14/04/2024
बिस्काः कसरी शुरु भयो ?
बिक्रम सम्वतको प्रचलन नहुँदा पनि सौर्यमानको कालगणना भने शुरु भइसकेको थियो । बाह्र महिनाको रुपमा बाह्र राशीको गणना गरिन्थ्यो । बि.सं. १९६१ मा चन्द्र शम्शेरले चन्द्रवर्षबाट गणना गरिने पात्रलाई सौर्य वर्षमा परिवर्तन गरेर सूर्यले मेष राशीमा प्रवेश गर्ने दिनलाई नयाँ वर्ष बनाउने निर्णय भयो । पहिलो महिना मेष राशीबाट गणना शुरु भएर मीन राशीमा वर्षको अन्त हुने गर्दछ । हरेक राशीमा सूर्यको प्रवेश हुने दिनलाई संक्रान्ती भनेर गणना गरिन्छ । सदियौ देखि नक्षत्र तथा चन्द्रमाको चक्रको गणनाबाट चन्द्र महिनाको गणना गरिन्थ्यो । चन्द्रमानको गणनाले गलत देखिए पछि सौर्यमानको गणनाबाट बाह्र राशीको बाह्र महिना गणना गर्न थालिएको थियो । बाह्र महिनाको नाम भने नक्षत्रको नामबाट नै राखिएको थियो । सौर्यवर्षको गणना पछि पनि नाम भने बैशाख जेठ असारको रुपमा नै गर्न थालियो । केवल नेपालमा मात्र होइन भारत, बंगलादेश, श्रीलङ्का, लाओस, क्याम्बोडिया, बर्मा तथा थाइलैण्डमा पनि बैशाख १ गते नयाँ वर्ष मनाइन्छ । तर यो दिन प्राय अप्रिल १३ का दिनलाई नै लिने गर्दछन् ।
सम्भवत उपत्यका भित्र मनाइने सबैभन्दा पुरानो जात्रामा बिस्का: पनि पर्दछ । यसलाई लिच्छवी कालदेखी नै मनाइदै आएको भन्ने मान्यता छ । बैशाख संक्रान्तिको अघिल्लो दिन यस पर्व मनाउन शुरु भएर नयाँ वर्षको दिन समाप्त हुने चलन छ । यो जात्राले पुरानो सालको बिदाई र नयाँ सालको स्वागत एक साथ गर्ने गर्दछ । तर सातौ शताव्दि तर यो जात्राको शुरुवात हुने समय तिर भने यो दिन बिशुवत संक्रान्ति पर्दथ्यो । जुन दिन दिन र रात बराबर हुने गर्दथ्यो । तर अचेल भने यो बिक्रम सम्वतको बैशाख १ गते मनाउने गरिन्छ ।
बैशाखमा हामी नयाँ वर्ष मनाउँछौ । तर सातौ शताव्दीमा महिनाहरुको शुरु भइसकेको थिएन तर राशीका नामहरु शुरु भइसकेको थियो । जसअनुसार मेष राशीबाट वर्षको शुरुवात हुन्थ्यो भने मीन राशीमा पुगेर वर्षको अन्त्य हुन्थ्यो । मेष राशीमा सूर्यले प्रवेश गर्ने यस दिनलाई विषुवत संक्रान्ति पनि भन्ने गरिन्छ । विषुवत दिनलाई अंग्रेजीमा Equinox Day भनिन्छ । यस दिनमा दिन र रात बराबर हुन्थ्यो । तर अचेल हुदैन । अंग्रेजी महिना मार्च 21 मा दिन र रात बराबर हुन्छ । तसर्थ चैतको ७-८ गते तिर नै विषुवत दिन हुने गर्दछ ।
