11/08/2022
बर्षातमा भिक्षु तथा श्रामणेरहरू अध्ययन, ध्यान र साधनामा एक स्थानमा तिन महिनासम्म बस्नुपर्ने नियम नै बर्षावास हो। भोलि तिब्बती छैठौ महिनाको १५ गते पूर्णिमा हो, अर्थात् १२ August बर्षावासको लागि केही पद्दति सम्पन्न हुनेछ र पर्सी १३ August को बिहान ४ बाजे बर्षावास ग्रहण गर्ने छौ। यो फुग्पेको पात्रो अनुसार तिब्बत, चीन, मङ्गोलिया, भूटान, नेपाल आदि हिमाली बौद्धले मान्दै आएको बुद्ध धर्मको विशेष तिथि मध्ये एक हो। हिमाली बौद्धले श्रावकयान सर्बस्थीवादीको अटुट परम्परा अनुसार बर्षावास ग्रहण गर्दै आएको जानकारी गराउँदछु।
१) बौद्ध भिक्षुसंघमा बर्षवासको सुरुवात कसरी भयो?
२) बुद्धले यसबारे के भन्नु भयो?
३) भिक्षु, भिक्षुनीले किन बर्षवास ग्रहण गर्नु अवश्यक छ या बर्षवासको प्रयोजन (फाइदा) के हो?
४) भिक्षु, भिक्षुनी बर्षवास नबसे कस्ता कस्ता आदीनव (ཉེས་དམིགས) या त्रुटिहरू भोग्नु पर्छ?
बर्षावास(དབྱར་གནས)को सुरुवात कसरी भयो?
बुद्ध समाकालिनमा बर्षातमा जैन र वैदिक श्रामणेरहरू बर्षावास बस्दथे। (अहिले जैन र वैदिक परम्परामा बर्षावास बस्ने परम्परा छ छैन जान्दिन।) तर त्यो बेला भिक्षुसंघमा त्यो नियम बनाएको थिएन र भिक्षुहरू भिक्षाटनको लागि बाहिर जान्थे। त्यो देखेर विधर्मीले भिक्षुहरूलाई कट्टु वचन बोले,- "यो समयमा तिन महिनासम्म चातक पन्क्षी (བྱ་ཁུག་རྟ། त्यो बेलाको एक प्रकारको चराको प्रजाति जसबारे विनय पिटकमा उल्लेख गरिएको छ ) पनि आफ्नो गुँडबाट बाहिर निस्किदैन तर शाक्यमूनिको श्रामणेरहरू हेर! चातक चरा भन्दा नि तल्लो स्तरको रहेछन्। " भनेर आलोचना गरे। त्यसरी आलोचना गर्नुको कारण वर्षायाममा धेरै किरा फट्याङ्ग्राहरु जन्मिने र त्यही बेला खेतीपाती बढी उब्जाउ गर्ने गर्ने हुँदा केही भिक्षुहरू भिक्षाटन जाँदा हिँडेर खेतबारीका बाली नाली कुल्चिने र बिक्रिन्थे। त्यो देखेर किसानहरूले गाली गर्नु स्वभाविक थियो र अबौद्ध गुरुहरु कहाँ गुणासो पोखाउन जान्थे। ति अबौद्ध विधर्मीले चरा चातकलाई उदाहरण राखेर कट्टु वचन बोलेपछि भिक्षुहरूले त्यस्तो कट्टु वचन सुन्नु परेको कहानी बुद्धलाई सुनाए,- "हे! तथागत, भिक्षुलाई बर्षबास छैन?"
त्यसपछि बुद्धले छ भनेर उपदेश दिनुभयो।
बर्षवास बारे बुद्धले के बताउनुभयो?
