08/12/2023
श्री त्रिपुरासुन्दरी भगवती मन्दिर सन्क्षिप्त चिनारी
श्री त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ८ पुजारागाऊमा अवस्थित छ ।माता त्रिपुरासुन्दरी भगवतीको मन्दिर नेपालको सुदुरपश्चिमको एक प्रख्यात मन्दिर हो । सुदूरपश्चिम प्रदेशकै प्रमुख सात देवीहरु मध्ये एक त्रिपुरासुन्दरी मन्दिर जिल्ला सदरमुकाम बैतडीदेखि पश्चिम ४ कि.मी.काे दुरीमा पर्दछ । उक्त मन्दिर देशको सय पर्यटकीय गन्तब्य स्थलको सुचिमा रहेको छ । यो मन्दिर बैतडी जिल्लाको प्रमुख धार्मिक स्थल भएकाले यहाँ नेपाल भरिका साथसाथै छिमेकी देश भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाबाट समेत भक्तजनहरूको घुँइचो हुने गर्दछ । यहाँ दर्शन गरेपछि मनले सोचेको पूरा हुने, सुख शान्ति प्राप्त हुने जन विश्वास रहि आएको छ । त्रिपुरासुन्दरी मन्दिर अदभुत वास्तुकलाको लागि परिचित छ। मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ र रातो रंगको संगमरमरको टाइलले सजाइएको छ। छाना ताम्रपत्रले छाईएकाे छ । रातो रंग देवी दुर्गाको प्रतीक पनि मानिन्छ जुन आदि पराशक्ति, युद्धकी देवी, आशाको प्रतीकको रूपमा समेत चिनिन्छ।उत्तर दक्षिण भएर करिब ३०० मिटर लामो र ३० मिटर जति चौडा भएको चाैरको मध्य भागमा त्रिपुरासुन्दरी मन्दिर अवस्थित रहेको छ। सानोतिनो वन सहितको उक्त मन्दिरको परिसरमा विभिन्न खालका मूर्ति राखिएका छन् भने मन्दिर वरपर भक्तजनहरूले आ-आफ्नो अभिष्ट सिद्धिका लागि घण्टीहरू चढाएको देखिन्छ। मन्दिर प्राङ्गणमा विशाल ऐतिहासिक काठे झुला (हिङलाे) राखिएको छ।
त्रिपुरासुन्दरीको उत्पत्ति प्रादुर्भाव कसरी भयो भन्ने किंवदन्ती अनुसार दक्ष प्रजापतिबाट गरिएको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा देहत्याग गरेपछि भगवान् शिवले उनको शरीर बोकेर उत्तराखण्डका अनेक उच्च पर्वतहरूमा भौंतारिने क्रममा सतीदेवीका अंग पतन हुँदै जान थाले। उनका अंग जहाँ जहाँ पतन भए त्यहीँ त्यहीँ शक्तिपीठ स्थापना हुन थाले। त्रिपुरासुन्दरी मन्दिर भएको ठाउँमा पनि कुनै अंग विशेष पतन भएको मानिन्छ। त्रिपुरासुन्दरीलाई रणसैनी पनि भनिन्छ। पौराणिक कथा अनुसार देवासुर संग्राममा भगवती दुर्गाले देवताहरूको पक्ष लिएकी र उक्त संग्राममा देवता विजयी भएको प्रसङ्ग अनुसार रणमा सैन्यको काम गरेकीले उक्त भगवतीको नाम रणसैन्याबाट अपभ्रंश भई बैतडेली भाषामा ‘रणसैनी’ हुन गएको मानिन्छ।
