाउरा, काठ काट्नका लागि परम्परागत रुपमा निषेध गरिएको छ । यसरी नै गाई बस्तुहरुलाई पनि चराउन, डुलाउन निषेध छ । यसरी भएको खण्डमा देवीले श्राप्ने मान्यता रहेको छ । ग्रावेल सडक देखि करिब २०० मि सम्मको सिडि रहेको बाटो पार गरे पछि एउटा मन्दिरको प्रवेशद्धार आउछ । प्रवेशद्धार छेउमा फुलपाती चढाउने देउराली रहेको छ । देउराली पहिला खुल्ला अवस्थामा भवन विना थियो । अहिले यसको जिर्नोद्धार गरि ढुंगा र सिमेन्टको पर्खल उठाईएको छ । जसको नाप लम्वाई ५ फिट, चौडाई ५ फिट र उचाई ५ फिट ४ इन्च रहेको छ । यसैगरी प्रवेशद्धार पनि पक्की सिमेन्टको उचाई ९ फिट ५ इन्च, चौडाई ६ फिट ७ इन्च रहेको छ । गेटबाट भित्र प्रवेश गरे पछि एउटा पक्कि पूल आउछ जून छेउ–छेउमा ४–४ वटा सिमेन्टको पिलर सहित फलामको पाईप लगाईएको छ । यसको लम्बाई १९ फिट २ इन्च र चौडाई ६ फिट रहेको छ । पुल पार गरेपछि जंगलको वरिपरि लगभग ७ फिट अग्लो पर्खालले घेरिएको छ । यसरीनै ५ फिट ४ इन्च चौडाई भएको मन्दिर परिसर सम्म ढुङगा छापिएको बाटो छ । पूल देखि २० मिटर पर पुगे पछि नाग पोखरी आउछ जुन पोखरीमा पानी जमिनबाट बुल–बुल निस्कने गर्छ । त्यही पोखरीबाट निस्कने एउटा धारा पनि छ । यही धारामा भक्तजनहरु नुहाउने गर्दछन् । यो पोखरीको छेउमा मानेको बोट पनि रहेको छ । यहाँ जंगली जनवरमा बाँदर पाईन्छ । यस जंगलमा बिभिन्न किसिमका चराचुरुङ्गीहरु पनि पाईन्छन् जसले गर्दा चराहरुको मनमोहक आवाजले जंगल भित्र वेग्लै आनन्द पाईन्छ ।

२.२.२ मन्दिर परिसरको बनावट र अवस्था (Structure and Form of Temple)

घना जंगलको बिच भागमा रहेको मन्दिर भित्र चराचुरुङगीको आवाजले वातावरणनै मनमोहक बनाउछ । जाल्पादेवी मन्दिर उत्तर तर्फ प्रवेशद्धार फर्किएको छ । यो मन्दिर संगै बाँया पट्टी कन्या देवी पनि स्थापित छिन् । यिनै दुई मन्दिरको बिच भागमा पानीको धारा रहेको छ । उक्त पानी केही माथिबाट निस्कने गर्छ त्यही ठाउँमा पहिला जलको उत्पत्ति भएको विश्वास गरिन्छ । यो धाराको पानी पवित्र जलको रुपमा मन्दिरमा पूजाको लागि चलाईन्छ । उक्त धारामा मन्दिरको प्रवेशद्धार अगाडि बलि चढाउने (मार हान्ने) ठाउँ छ यहाँ सुँगुर बाहेक खसी, बोका, पाठा, राँगो, भेडा,कुखुराको भाले आदिको बलि चढाईन्छ । ढुङ्गा छापिएको फराकिलो ठाउँ रहेको छ । मन्दिर वरिपरी भक्तजनहरुले चढाएका ठूला–साना गरि १३५ वटा घण्टीहरु छन् । उक्त घण्टीहरु मध्ये सन् १९८० मा चढाईएका ठूला–ठूला घण्टीहरु पनि रहेका छन् । मन्दिरको अगडी पट्टी मन्दिरको ढुनी रहेको छ । जुन धुनीमा ठूला–ठूला मुढाहरु जोडेर रातभरि दिनभरि बाल्ने गरिन्छ । यो धुनीमा आगो निभ्न हुदैन भन्ने मान्यत पनि रहेको छ साथै यस धुनीमा नाक्छोङहरुको पुर्खा ढुङगा (नाक्छोङलुङ) लाई दैनिकरुपमा चढाईने देवाताको खाना बाहेक अन्य बस्तु पोल्न मनही रहेको छ । धुनीकै छेउमा नगरपालिका द्धारा वि.सं. २०७० सालमा निर्मित प्रतिक्षालय पनि रहेको छ । यसैगरी धुनीकै पश्चिम पट्टि नाक्छोङ्हरुको पुर्खाको थान पनि रहेको छ । नाक्छोङहरुको पुर्खा थान भन्दा पश्चिम तर्फ एउटा अजंगको रुख मुनि हात्तीमाङ जागित्राको थान रहेको छ । मन्दिरको प्रवेशद्धार पूर्व, पश्चिम, उत्तर र दक्षिण गरि चार ठाउँबाट रहेको छ भने मन्दिरको प्रमुख प्रवेशद्धार पूर्व तर्फबाट रहेको छ ।