"बर्षवास ग्रहण गर्नुहोस्। तिन महिना सम्म हो। १६ औं दिनमा हो। बर्षवास दोस्रो महिनाको पूर्णिमाको भोलिपल्ट दिनमा हो। बर्षवास अन्तिम महिनाको पूर्णिमाको भोलिपल्ट हो। देखि.......... बर्षावासको भूमि समाप्त भयो" सम्मको खण्ड।
"དབྱར་གནས་པར་ཁས་བླང་བར་བྱའོ། ཟླ་བ་གསུམ་དུའོ། ཚེས་བཅུ་དྲུག་ལའོ། དབྱར་ཟླ་འབྲིང་པོ་ཉའི་ཕྱི་དེ་ཉིན་པར་གྱིའོ། དབྱར་ཟླ་ཐ་ཆུང་ཉའི་འོ། ཞེས་པ་ནས.......... དབྱར་གྱི་གཞི་རྫོགས་སོ།" ཞེས་པིའི་བར་གྱི་ལེའུ།
यो बुद्ध वचन 'विनयबस्तु सुत्र' (འདུལ་བ་ལུང་གཞི།)मा उल्लेख गरिएको छ। सिधा हेर्दा बुझ्न गार्हो देखिन्छ।
यसमा भन्न खोजेको भिक्षु, भिक्षुनीलाई बर्षायाममा बर्षावास बस्न आग्रह गर्नुभएको हो। कति महिना बस्ने? भन्द, तिन महिना। कहिले देखि भन्द, १६ औं दिन देखि।( किनकि त्यो बेला १५ औं दिनमा सधैं पुर्णिमा पर्दथ्यो। चन्द्रमाको आकारलाई हेरेर रात र सुर्यलाई हेरेर दिनको गणना गर्दथे भनेर विनय पिटकमा त्यो बेला भारत नेपालमा प्रचलित चन्द्र पात्रो, सुर्य पात्रो र राशिफलको आधार नै दिन, महिना, बर्ष गणना गर्ने मध्यम थियो भनेर उल्लेख गरिएको छ। ) पहिलो बर्षवास बस्न नभ्याएकाहरूले तिन महिना भित्रको दोस्रो महिनामा १६ औं दिन देखि बस्नुपर्छ।
बर्षवास ग्रहण गर्नुको प्रयोजन (फाइदा) के हो?
१) बर्षायाममा तिन महिना एक स्थानमा बस्ने हुँदा कुल्चेर कीराहरू नमर्ने भएकोले कीरा-फट्याङ्ग्रालाई हानि नहुने।
२) भिक्षाटनको लागि खेत बालीनाली हिड्न नपरेकाले किसानले भिक्षु प्रति अश्रद्धा पैदा नहुने।
३) भिक्षु स्वयं बाढी पहिरोले बगाएर या पुरेर मृत्यु, घाइते हुनबाट बच्छन्।
४) भिक्षाटनको लागि बाहिर जानु नपर्ने हुँदा कामकाज न्यून हुने।
५) तिन महिना एकै ठाउँमा बस्नुपर्ने हुँदा अध्ययन, श्रावण गरि श्रुतिमयी प्रज्ञा, चिन्तामयी प्रज्ञा र भावनामयी प्रज्ञाको बृद्धिमा सहायता पुग्ने।
६) बर्षावासमा धेरै भिक्षुहरु एक स्थानमा बेला हुने हुँदा बिग्रिएको स्थाल, निवास, विहारको मर्मत हुने।
७) बर्षावास बसेकाहरू तिन महिना पछि गायी (छुट्टी) मनाउनु पाउने र केही नियमहरू छुट छ भनेर बुद्धले बताउनुभएको छ। तर भिक्षु आनन्दले गायी भित्र के के छुट छन्? भनि बुद्धलाई नसोधेकाले यो यो छुट भनेर कुनै निश्चित नियम छैन। त्यही भएर गुम्बा, विहारले एक , दुई नियम छुट दिन्छ तर भिक्षु शिल भित्रको नियम होइन। गुम्बा आ आफ्नो नियममा ५/७ दिनको छुट्टीमा छुट दिने गरेको पाइन्छ।