बिस्का: सम्वन्धि धेरै किंवदन्ती प्रचलित छन । बिभिन्न मल्ल राजाको समयमा विभिन्न कथा गाँसिएका छन् । काशी विश्वनाथलाई पनि बिस्केट जात्रासंग गाँसेको पाउँछौं । कुनै बेला विश्वनाथ बिस्काः हेर्न आउँदा तान्त्रिकले थाहा पाएर तान्त्रिक शक्तिले समाउन खोज्दा टाउको छुटाएर शरीर मात्र काशी फर्केको किंवदन्ती छ । नेपालमा छोडिएको शिरलाई नै यस जात्रामा रथ यात्रा गरेर मनाउने गरिन्छ ।
बिस्का:को मूल देवता नै विश्वनाथ भैरव हुन् । विश्वनाथ भैरव काशी विश्वनाथको शिर होइन, त्यतिबेला लिच्छविहरु तथा तान्त्रिकहरुका गुरु भैरव हुन । त्यसैले बिस्का:मा भैरवीको रुपमा नकिंजु अजिमा, उनको बाहन वीर र वेताल, अष्टमातृका गणहरु भद्रकाली, दुमाजु देवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी तथा छुमा गणेशको पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता तान्त्रिक शक्तिको लागि पूजा गरिने देवीदेवता हुन् । पूजामा तान्त्रिक रुपमा पञ्चतत्व मिश्रित सम्हेयबजी चढाउने गरिन्छ र प्रसादको रुपमा खाने गरिन्छ ।
नेवा: हरु भैरवलाई योम्हसिद्ध (मनपर्ने सिद्ध देवता) अर्थात योसिंह द्य भन्ने गर्दछन् भने भैरवकै अर्को रुप भीमसेनलाई भीँद्य (असल देवता)को रुपमा पूज्ने गर्दछन् । तसर्थ नेवा: बाहुल्य हुने हरेक शहरमा भीमसेन तथा भैरवको मन्दिर हुने गर्दछ । अझ बढि भैरवलाई बिशेष रुपले आस्था भक्तपुरका नेवा:हरुले गरेको पाउँछौ ।
बिस्का:संगै नागनागिनीको किंवदन्ती पनि गाँसिएको हामी पाउँछौ । लिच्छवी राजा शिवदेव दिवतियको समयमा किराँती आक्रमणबाट जोगाउन तान्त्रिक शेखर आचाजुले आफू बाघ भएर हजारौ अन्य बाघ पनि आफ्नै शक्तिले तैयार गरेर किराँतीहरुलाई भगाएका थिए भन्ने गरिन्छ । पछि राजाले धुमधामले सिन्दुर जात्रा गरेर घर पठाउँदा तान्त्रिक शेखर आचाजुका श्रीमती नररुपाले श्रीमानको यो शक्तिको कुरा सुनेपछि श्रीमान सामु आफूले कहिल्यै अजिंगर नदेखेको हुँदा अजिंगरको स्वरुप देखाउन अनुरोध गरे । आचाजुले मन्त्र फुकेको चामल श्रीमतीलाई दिएर भने शुरुमा चामल छर्केर अजिंगर बनाउने र पछि फेरी अर्को चामल छर्केर मानिसको स्वरुपमा फर्काउन अह्राए । नररुपाले शुरुको चामल छर्के जसले गर्दा श्रीमान भयंकर अजिंगर बने । तर अजिंगरको स्वरुप देखेर तर्सिएका श्रीमतीले चामल नछर्किकन भागे । श्रीमान शेखर आचाजू श्रीमतीले चामल नछर्किकन भागेका हुँदा चामल छर्कने आशामा पछि पछि लागे । यसले गर्दा झन तर्सिएका श्रीमतीको हातको चामल आफ्नै शरिरमा पर्न गयो । जसले गर्दा श्रीमती पनि अजिंगर बने । यसरी दुबै श्रीमान श्रीमती अजिंगर बनेपछि राजा कहाँ पुगे । शायद राजाले थाहा पाएर मानिसको स्वरुपमा फर्कन मद्दत गर्ने आशामा रहेका आचाजु दम्पति राजाबाट पनि सहयोग नपाए पछि योसिंखेलको प्वालमा पसेर आत्महत्या गरे । यहि जोडी नागनागिनीको प्रतिक स्वरुप बिस्का: को रथमा लामो काठमा नागनागिनीको स्वरुपको रुपमा झुन्ड्याएर प्रदर्शन गर्ने जात्राको रुपमा बिस्का: चलेको भन्ने किंवदन्ती प्रख्यात छ ।