२.२.३ मन्दिरको बनावट र निर्माण शैली (Architectural Style of Temple)

जाल्पादेवी मन्दिरको उत्तर तर्फ प्रवेशद्धार रहेको छ । यो ढुङ्गा र सिमेन्ट द्धारा निर्माण गरिएको खुल्ला पर्खालको घेरा भित्र छानो रहित रहेको छ । यो मन्दिर आयतकार आकारको लम्बाई ४५ फिट २ इन्च, चौडाई ३० फिट ३ इन्च, उचाई १० फिट ४ इन्च र पर्खालको मोटाई १ फिट ९ इन्च छ । मन्दिरको ढोका काठको दुवै तिर दाँया र बाँया गरि बन्द गर्ने खालको रहेको छ । जसको चौडाई ३ फिट ६ इन्च, उचाई ६ फिट ४ इन्च छ । एउटा ठूलो ३०–३५ फिट माथिबाट तीन वटा हाँगा फाटेर जम्मा ५०–६५ फिट अग्लो नाम, जात, थर नखुलेको रुख छ । त्यही तीन कापबाट मानेको बोट पनि उम्रिएको छ । यही रुखको फेदमा देवीको थान रहेको छ ।

कन्यादेवी मन्दिरको बनवट पनि उत्तर तर्फ प्रवेशद्धार रहेको छ । यसको पनि छानो विनाको आयातकार आकारकै लम्बाई १२ फिट चौडाई १० फिट ४ इन्च, उचाई ६ फिट पर्खलको मोटाई १२ फिट ५ इन्च छ । यसको पनि ढोका काठको छ । मन्दिर भित्र छ कन्या र नौ कन्याका साना र ठूला ढुङ्गाका देवलहरु रहेका छन् ।

२.२.४ मन्दिरको भित्री स्थिती र मूर्तिहरु (Internal Conditions of Temple and Stone Idol)

मन्दिर भित्र देवीको कुनै आकृति छैन यहि रुखको फेदमा देवी रहेको विश्वास गरिन्छ । थानको वरिपरी भक्तजनहरुले चढाएका साना–ठूला त्रिशुल, रुपैया (भेटी) ध्वजा, ऐना, खुकुरी जस्ता हात हतियर, घण्टीका स–साना पहाडनै छ । उक्त थान वरिपरी लगभग २५–३० फिट सम्म फराकिलो भाग पनि रहेको छ । मन्दिरमा सोलर बत्तीको पनि व्यवस्था रहेको छ । साथै विजुली बत्तीको वाईरिङ जिर्ण भत्किएको अवस्थामा रहेको पाइयो ।

२.२.५ मन्दिर भित्रको पूरानो घण्टी (Ancient Bells of Temple)

थानको बाँया पट्टी छेऊमा पूराना दुईवटा साना र ठूला घण्टीहरु छन्, यि घण्टीहरु यस मन्दिरकै सबै भन्दा पुरानो घण्टीहरु हुन् । जस मध्ये ठुलो घण्टी श्रीसम्वत् १९४४ सालमा चढाईएको छ । यो घण्टी सधै पूजा लाग्न शुरु हुनु पूर्व र पूजा समपन भएपछि पूजारीले बजाउने गर्दछ । यो घण्टीले पूजा शुरु भएको र अन्त्य भएको संकेत गर्दछ । विशेष गरि यसले संखुवा–सभाको होम्वोयोङ्ग देवीलाई संकेत गर्दछ भन्ने विश्वास छ । यस्तै घण्टी होम्बोयोङ्ग देवीमा पनि रहेको र यो घण्टी पुजाको समयमा मात्र बजाईने भएकाले देवीको उत्पत्तिकाल संगै यहाँ राखिएको विश्वास गरिन्छ । जसले गर्दा यही समयकालमा देवी उत्पत्ती भएको पनि विश्वास गरिन्छ । यसै गरी सानो घण्टी श्रीसम्वत् १९६१ साल चैत्र संक्रान्तिका दिन चढाइएको छ ।

२.२.६ अनौठो रुख र मानेको बोट (Peculiar Tree: Mane)

मन्दिरको ठिक विच भागमा एउटा ठूलो ३०–३५ फिट माथिबाट तीन वटा हाँगा फाटेर जम्मा ५०–६५ फिट अग्लो नाम, जात, थर नखुलेको रुख छ । त्यही तीन कापबाट मानेको बोट पनि उम्रिएको छ । यही रुखको फेदमा देवीको थान रहेको छ । यो रुखको आज सम्म पनि के को हो ? भनि पहिचान हुन सकेको छैन । संसारमा केही अनौठो वस्तुहरु मध्ये यो रुख र मानेको बोट पनि एक हुन् । यो रुखको पात बर्षमा दुई पटक झर्ने गर्दछ । अरु रुखको चैत्र, वैशाखमा पात झर्दछ यो रुखको पात चाहि हरियाली नै भईरहन्छ । उक्त रुखमा फलेको फल पाके पछि फडिरको फल जस्तै हुन्छ तर जीव जन्तु, त्यहाँको बादरले समेत यसको फल खादैनन् । यसको बोट, पात, फल आज सम्म कसैलाई पनि थाहा छैन केहीले यसको अनुसन्धन समेत गरेका छन् तर केही पत्ता नलागेको बताईन्छ । यही तीन हाँगाको कापबाट मानेको बोट उम्रिएको छ यो मानेको बोट यही हाँगा र थान भन्दा केही माथि जल उत्पत्ती भएको ठाउँ अनि नाँग पोखरी छेउमा मात्र उम्रेको पाईन्छ । यो मानेको बोट विशेष्ता यस्को जरा सिधै तल नझरी अर्को हाँगामा छड्के मात्र गएको देख्न सकिन्छ । यो मानेको बोट सधै यही तीन कापमा उम्रने गर्दछ । यसरी यो मानेको बोट र सधै हरियाली भईरहने अनौठो रुख दैवी शक्तिकै कारणले यस्तो भएको हुन सक्छ । यसको विस्तृत अध्ययन हुन जरुरी देखिन्छ ।

