14/04/2026
गोर्खा परिवारको खुसीमा हामी पनि खुसी छौं
हालै घोषित माध्यमिक (HSLC) परीक्षामा हाम्रा होनहार विद्यार्थी भाइबहिनीहरूले प्राप्त गरेको शानदार सफलताले सिङ्गो गोर्खा समाजलाई गौरवान्वित तुल्याएको छ। विद्यार्थीहरूको यो खुसी साटासाट गर्न र उनीहरूको भविष्यको शैक्षिक यात्राका लागि हौसला प्रदान गर्न अखिल असम गोर्खा छात्र संघ (आग्सु), ढेकियाजुली आञ्चलिक समितिको पहलमा गत 11 अप्रिलदेखि नै विभिन्न शाखाहरूमा अभिनन्दन कार्यक्रम निरन्तर जारी रहेको छ। यसै क्रममा ढेकियाजुली गाउँ शाखा र गोवालपारा शाखा पश्चात हिजो भोटपारा शाखा, १ नं. सूर्यपुर शाखा र २ नं. सूर्यपुर शाखामा परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूको घर-घरमा पुगी अभिनन्दन गरियो।
भोटपारा शाखामा आग्सु अभिभावक एवं पूर्व आञ्चलिक सभापति गोपाल नेवारज्यूले आञ्चलिक समितिको तर्फबाट विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभयो। त्यसैगरी, १ नं. सूर्यपुर शाखामा स्थानीय नागरिक समाजले सामूहिक रूपमा सफल विद्यार्थीहरूलाई अभिनन्दन गरेको क्षणमा गोर्खा छात्र संघका पूर्व उपसभापति रमेश सुब्बा ज्यूले आग्सु ढेकियाजुलीको तर्फबाट प्रतिनिधित्व गर्दै विद्यार्थीहरूलाई शुभकामना टक्र्याउनुभयो। साथै २ नं. सूर्यपुर शाखामा आञ्चलिक समितिका अभिभावक नेत्र बहादुर जोगी ज्यूले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै सम्मान व्यक्त गर्नुभयो।
यस अभिनन्दन यात्रामा शोणितपुर जिल्ला आग्सु कार्यनिर्वाहक सदस्य रजत भारद्वाज पनि सहभागी हुनु हुन्थो भने उहाँका साथमा आग्सु ढेकियाजुली आञ्चलिक समितिका उपसभापतिद्वय रुद्र छेत्री र अभिषेक खर्का, सह-सचिव गौरव बस्नेत, सांगठनिक सचिव बिपुल बस्नेत, सह-सांस्कृतिक सचिव सोहन खनाल तथा कार्यक्रमका मूल संयोजक एवं शिक्षा सचिव प्राञ्जल निरौलाले विभिन्न शाखाहरूमा पुगी पदाधिकारी तथा अभिभावकहरूसँग भेटघाट गरी खुसी साटासाट गर्नुभयो।
आफ्ना सन्तानको सफलतामा हर्षित बनेका अभिभावकहरूसँगै यो खुशी बाँड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। आगामी दिनमा हाम्रो समाजका विद्यार्थीहरूको फलाफल अझ उत्कृष्ट हुँदै जाओस् भन्ने हामी आशा र कामना गर्दछौं। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण शाखा पदाधिकारी, अभिभावक र स्थानीय महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछौं।
जय गोर्खा, जय आग्सु!
प्राञ्जल खर्का
प्रचार सचिव ,ढेकियाजुली आञ्चलिक समिति, आग्सु।