अर्को किंवदन्ती अनुसार कुनै बेला राजाको छोरा नभए पछि राजकुमारीका लागि उपयुक्त राजकुमारसंग विवाह गराइ राजा बनाउन राजाले शहरबाट उपयुक्त राजकुमार खोजेर विवाह गराइदिए । तर विवाह भएर आएको पहिलो रात नै राजकुमारको मृत्यु हुने गर्दथ्यो । यसरी राजकुमारीसंग विवाह गर्न लालायित युवकहरु मृत्यु हुँदै जाँदा राजा पनि चिन्तित थिए । उता कुनै युवक पनि राजकुमारीसंग विवाह गर्न आएनन् । अन्तमा एक दिन शहर देखि बाहिर बस्ने एक युवकले साहस गरेर राजकुमारीसंग विवाह गर्न इच्छा ब्यक्त गरे । यो सुने पछि शहरकै बाहिर बस्ने एक बुढीआमाले युवकलाई राजकुमारीसंग विवाह गर्ने युवकको मृत्यु हुने कारण गोप्य रुपमा जानकारी दिँदै विवाह पछि रातमा राजकुमारीको शयनकक्षमा जाँदा तरवार लुकाएर लिएर जान तथा गहिरो निद्रामा नसुत्न लगाए ।
बृद्ध आमाले युवकलाई भने बमोजिम मध्य रातमा राजकुमारीको नाकबाट निस्किएको सानो किराले बिकराल नागको रुप लिएर युवकलाई डस्न लागे । चनाखो भएर युवकले लुकाएर राखेको तरवार निकालेर नागलाई काटे । बिहान राजदरवारमा राजा रानी एवं सबै युवक जिउँदो रहन्छ या रहन्न भन्ने चिन्तामा प्रतिक्षामा थिए । यसै समय ढोका खोलेर युवक जीवितै निस्किए पछि राजाले शहर भरि धुमधामले खुशियाली मनाउने घोषणा गरे । यसरी राजकुमारीको नाकबाट निस्केर विवाह गरेर आउने राजकुमारको हत्या गर्ने सर्प मारिएको खुशियालीमा मनाइएको जात्रा भएको हुँदा विइ अर्थात नाग वा सर्प तथा सिका अर्थात मरेको खुशियालीमा मनाइने जात्रा भएको हुँदा यसलाई विसिका भनिएको हो । तर पछि अप्रभंश हुँदै बिस्काः भन्ने गरियो । अझ नेपालीकरण हुँदा बिस्केट भन्न थालियो ।
आखिर जे जसरी यस जात्राको ब्याख्या गरिए पनि मातृसत्तात्मकको अन्त्य भइ पितृसत्तात्मकको शुरुवात भएको खुशियालीमा नै यो पर्व मनाइन थालेको भन्ने बुझ्दछौ । साथै यो पर्व मनाउने समय बाह्र राशीको समाप्ती पछि नयाँ युगको शुरुवातको खुशियालीमा पनि मनाएको देखिन्छ । लिच्छवीकालको सातौ शताव्दी तिरबाट यो जात्रा मनाउन थालिएको तथ्यलाई मान्न थाल्यौ भने पनि सो समयमा बैशाख जेठ नामक महिनाहरुको शुरुवात भएको थिएन । एक वर्षमा सूर्यले बाह्र राशी परिक्रमा गर्ने मान्यताको शुरुवात भइसकेको थियो । यसर्थ मेष देखी मीन सम्मको बाह्र राशीको परिक्रमा पछि पून मेष राशीमा अर्थात विषुवत् दिनमा प्रवेश गर्ने हुँदा यो जात्रा मनाउन थालिएको पाउँछौ ।