२.२.७ शिलालेखहरु (Inscriptions)

यहाँ जाल्पादेवीको बारेमा कुनै शिलालेखहरु नभएको पाइयो तर यहाँ पुराना घण्टीहरुमा लेखिएको अक्षर पुरानो र नबुझिने भएकाले चढाइएको मिति सम्म बुझ्न सकिन्छ । यहाँ चढाईएको घण्टीहरुमा मन्दिरको सबै भन्दा भित्र थानको बाँया पट्टी छेउमा पुराना दुईवटा साना र ठूला घण्टीहरु छन्, यी घण्टीहरु यस मन्दिरकै सबै भन्दा पुरानो घण्टीहरु हुन् । जस मध्ये ठुलो घण्टी श्रीसम्वत् १९४४ सालमा चढाईएको छ र सानो घण्टी श्रीसम्वत् १९६१ साल चैत्र संक्रान्तिका दिन चढाइएको बुझ्न सकिन्छ । मन्दिरको बाहिरी परिसरमा थुप्रै चढाईएका घण्टीहरु मध्ये दुईजोडी घण्टीहरु सन् १९८० मा चढाईएको छ । यस्तै मन्दिरको प्रवेशद्धार भन्दा अगाडी बनाईएका दुईवटा चौतारोहरुमा शिलालेखहरु रहेका छन् ।

२.२.८ जाल्पादेवीको गुठी जग्गा (Guthi Land of Jalpadevi)

यस जालपादेवी मन्दिरको सरंक्षण, संवद्र्धनको प्रयोजनार्थ गुठी जग्गाको व्यवस्था गरिएको छ । यस मन्दिरको स्वामित्वमा रहेको गुठी जग्गा श्री ५ सुरेन्द्र राजाको पालामा वि.सं.१९०७ साल श्रावण आइतवारका दिन तमोर नदीको छेऊ छिन्ताङ गा.वि.स.को वडा नं.–४ दुरुम्टार भन्ने ठाउँमा दिएको थियो । वि.सं.१९२७ सालमा ठूलो पानी परेर नाम निशानै नहुने गरि बगाएको थियो । वि.सं. १९५७ सालमा ३० वर्ष पछि आठ जिम्मा रहेको किपट जग्गा हाल छिन्ताङ वडा नं.–५ को अरुण नदीको छेउ ललाहनीमा ६४।४।३ पैसा पाखा द्धयम् २०।१०।३ पैसा गरी जम्मा ८४ रोपनी १५ आना २ पैसा जाल्पादेवीको नाममा दिएका थिए ।[1] अहिले सम्म यही गुठी जग्गा ८ कित्तामा विभाजन गरी नाक्छोङ्ग पूजारी वंशका राईहरुले भोगचलन गर्दै आइरहेका छन् । यस्तै देवीकै गुठी जग्गा तथा देवीको शिरको रुपमा लिईने जाल्पादेवी मन्दिर भन्दा सिधै माथि पातल जंगल ९४.२८ हेक्टरमा रहेको छ । यहाँ आइतवारको दिन आवश्यकता अनुसार भूमि पूजा र पानी माग्ने गरिन्छ ।

28/05/2017

आदर्निय सम्पुर्ण मित्रहरु यो पेज लाई?