८) बर्षावास सकेर, बर्षावास बसेका भिक्षु भिक्षुनीले तिन महिना सम्म जता गाए पनि साथमा छ्योकु, नम्जे (पहेंलो वस्त्र) बोक्नु नपर्ने या तिन महिना सम्म छुट। अरु बेला भिक्षुले सधैं कुनै स्थानमा एक रात भन्दा बढीको लागि जाँदै छ भने छ्योकु, नम्जे साथमा बोकेर हिड्नु पर्ने भिक्षु नियम हुन्छ।
यि ८ फाइदाहरू बताए पनि विशेष बर्षावास बस्नुको मूल प्रयोजन निर्वाण तथा सम्बोधीको लागि हो। त्यसैले बर्षावास बस्नुहुने भिक्षुलाई भोजन दान गर्नुहुने उपासक, उपासिका या दानदाताले केही गरि निर्वाण तथा सम्बोधी प्राप्तिको आशय मनमा नलिइकन भोजन दान गरेको हो भने पनि ति भोजन दानदाताका पुन्य निर्वाण तथा सम्बोधी प्राप्तिको हेतु बन्नेछ भनेर ग्रन्थहरुमा उल्लेख गरिएको छ।
भिक्षुले बर्षवास नबसे क-कस्ता आदीनव (ཉེས་དམིགས) या त्रुटिहरू आइपर्छ?
माथिल्लो ८ फाइदाको विपरीत ८ बेफाइदाहरु हुन्छ। साथै बुद्धले भिक्षु, भिक्षुनीलाई बर्षाबास बस्न आग्रह गरेकाले नबसे बुद्धको विनय आचरण विपरीत भएकोले त्यसको फल भोग्नु पर्छ। साथै तिन महिना भिक्षाटनको लागि निषेध गरेको र बर्षाबास नबसेकाहरूले बिहार, गुम्बाको भोजन उपभोग गर्न मिल्दैन। किनकि भोजन दान दातालाई उसको गिन्ती पठाएको हुँदैन। त्यसैले कतिपय भिक्षुले केही हुँदैन, म पनि गुम्बाको भिक्षु हो भनेर अनजान बस उपभोग गरेको खण्डमा कोर बन्ने छ। कोरलाई बाहिरी उदाहरणबाट बुझाउन आँगोको डल्लो या लाभा खानु बराबर हो भनेर बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ, जुन खाँदा पनि दुख, खाए पछि पनि पेट भित्र जलाउने हुँदा पिडा। मृत्यु पछि नरक या प्रेतलोकमा जन्मिने छ। कोर भनेको प्रतक्ष्य नदेखे पनि विपाक यही जन्ममा या पछिको जन्ममा देखा पर्छ। त्यही भएर स्मरण रहोस् भनेर गुम्बाका खाम्बाहरूमा मुखबाट आँगो निस्किएको मानिसको टाउकोको बुट्टा कोरेको हुन्छ।
बर्षवासमा भिक्षु, भिक्षुनीलाई खाना र बस्ने स्थानको व्यवस्था: बौद्ध धर्मका श्राद्धवान ब्यक्ति वा उपासक, उपासिकालाई अनुरोध गरेर खानाको ब्यबस्था गरिन्छ। जुन बर्षाबास सुरु हुनु अघि नै ब्यबस्थित गरिन्छ। बर्षावासबारे विस्तृत जानकारीको लागि मूल विनयसुत्र र त्यसका टिका, भाष्याहरू (तिब्बती भाषामा प्रसस्त पाइन्छ।) उपलब्ध छन्। भाष्याकार अलग अलग भए पनि मूल विषयवस्तु एउटै हो। त्यसमा हेर्नुहोला। सम्पुर्ण श्रामणेर तथा भिक्षुहरूलाई बर्षावासको सुभ-कामना। सर्व मंगलम् 🙏🙏🙏