भैरवलाई बिशेष रुपले भक्तपुरवासीले मान्ने गर्दछन् । भक्तपुरबाट पोखरा आएका नेवा:हरुले पोखरामा पनि बिस्का: मनाउछन् । पोखरामा रहेको गणेश मन्दिरबाट गणेशलाई बजार परिक्रमा गराएर यो जात्रा मनाउने गरिन्छ ।
बिस्काःको शुरुवात बिस्काः शुरु हुनु भन्दा करिव १४-१५ दिन अगाडि तलेजुका पूजारीले शुभ दिन निकालेर भक्तपुर देखी पूर्व (सांगा देखी उत्तर)मा रहेको चित्तपोलको सल्लाघारी वनमा ल्यसिं खोज्नेबाट शुरु हुन्छ । बिशेष गरेर भक्तपुर गोलमढीका मानन्धरहरु पूजाआजा र बाजागाजा सहित ल्य:सिंको लागी उपयुक्त सल्लाको रुख लिन जाने गर्दछन् । उपयुक्त रुख छाट्नको लागी वनमा पुगेपछि पूजा गरेर बोका छोडिन्छ । बोकाले सबैभन्दा पहिले छोएको रुखलाइ नै लिंगोको लागि उपयुक्त मानिन्छ । बोकाले छोएको रुखलाइ पूजा गरेर त्यहि बोकाको बलि दिएर बिधिपुर्वक पूजा गरिन्छ । त्यसपछि रुख काटेर ढालिन्छ । यसरी काटिएको रुखको सबै हाँगा काटिन्छ । रुखको टुप्पामा भएको हाँगा भने काटिदैन । यसलाई देवताको शिर मान्ने गरिन्छ । रुखको उचाइ कम्तिमा ५५ हातको हुनुपर्छ तर सकेसम्म सल्ला नै रोजिन्छ ।
यस लिंगो ठड्याउनेलाई "ल्य:सिं थानेगु" भनिन्छ । वर्षको अन्तिम दिन ल्य:सिं उठाउने हुँदा यस दिन भक्तपुरमा बिशेष रुपले भोज खाएर खुशियाली मनाउने गर्दछन् । साथै नयाँ वर्षको पूर्वसन्ध्या भएको हुँदा पनि बिशेष हुने गर्दछ ।
यो जात्राको नाम नेपालीमा बिस्केट जात्रा भनिए पनि वास्तवमा बिश्वध्वज जात्रा नै हो । यस ५५ हात लामो सल्लाको खाँबोमा जोडी ध्वजा सजाइएको हुन्छ । यो नै विश्वनाथको प्रतिक हो । तसर्थ यो जात्रा विश्वध्वज जात्रा हो भन्नेमा अत्युक्ति नहोला ।
बिस्का जात्रा सामाजिक सद्भावको जात्रा पनि हो । बिभिन्न समाज एकसाथ मिलेर बिस्काः जात्रा मनाउने गर्दछन् । चैत्र महिनाको शुरु तिर नासमना र तेखाचोका शिल्पकारहरु तथा दतात्रेयका मानन्धरहरुले भैरव र भद्रकालीको रथ बनाउन थाल्दछन् । रथमा मोटो मोटो बेतको डोरी बाँध्ने काम पनि मानन्धरहरुले नै गर्न थाल्दछन् । रथलाई रंगरोगन गरेर सजाउने काम चित्रकारहरुले गर्दछन् । ल्योसिंखेलका द्य:लाहरुले नायखिँ बजाउने तथा लिंगो ठड्याउन आबश्यक ब्यबस्था मिलाउने गर्दछन्