19/12/2016

मन्दिरको ऐतिहासिक पक्षहरु (Historical aspects)
वैदिक हिन्दु धर्ममा देवीदेवताहरुको मन्दिर निर्माण गरी विग्रहहरुको स्थापना गर्नु, पूजा–आजा गर्नुलाई परम पवित्र कार्यका रुपमा व्याख्या गरिएको छ । सनातन कालदेखिनै सर्बशक्तिमान परमेश्वर प्रति आफ्नो आस्था श्रद्धा र भक्ति व्यक्त गर्न मूर्ति पूजा एक सशक्त माध्यम रहि आएकोले मठ, मन्दिर र देवालय आदि स्थापना गर्ने प्रचलन पनि आदिम कालदेखिनै चलिआएकोछ । यसै अनुसार धनकुटा जिल्लाको छिन्ताङ गा.वि.स.वर्ड नं.२ र ३ को संगम स्थलमा जाल्पादेवी मन्दिरको स्थापना भएको हो ।
जाल्पादेवीको स्थापना एकिन तथ्य/मिति आज सम्म पाईएको छैन, तर यहाँका वुढापाका, पुजारी तथा बुद्धिजीवीहरुको भनाईअनुसार देवीको उत्पत्ति लगभग (६००–७००) वर्ष पहिला भएको विश्वास गरिन्छ । “त्यस बेला छिन्ताङमा जम्मा १२ घर मात्र बसोबास गर्थे । ती १२ घर सबै नाम्चिहाङ्ग/टुङलुङमी सामेकका राईहरु मात्र थिए । ती नाम्चिहाङ्ग सामेकका राईहरु हरेक कन्दमूल अनि सामान्य अन्न वाली लगाएर जीवन विताउने गर्थे । त्यस समयमा वाघ, भालु र डरलाग्दा वन्य जन्तुहरुको ठूलो भय हुन्थ्यो । उनीहरु सवै एकै ठाँउ अर्थात् सानो जग्गामा बस्थे । उनीहरुलाई जहिले पनि ठुलठुला वन्य जन्तुहरुसँग डर हुन्थ्यो । तर देवी (माङ्ग) को सम्झना गर्थे । अर्थात् हामीलाई देवी देवताहरुले रक्षा गर्छ भन्ने सम्म चेतना उनीहरुमा थियो ।”
त्यसबेला यस गाउँमा भोकमरीले गर्दा सबै गाउँमा दुःख थियो । बेसाहा खोज्नका लागि बुरुलेन नाम गरेको नाक्छोङ्ग राईले संखुवा–सभाको आँखिभुईको होम्बोयोङ्गबाट सपनामा देवीको आज्ञाअनुसार मानेको पातमा ल्याएको हिलोमाटो एउटा ३ काप भएको रुखमा राखेपछि पछि आएर जाल्पादेवीको प्रकट भएपछि यस ठाउँमा सहकाल भई सुख शान्ति भयो । त्यही बेला देखि यस जाल्पादेवीमा नौ सिंगे भालेको बलिबाट सुरुवात गरिएको पुजा अहिले पनि यहि ३ कापको अनौठो रुखमुनि देवीको बास रहेको विश्वास र पूजाआज गरिन्छ । छिन्ताङमा जाल्पादेवीको स्थापना गर्ने पहिलो व्यक्ति बुरुलेन हुन्, पछि आएर उनीनै जाल्पादेवीको पूजारीको रुपमा स्थापित भए । हाल आएर उनै बुरुलेनको वंशले यहाँको पुजारीको काम गर्दै आइरहेका छन् । हाल यस मन्दिरको १७ औं पूजारीको पूजा–आजा श्री डगेन्द्र नाक्छोङ्ग राई हुन् । यस मन्दिरको छानो छैन यसैगरी बाँया पट्टी यस्तै छानो नभएकै कन्यादेवीको पनि मन्दिर छ । यो मन्दिरको पनि उत्पत्ति/स्थापना जाल्पादेवी मन्दिर संगै भएको विश्वास गरिन्छ ।
क) जाल्पादेवी मन्दिरको स्थापना (Establishment of Jalpadevi Temple)
धनकुटा जिल्लाको छिन्ताङ गा.वि.स.वडा नं.२ र ३ को संगम स्थलमा जाल्पादेवी मन्दिरको स्थापना भएको हो । जाल्पादेवीको स्थापना एकिन तथ्य/मिति आज सम्म पाईएको छैन तर यहाँका वुढापाका, पूजारी तथा बुद्धिजीवीहरुको भनाईअनुसार देवीको उत्पत्ति लगभग (६००–७००) वर्ष पहिला भएको विश्वास गरिन्छ । यस गाउँमा भोकमरीले गर्दा सबै गाउँमा दुःख थियो । बेसाहा खोज्नका लागि बुरुलेन नाम गरेको नाक्छोङ्ग राईले संखुवा–सभाको आँखिभुईको होम्बोयोङ्ग/होम्बुङबाट सपनामा देवीको आज्ञाअनुसार मानेको पातमा ल्याएको हिलोमाटो एउटा ३ काप भएको रुखमा राखेपछि पछि आएर जाल्पादेवीको प्रकट भएपछि यस ठाउँमा सहकाल भई सुख शान्ति भयो । त्यही बेला देखि यस जाल्पादेवीमा नौ सिंगे भालेको बलिबाट पूजा आजा सुरुवात गरिएको थियो । अहिले पनि यहि ३ कापको अनौठो रुखमुनि देवीको बास रहेको विश्वासका साथ पूजाआज गरिन्छ । छिन्ताङमा जाल्पादेवीको स्थापना गर्ने पहिलो व्यक्ति बुरुलेन हुन्, पछि आएर उनीनै जाल्पादेवीको पुजारीको रुपमा स्थापित भए । हाल आएर उनै बुरुलेनको वंशले यहाँको पुजारीको काम गर्दै आइरहेका छन् । हालको पुजारीको भनाई अनुसार जाल्पादेवीको वरीपरीको पर्खाल बि.सं.२०४१/४२ साल तिर स्थापना भएको हो । मन्दिरमा हाल छानो नभएको ढुगां र सिमेन्टले वरीपरीबाट पर्खाल उठाइएको छ । पर्खालको विच भागमा एउटा नाम, जात नखुलेको तीन हाँगा फाटेको रुख छ, । यो मन्दिरको छानो नभएको मन्दिर अन्तर्गत पर्दछ ।
