05/10/2025
यही मिती 17 mai 2025 शनिबारको दिन बुद्धिस् समाज क्युबेकको आयोजनामा शान्तिका अग्रदुत भगवान शाक्य मुनि बुद्धको जन्म जयन्तिको अवसरमा भगवान गौतम बुद्धको जन्म, सत्य, शान्ति, करुणा र अहिंसाको मार्ग देखाउने दिव्य व्यक्तित्वको सम्झनामा २५६८औँ बुद्ध जयन्ती (बुद्ध पूर्णिमा) विशेष कार्यक्रम आयोजना गरिने भएको छ।कार्यक्रमले भगवान बुद्धका जीवन दर्शन र शिक्षाको सम्मान गर्ने उद्देश्य लिएको छ। कार्यक्रममा ध्यान साधना, बुद्ध वाणी वाचन, सांस्कृतिक प्रस्तुतिहरू, पूजापाठ र शान्तिको सन्देश समर्पण जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएका छन्।
धर्म प्रवचन सत्रमा बुद्धका अमूल्य शिक्षाहरू — चतुर्सत्य, अष्टाङ्गिक मार्ग, करुणा र सहिष्णुताको महत्त्वमाथि विशेष चर्चा गरिनेछ।आयोजकहरूका अनुसार कार्यक्रम सबैका लागि खुला रहनेछ र नेपालीभाषी समुदाय मात्र नभई सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा शान्ति प्रेमी व्यक्तिहरूलाई हार्दिक स्वागत गरिनेछ।
बुद्ध जयन्ती विश्वभरि मनाइने एक महान् धार्मिक तथा सांस्कृतिक पर्व हो, जसले मानिसहरूमा सहिष्णुता, प्रेम र अहिंसाको भावना जागृत गराउने गर्दछ। आजको प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैली बीच भगवान बुद्धका शिक्षाहरू अझ बढी सान्दर्भिक भएका छन्। आयोजकहरूले भगवान बुद्धको शिक्षा र आदर्शलाई व्यवहारमा उतार्दै व्यक्तिगत जीवन र सामाजिक सम्बन्धमा शान्ति र सद्भाव कायम राख्न सबैमा आह्वान गरेका छन्।
कार्यक्रममा विशिष्ट अतिथि, धार्मिक गुरुहरू, समुदायका अगुवा व्यक्तित्वहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले उपस्थित सबैलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी भइ भगवान बुद्धको शिक्षाबाट प्रेरणा लिनु हुन आग्रह गरेका छन्।