अर्को जनश्रुति अनुसार त्रिपुरासुन्दरीको उत्पत्तिलाई लिएर ऐतिहासिक कालमा भारतकाे कुमाउँ चम्पावतका क्षत्रिय जातका मौनी हालको त्रिपुरा सुन्दरी मन्दिर वरपर आएर बसोबास गर्न थाले। नयाँ बस्ती भएकोले उक्त जमीनमा आशातीत उब्जाउ नभएका कारण पटक-पटक बाहिरबाट खाद्यान्न आपूर्ति गर्नु पर्दथ्यो। यसै क्रममा सारङ्ग नाम गरेका मौनी अन्नको खोजीमा बैतडीको अर्को क्षेत्र तल्लो सोराड तिर लागे। रोडीदेवल भन्ने गाउँमा पुगी एक रैण्या जौ किनी भारी बोकेर घरतर्फ फर्के। फर्कने क्रममा बाटोमा (अहिले मन्दिर भएको क्षेत्र)दिसा लागेछ।भारी बिसाएर दिसा गरिसकेर पुनः भारी बोक्नै लाग्दा ‘तिमी अशुद्ध छौ, तल नजिकै मालुको झील निर पानी छ, शुद्ध भएर आउ ,भन्ने आकाशवाणी भयाे । त्यहाँ अन्य बेला पानीको निकै समस्या हुने ठाउँमा त्यस दिन भने साँच्चिकै पानी भेटिएछ। मौनी शुद्ध भएर फेरी भारी उठाउन खोज्दा ‘तिमी मलाई यहीँ छाडेर घर जाऊ' गाउँका मुखिया र गाउँले सबै जनालाई यहाँ बोलाएर ल्याऊ, तिम्रो घरमा अन्नका भकारी अन्नले भरी भराऊ छन , गोठमा गाई ब्याएको छ ' भनेर फेरि अर्को आकाशवाणी भयो । यति टाढा बाट बोकेर ल्याएको अन्न घर नजिक पुगेको अवस्थामा छोडेर जानु पर्दा साह्रै निरास भएर रित्तो हात घर पुगे। रित्तै घर आएको देख्दा उनकी पत्नी ले किन रित्तो हात आउनु भएको भनि प्रश्न गर्दा , गोठमा गएर हेर त भनि श्रीमतीलाई भनेर आफु भित्र अनाज राख्ने भकारी हेर्न जाँदा भकारी अनाजले भरिएको र गोठमा बाँझो गाई ब्याएको देख्दा खुसीको सिमा नै रहेन। सो घटना बारे गाउँका मुखिया सहित सबै जनालाई सविस्तार सुनाए र भारी छोडेको ठाउँ तिर जाऊँ भन्दा गाउँलेले कुनै प्रेतात्मा हुनसक्ने ठानेर वास्तै गरेनन् । मौनी पुनः आफुले भारी छोडेर गएको स्थानमा गएर कोई पनि आउन मानेनन समेत भन्न नपाउँदै भारीवाट ‘तिमी एक पटक फेरि पनि मुखिया र गाउँलेलाई सम्झाऊ, त्यसपछि पनि नआएमा म उसलाई दण्ड दिन्छु।’ भनेर आकाशवाणी भयो । तर पनि मुखिया गाउँले कोई गएनन् र सजाय स्वरूप मुखियाका २२ वटा भैंसी र एक राँगो नजिकैको भिरबाट लडेर मरे । त्यस्तो दुर्दशा भोगेपछि भने मुखिया र गाउँले हस्याङफस्याङ गर्दै क्षमा माग्न भारी बिसाएको ठाउँमा गइ जौ को भारी समक्ष क्षमा मागे । मौनीले बोकेर ल्याएको जौको भारी खोलेर हेर्दा त्यसमा भगवतीको मूर्ति भेटियो । बैतडेली भाषामा पाँच पाथीको परिमाणलाई रैण्या भनिन्छ भने पाँच पाथी जौको भारीमा लुकेर अर्थात् सुतेर आएकीले त्रिपुरासुन्दरीको नाम रैणसयनी वा रणसैनी रहन गएको हो भन्ने जन विश्वास छ। जौ को भारी शिलामा परिणत भएको स्थानमा मन्दिर निर्माण गरिएको छ भने भगवतीको वास्तविक मूर्ति भण्डारमा (भणारमा) राखिन्छ।