ख) स्थापनाको कथा÷किंवदन्ती (Myth about it's Establishment)
“आज भन्दा (६००–७००) बर्ष अगाडी यस छिन्ताङमा जम्मा १२ घर मात्र बसोबास गर्थे । ती १२ घर सबै नाम्चिहाङ/टुङलुङमी सामेकका राईहरु मात्र थिए । ती नाम्चिहाङ्ग सामेकका राईहरु हरेक कन्दमूल अनि सामान्य अन्न वाली लगाएर जीवन बिताउने गर्थे । त्यस समयमा वाघ, भालु र डरलाग्दा वन्य जन्तुहरुको ठूलो भय हुन्थ्यो । उनीहरु सवै एकै ठाँउ अर्थात् सानो जग्गामा बस्थे । उनीहरुलाई जहिलै पनि ठुला–ठुला वन्य जन्तुहरुसँग डर हुन्थ्यो । तर देवी (माङ्ग) को सम्झना गर्थे । अर्थात् हामीलाई देवी देवताहरुले रक्षा गर्छ भन्ने सम्म चेतना उनीहरुमा थियो । यसरी रहँदा वस्दा एकदिन ती १२ घरमा ३ पाछाका थिए । ती ३ पाछाका राईहरु मध्येमा ५ जना नुन बोक्न, लिन र अन्न खोज्न भनी लेखको बाटो हुदै भोटतिर जानलाई ढाकर बोकी हिडे । ती ५ जना मध्येमा टेक्टेक्पा र लुक्लुक्पा नाम गरेको नाक्छा–कुन्छा पाछाका हाल तेले पाछा थिए । अरु २ भाई माक्टेम्फा र लोलेम्पा नाम गरेका ओडाही पाछा (हाल साम्भोङ्ग पाछा) का थिए र एक भाई चाँहिं बुरुलेई÷वरुलेन् नाम गरेका चुप्पुरुक पाछा (हाल खिक्खाङ्ग/नाक्छोङ्ग) का थिए । ती ५ जना ढाकर बोकी जाँदा जाँदै हाल संखुवासभा जिल्लाको आँखीभुई गा.वि.स को होम्बोङ/होम्वोयोङ्ग भन्ने ठाँउमा वास बस्न पुगेछन् । त्यहि बास वसेको ठाँउमा राती सपनामा साह्रै राम्री सुन्दरी आइमाई बुरूलेईको अगाडी उभिएर तिमी को हौ ? कहाँ हिंडेको ? भनेर मोहनी स्वरमा सोधिछन् । अनि वुरुलेईले पनि नम्रतापूर्वक म नाम्चिहाङ्ग भोटतिर नुन बेसाहा, लिन हिंडेको हुँ भनेर व्याक्त गरेछ । अनि त्यति कुरा भएपछि मात्र सुन्दरी आइमाइले ए ! ल मैले तिम्रो कुरा बुझें, तिमी मेरो पिताजीले दिनु भएको दाइजो बारीबाट आएको रहेछौ । तिमीहरु साह्रै दुःख पाइराखेका छौ । म पनि अब चाँडै आउँदैछु । अब तिमीले यहाँको हिलोमाटो लिएर जाउ, अहिले म तिमीहरुलाई सबै कुरो पठाईदिन्छु भन्दै हातमा हिलोमाटो राखी दिदै यो माटो लगेर तिमी बसेको ठाउँको शुद्ध र पबित्र ठाउँमा लगेर राख्नु र सुचित्त भई शुद्ध मनले मलाई सम्झि धुपबत्तीले पुजा–आराधना गर्नु र सके नौ सिङ्गे सुनपंखीले भोग दिनु र तिमीहरुलाई सुख र शान्ति अवश्य मिल्नेछ, म त्यही हुनेछु भन्दै त्यहाँबाट अन्तरध्यान भै गईन् र त्यसपछि बुरुलेई निन्द्राबाट व्यूँझिएछ । व्यूँझिएर हेर्दा त हातमा हिलोमाटो रहेको देख्यो । अनि सपनाको कुराहरु सबै सम्झिन थाल्यो । सबै सम्झि सकेपछि अव यो माटो केमा राखु भनी बाहिर निस्केर खोजी गर्दा मानेको सफा पात भेटीयो र त्यही पातमा पोको पारी गोजीमा हिफाजतले राख्यो अनि मनमनै सोच्न थाल्यो । त्यसबेला निन्द्राको देवी भागिसकेको थियो ।
भोलि विहान सबै साथीहरु उठे र जाने भनि भन्दा बुरुलेईले अल्छी मान्दै भनेछ म आज बिमार छु जान असमर्थ भएं, मलाई पनि तिमीहरुले नै सके नुन ल्याइदेऊ है, म फर्कन्छु भनि व्यक्त गरे । त्यसपछि साथीहरु पनि विष्मत मान्दै तिमी कसरी एक्लै यत्रो लामो बाटोमा फर्कन्छौ भन्दा उनले बिस्तारै हिड्दै गर्छु भने । त्यसपछि साथीहरु ढाकर बोकी बाटो लागे र उनी पनि साथीसंग छुटेर फर्के । उनी घरमा सकुशल आईपुगे र गोजीमा राखेको हिलोमाटोको पोको घरको धुरीमा सिउराई राखे । यसरी बुरुलेई दिन प्रतिदिन आफ्नो घर परिवारको रेखदेखमा