26/08/2026
बुधबार, २६ अगस्ट, भदौ १०
“हरेक विचारलाई वशमा पार्दैं ।” —२ कोरिन्थी १०ः५
“त्यसलाई पक्रेर रद्दीको टोकरीमा फालिदेऊ।”
लेखक म्याक्स लुकाडोले लेखेका छन् : ‘केही समयअघि, एक आमाले मलाई तिनको आठ वर्षको छोराको लागि प्रार्थना गर्न आग्रह गरिन् । ऊ निरन्तर देखिने तस्बिरहरू र डरलाग्दा दृश्यहरूको कारण विचलित थियो जसले गर्दा ऊ एकलै रहने र भयभीत बनेको थियो । ती कुराहरूको कारण उसको रातको निद्रा पनि हराएको थियो । हामीले भेटेको दिन, उसका आँखा आँसुले भरिएका थिए र ऊ आफ्नी आमासँग टाँसिएको थियो । तिनले उसलाई डाक्टरहरूकहाँ लगेकी थिइन्, तर केहीले पनि काम गरेको थिएन । मैले उसलाई भनेँ कि उसको जीवनमाथि शैतानको कुनै अधिकार छैन । वास्तविक लडाइँहरू मनमा लडिन्छन् । कि परमेश्वरले हामीलाई हरेक विचारलाई अधिनमा राख्न मदत गर्नुहुनेछ । मैले उसलाई बाइबलको एउटा पद कण्ठ गर्न र डरलाग्दा विचारहरू उसको दिमागमा आउँदा प्रत्येक पटक त्यही पद उद्धृत गर्न भनेँ । मैले उसलाई भने, “आफ्नो हात उठाऊ र त्यो विचारलाई पक्रेर रद्दीको टोकरीमा फालिदेऊ । अनि त्यसो गर्ने बित्तिकै, त्यसको सट्टामा धर्मशास्त्रको एउटा पद राखिहाल ।” त्यसपछि हामीले उसलाई तेलले अभिषेक गर्यौं र उसको लागि प्रार्थना गर्यौं । पाँच दिनपछि, उसकी आमाले ठुलो प्रगति भएको कुरा बताइन् । “गत हप्तादेखि, मूर्तिहरू गायब भएका छन्, उसले अब तिनीहरूलाई देख्न सक्दैन । उसले राती भजन २५ः५ बाट धर्मशास्त्रको यो खण्ड पढ्छ : “तपाईंको सत्यतामा मलाई डो-याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ ।” मलाई विश्वास छ कि यसले उसलाई ख्रीष्टको नजिक ल्याएको छ । उसले डरलाग्दा विचारहरूलाई रद्दीको टोकरीमा फ्याँकने रणनीति प्रयोग गरेको छ । उसले भन्यो कि जब उसले ती विचारहरूलाई फ्याँक्न खोज्यो, उसको टाउको दुख्थयो । मैले सोधेँ, “तिनीहरूलाई के ले हटायो ?” उसले मुस्कुराउँदै भन्यो, “मलाई थाहा छ परमेश्वरले तिनीहरूलाई हटाइदिनुभयो ।”’
त्यसैकारण तपाईंको लागि आजको वचन छ – “त्यसलाई पक्रेर रद्दीको टोकरीमा फालिदिनुहोस् ।”
परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुभएको होस् ।