भगवती माताको पूजा आराधना कसरी प्रारम्भ हुन थाल्यो भन्ने लोकश्रुती अनुसार उक्त घटनाको केहि समय पश्चात डोटी विसाड घर भएका सुर्य भट्ट नाम गरेका एक जना निःसन्तान उमेर पुगेका (६० कटेका) ब्राम्हण दम्पती बैतडीको बाटो भएर काशी बनारस जाने क्रममा उक्त मन्दिर नजिकै चौराहा भन्ने ठाउँमा विश्राम गर्दा स्थानीय गाउँलेहरू संग भलाकुसारी हुँदा पुजारी ब्राह्मण भएको थाहा पाएर भगवतीको पूजा गरी दिन आग्रह गरे। धेरै आग्रह गर्दा समेत ब्राह्मण दम्पतीले वास्ता नगरी अगाडि बढ्न खोज्दा ति ब्राह्मणको आंखा बन्द भई केही नदेख्ने भए । पछाडि फर्केर हेर्दा आंखा देख्ने अगाडि हेर्दा आंखा बन्द हुने भई रहँदा भगवती ले मलाई रोकेकै हो भनेर बाध्य भै भगवतीको नित्य पूजा गर्न थाले ।
त्रिपुरा सुन्दरी माताकाे सेवामा लामो समय बिताए पछि ती ब्राह्मण ले माँ भगवती संग आफ्नो कुनै सन्तान नभएकोले बुढेसकालमा कसरी गुजारा गर्ने भनेर आराधना गर्दा माताकै आज्ञामा आठबिसे गाउँकी गुरु थरकी क्षत्रिय कन्यासँग विवाह भयो। उनीवाट जन्मिएका सन्तान (हालका पुजारा थापा)क्षेत्री भएकाले पूजारीका रूपमा काम गर्न नसक्ने भएकाले मन्दिरको पूजा सम्बन्धि सबै अधिकार पुजारा, थापा जातीलाई दिईएको छ।हाल द न पा ५ आईतका लेखक, पल्लाचौडालीका लेखक र नौहाटका भट्ट पुजारी रहेका छन्।
माँ रणशैनीको मन्दिरमा हरेक महिनाको संक्रान्ति, पूर्णिमा, औसी, नवरात्रि, असार शुक्ल अष्टमी र नवमी तथा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन देशभित्र र बाहिरबाट हजारौं भक्तजनहरु आफ्नो मनोकामना पूरा गर्ने ठूलो आशा लिएर देवी भगवतीको पूजा-आराधना गर्ने गर्दछन् । आषाढ र कार्तिक शुक्ल अष्टमी र नवमीमा भगवतीको पूजा गरी ठूलो पर्वको रुपमा क्रमश आषाढी र कार्तिक जात (जात्रा) मनाइन्छ ।यस अवसरमा भगवती मातालाई प्रसन्न पार्न सयौं राँगा र बोकाको बलि चढाइन्छ। भक्तजनहरुले यस मन्दिरमा आषाढको मेला, आश्विन र चैत्र नवरात्री मेला, र कार्तिक जात्रामा बढी भ्रमण गर्दछन् । मन्दिरको खास विशेषता भनेको मन्दिरको गर्भगृहमा रहेको सिहंवाहिनी त्रिपुरासुन्दरी माताको शिलामुर्ति हो ।
त्रिपुरासुन्दरी मन्दिर स्थित गाउँको नाम पुजारागाउँ हो । यो गाउँमा पुजारा, थापा बस्दछन्। मन्दिरको अन्य व्यवस्थापनका लागि स्थानीय बासिन्दा 'चारराठ’ भनेर रहेका छन ।चार राठमा-चन्द, मौनी, गुरु मार्कण्ड र बोहरा जातिहरु पर्दछन् । यो मन्दिर देशको सय पर्यटकीय गन्तब्य स्थलको सुचिमा रहेकाे छ।
🙏🙏🙏🌷🌹जय माँ रणशैनी 🌷🌹🙏🙏🙏