व्यस्त रहन थाल्यो । नुन लिन गएका साथीहरु पनि केही दिन पछाडी आईपूगे र बुरुलेईलाई पनि लगि दिए । अनि यसरी नै आफु आ–आफ्नो काममा व्यस्ततामा रहँदा बस्दा ६ महिना पछि त सबैलाई रोग–भोकले ग्रस्त पारेछ र ठुलो महामारी नै फैलिएछ । त्यस ठाउँका सबै नै आत्तिन थाले, अव के गर्ने, के विपत्ती आईलाग्यो, कसो गर्ने भनि सबै अत्तालिन थाले । त्यहाँ सबै भन्दा जान्ने धामी–बिजुवा चाँहि ‘टेक्टेक्पा’ थियो रे र त्यही टेक्टेक्पालाई सबैले जोखाना हेर्न आग्रह गरे । उनले जोखाना हेरि सकेपछि सबैलाई भने यहाँ यस ठाउंको कुनै पनि मान्छेले केहि काम विलम्ब गरी विगार गरेको देखिन्छ है ! अनर्थ हुन लाग्यो । यत्ति भनि सकेपछि सबै १–१ जना गरी प्रत्येक घरको एकठाउँ भेला भए र छलफल गर्न थाले । कसले के काम बिगार्यो भन्ने कुरामा छलफल गर्न थाले तर पनि कसैबाट थाहा हुन सकेन । फेरी पनि टेक्टेक्पालाई जोडदारका साथ जोखाना हेर्न लगाए कसले बिगार काम गरेको हो पत्तालाउनु पर्यो । पुनः टेक्टेक्पाले जोखाना हेर्दा बुरुलेई ले नै काम विगार गरेको देखिन्छ है भनि सकेपछि बुरुलेइलाई सबैले छिटो भन्न आग्रह गरे तर त्यत्तिखेर बुरुलेईले पनि केहि सम्झन सकेन । बुरुलेइ आत्तिएर के बोल्ने, के नबोल्ने अक्कनबक्क भएपछि मलाई केही छिन सोंच्न देउ, भने र सोच्ने समय दिए । अनि बुरुलेइले भोटतिर गएको बेला सपनाको कूरा र हिलोमाटो सिउरेको कूरा सम्झियो र डराई–डराई भन्न थाले । “यत्तिकैमा अर्को १ जनाले त्यो के हो, सबै वताऊ, भनेपछि उनले निर्धक्क साथ बृत्तान्त सुनाए ।
त्यसपछि सबै जना एकठाऊँ जम्मा भई वृहत् छलफल गर्न बसे । उक्त छलफलमा बुरुलेइले बताए अनुसार नौ सिङ्गे सुनपंखीको खोजी गर्नलाई तयारी भै जतातै लागे र माक्टेम्फा ओडाहीले तराईको फाँटमा पूग्दा ठुलो जंगल भित्र दुईवाट पंक्षी उडेर आए । त्यो ओडाहीले आफुले खान भनि बोकेको चामल अगाडी फालिदिए र ती पंक्षिहरुले चामल टिप्न थाले । अनि ओडाहिले विस्तारै गरेर पोथी चाहीलाई पक्डे । त्यस पछि बुद्धिमता पुर्वक भाले पछिंलाई पनि समाए । त्यसरि समाइसकेपछि ती पंक्षीहरुको शिर गन्दा नौ वटा भेटाए र अब त्यसैले पुजा गर्नु पर्यो भनि लिएर घर फर्किए । अरु कसैले पनि त्यस्तो फेला पार्न सकेका थिएनन् र सबैको मत अनुसार त्यसैलाई ठहर्याई पुजा गर्ने निधो गरे । सबै को सल्लाह अनुसार त्यही बुरुलेईलाई नै हिलो माटो सफा र पवित्र ठाउँमा राख्न लगाए र उसैलाई धुप–बत्ती बाली पुजा गर्न सल्लाह दिए । सोहि मुताविक बुरुलेईले जंगलको विचमा एक्लै डर मानि–मानि गएर स्थापना गरे र मानेको पात चाँहि रुखको कापमा राखे । पछि गएर उक्त रुखमा मानेको बोटै उम्रियो । हाल पनि मन्दिर भित्रको अजम्बरी रुखको ३ कापमा सधै मानेको बोट उम्रने गर्दछ । यसरी हिलो माटो स्थापना गरि धुप–बत्ती बाली भक्ति भाबले पुजा–आराधना गरे । उक्त धुप–बत्तीको आराधना पछि भाले चाँहिलाई भोग पूजा गरे । पूजा बाट ल्याईएको फुल–अक्षता सबैलाई बाँडे र भालेको मासु पकाएर अनि प्रसादको रुपमा सबै लाई घर पिच्छे बाँडेर खुशी साथ ग्रहण गरे । त्यस पछि यसरी देवीको पुजा–आराधना गरि सकेपछि त्यस गाउँमा दिन प्रतिदिन सबै कुराहरु सुधार हुदै आयो । सम्पुर्ण रोग–ब्याधी, भोकमारी निर्मुल हुदै गयो । केही दिन पुजा बन्द भयो र पुनः त्यस ठाउँमा उस्तै गरी समस्या बल्झिन थाल्यो । पुनः समस्या उस्तै गरि शुरु भएको हुदाँ प्रत्येक दिन नै पुजा–आराधना सञ्चालन गर्नुपर्छ भन्ने सर्वसम्मति निर्णय गरेपछि, त्यहि रुपले दैनिक पुजा सन्चालन गर्न थाले । उनै बुरुलेईलाई नै पुजारी तोके र उनि दैनिक आफ्नो पुजा सन्चालनको नियमहरु पालना गरी सम्पूर्ण मानव जातिको निमित्त धर्म कर्म को पुजा गर्न थाले । त्यसरी दैनिक पुजा सन्चालन हुन थालेपछि त्यस ठाउँका अन्य ब्यक्तिहरु पनि पुजाको सामाग्री जुटाई आ–आफ्नो आछा, पिछाको लागी पुजा लगाउन आउन थाले । त्यही क्रम जारी रह्यो र त्यस ठाउमा सुःख, शान्ति र सहकाल आउन थाल्यो । हरेक ब्यक्ति र परिवार मै परिवर्तनको आभास मिल्न थाल्यो । देवीलाई खुशि पार्नु पर्छ र मानभाउ बढाउनु पर्छ भन्ने विश्वास बढ्न थाल्यो र वास्तवमा त्यही कुरा देखा पर्न थाल्यो र दैनिक पुजा–आराधना गर्ने परम्परा बस्दै आयो । त्यहाँका सम्पूर्ण मानव समाजले दैनिक देवीको पुजा–आराधना गर्नुमा नै हामी सबैको कल्याण हुने कुरामा अत्यन्तै विश्वासत भए । त्यस देवीमा सधैभरि (दैनिक) पुजा सन्चालन गर्दा पुजारी लाई बढी भार हुने हुँदा र देवीले भोग नखाने दिन आईतबार र अँध्यारोको दिन औसींलाई पारेर उक्त दिनहरु बाहेक अन्य दिनहरु पुजा–आजाको दिनलाई मानि यही क्रमले पुजा गर्ने चलन बसाए ।”
यो छिन्ताङ जाल्पादेवीको उत्पत्तिको बारेमा प्रस्तै भएतापनि जाल्पादेवी होम्बोयोङ (धर्मदेवी) को बहिनी हो वा होईन भन्ने कुरामा केही मतभेद पाईएको छ । छिन्ताङ देवीको बारेमा ‘धर्मदेवी भगवती मन्दिर एतिहासिक अध्ययन’ प्रतिवेदनमा लोकमाया ताम्लीले लेख्नुभएको छ । यस प्रतिवेदनमा धर्मदेवी भगवतीका तीन जना दिदी बहीनीहरु रहेका छन् । जसमा मारेक– कटहरे गाउँ विकास समितिको वर्ड नं.२ मा अवस्थित धर्मदेवी भगवती जेठी बहिनी हुन । माहिली बहिनी संखुवा–सभा जिल्लाको आँखिभुई गा.वि.स मा अवस्थित होम्वोङ देवी र कान्छी बहीनी छिन्ताङको जाल्पादेवी हो । भनेर लेख्नु भएको छ । यस धर्म देवीमा पनि आफुले चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ । यो देवीको उत्पत्ति बि.सं १९०० मा भएको अनुमान गरिएको छ । यस मन्दिरमा पनि छिन्ताङ जाल्पादेवी कै जस्तो महिला र दलित जाति छिरे अनिस्ट हुने बिश्वास गरिन्छ । यहाँ पनि सुंगुर बाहेक सबैको बलि चढाउन मिल्छ । यहाँ आईतवार र एकादशीको दिन बाहेक अरु सबै दिन पुजा लाग्ने गर्छ ।”
यसले गर्दा पनि जाल्पादेवीको दिदीको को हुन् ? भन्ने पनि विवादित रहेको छ । “तर त्यो नभएर होम्वुङ्ग गाउँको हिलो माटोबाट छिन्ताङमा सारेर स्थापना गरिएको हुनले होम्वोयोङ्ग देवीमा विहान पुजा गरिसकेपछि मात्र छिन्ताङमा दिउँसो ४ बजे देखि पुजा सुरु हुने भएकाले पनि जाल्पादेवीलाई वहिनी हो भन्ने मत आएको हन सक्छ । त्यसो नभएर होम्वोयोङ्ग देवीकै शक्ति जाल्पा चण्डीदेवी हुन् । उनको बैवाहिक कर्मथलो चाँहि संखुवा–सभाको आँखीभुई गा.वि.सको होम्वोयोङ्ग÷होम्वुङ चाँहि हो । उनी त्यहाँ शक्तिको रुपमा जाल्पादेवी (लेवाहाङमा) लाई मानिदै आएको हो । त्यसैले जाल्पादेवीलाई होम्वुङदेवीकै स्वरुपको रुपमा मानिन्छ । वास्तवमा यो होम्वोयोङ्गमा भएको देवीकै शक्ति छिन्ताङमा हिलोमाटोबाट सारेर स्थापित भएकै कारणले गर्दा लेवाहाङमा (जाल्पादेवी) को रुपमा परिचित भइन् ।”
जाल्पादेवीको स्थापना सम्बन्धमा बुढापाकाले भनेका कथाअनुसार यो देवी पृथ्वीनारायण शाहले राज्य गर्न शुरु गर्नु भन्दा पहिलानै उत्पत्ति भएको विश्वास गरिन्छ । पृथ्वीनारायण शाहले बाईसे र चौबिसे राज्यको एकिकरणका क्रममा यहाँ आउँदा प्रवेश गर्नु भन्दा पहिला सपनामा देवीले मलाई गाईको बलि चढाउनु अनि मात्र यहाँ प्रवेश गर्न पाउनेछौ भनेछ तर यसो नगरी छिन्ताङको दक्षिण तर्फ गोपालपुरबाट माथि आँखिसल्लाको चिसो पानी तर्फबाट कब्जा गर्न खोज्दा छिन्ताङ तर्फ हेर्दा पुरै अल्लो/सिस्नु घारी र बादलले गाउँ पुरै ढाकेछ र यहाँ प्रवेश गर्न सकेन यो पनि जाल्पा देवीकै शक्तिको कारणले भएको विश्वास गरिन्छ । यो कथाले पनि जाल्पादेवीको उत्पत्ती पृथ्वीनारायण शाहको राज्य विस्तार हुनु भन्दा पहिलानै भएको विश्वास गरिन्छ ।

जाल्पादेवी मन्दिरको संक्षिप्त परिचय (Introduction of Jalpadevi Temple)जसरी राम, कृष्ण, शिवजी, विष्णु, दन्तकाली, पिण्डेश्...
06/11/2016

जाल्पादेवी मन्दिरको संक्षिप्त परिचय (Introduction of Jalpadevi Temple)
जसरी राम, कृष्ण, शिवजी, विष्णु, दन्तकाली, पिण्डेश्वरी, पार्वती, दर्गा भग्वनी जस्ता देवी÷देवताको महत्व रहे जस्तै पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लाको बजारबाट करिब ८ कोश पश्चिममा ग्रामिण छिन्ताङ गा.वि.स को वर्ड नं.२ र ३ मा जाल्पादेवी रहेकी छिन् । पानीमा उत्पत्ति भएकी देवी भएकाले यी देवीलाई जाल्पादेवी वा जालपादेवी भनी नामाकरण गरिएको बताईन्छ । यसलाई छिन्ताङको स्थानीय भाषामा लेवाहाङमा, ठिगुम्हाङमा भनि बोलिने गरिन्छ । यी देवी छिन्ताङमा भएकाले पनि जाल्पादेवी छिन्ताङ देवी नामले प्रसिद्ध रहेको छ । यो देवीको उत्पत्ति लगभग (६००–७००) वर्ष पहिला भएको विश्वास गरिन्छ । यस मन्दिरमा आफूले चिताएको कुरा पुरा हुने विश्वास गरिन्छ । जाल्पादेवीको स्थापना उत्पति कालपछि एक ठाउँ देखी अर्को ठाउँ सम्म देवीको अदम्य शक्तिले सम्पूर्ण मानव जातिको मनोकांक्षा पुर्ण हुने कुरामा विश्वास भएपछि दिन प्रतिदिन यस देवीमा दर्शन गर्ने भक्तजनहरु आउने क्रम बढ्दै गईरहेको छ । हाल आएर नेपालका विभिन्न जिल्लाहरुबाट हजारौ संख्यामा दर्शन गर्न आउन गर्छन् । मित्र राष्ट्र भारतबाट पनि भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् । हाल आएर हिलेबाट छिन्ताङ सम्मनै ग्रावेल सडक पुगेको कारणले यस देवीमा दिन प्रतिदिन भक्तजनहरुको वृद्धि भई रहेको छ । यो देवी पर्यटकीय र धार्मिक हिसाबमा पनि प्रसिद्ध भएकाले झनै यसको महत्व बढदै गईरहेको छ ।
यो मन्दिर शान्त, स्वच्छ, जंगलको वीच भागमा अवस्थित छ । मन्दिरमा हाल छानो नभएको ढुगां र सिमेन्टले वरिपरीबाट पर्खाल उठाईएको छ । पर्खालको विच भागमा एउटा नाम जात नखुलेको तीन हाँगा फाटेको रुख छ, त्यही रुख मूनि देवीको बास रहेको विश्वास गरिन्छ । यो मन्दिर पनि छानो नभएको मन्दिर अन्तर्गत पर्दछ । जाल्पादेवी मन्दिर संगै बाँया पट्टी यस्तै छानो नभएको सानो कन्यादेवीको मन्दिर पनि रहेको छ । मन्दिर उत्तर तर्फ भिरालो भागमा रहेको छ । मन्दिरको उत्तर पूर्व तर्फ हिलेबाट जोडिएको ग्रावेल सडक पनि छ । पूर्व तर्फ मन्दिरको प्रवेशद्धार रहेको छ । यो मन्दिरमा आइतवार र औंशी बाहेक अरु दिन प्रत्येक बार बेलुकी ४ बजे देखि पूजा लाग्ने गर्दछ ।

Address

Dhankuta

Opening Hours

Monday 03:00 - 18:00
Tuesday 03:00 - 18:00
Wednesday 03:00 - 18:00
Thursday 03:00 - 18:00
Friday 03:00 - 18:00
Saturday 03:00 - 17:00
Sunday 03:00 - 19:00

Telephone

9819030740

Alerts

Be the first to know and let us send you an email when छिन्ताङ्ग जाल्पदेवी मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to छिन्ताङ्ग जाल्पदेवी मन्दिर:

Share