24/07/2026
#आज हरिशयनी एकादशी! साथमा चातुर्मास व्रतारम्भ र एकादशी महात्म्य। ॐ नमो भगवते वासुदेवाय! #तुलसी रोपणम् को शुभ समय ७:३५ देखि ८:३५ ए एम.। तथापि शुद्ध भएर पूर्वान्हको समयमा रोप्न सकिने।
#तुलसीका बिरुवा रोप्ने दिन अर्थात् हरिशयनी एकादशीको शुभकामना! #आज यो वर्षको चातुर्मास व्रत आरम्भको दिन। सकेसम्म एक महिना अघि आफैले जमाइ उमारेर र नसके धेरै भएका ठाउबाट मागेर पनि रोप्नु राम्रो।@२०८३/४/९।
आषाढशुक्ल एकादशीकाे महात्म्य:-
#आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी वा ठुलीएकादशी पनि भनिन्छ।
आषाढशुक्ल एकादशीकाे महात्म्यका विषयमा युधिष्ठिरले श्रीकृष्णसँग साेधेका प्रश्नको उत्तरमा कृष्णजीले बताउनुभएको एकादशीको महात्म्य यसप्रकार छ।-
श्रीकृष्ण भन्नुहुन्छ -हे राजन् ! यस एकादशीका विषयमा ब्रह्माण्ड पुराणमा वर्णित एउटा उपाख्यान छ- आषाढशुक्ल एकादशीकाे नाम पद्मा हाे। यसैलाई हरिशयनी एकादशी पनि भनिन्छ। यसकाे ठुलाे माहात्म्य छ। अघि मान्धाता राजा धर्मपूर्वक राज्य गर्दथे । उनका राज्यमा सबै जना सुखी थिए । कुनै समयमा उनका राज्यमा दैववश तीन वर्षसम्म पानी नपरेकाेले अन्नबाली नफलेर अनिकाल भयाे। राजा चिन्तित भएर यसकाे उपाय विचार गर्दै सेनाका साथ जङ्गलमा गए। ऋषि मुनिहरूका आश्रममा घुम्दै जाँदा अङ्गिरा मुनिलाई भेटेर उनलाई प्रणाम गरी पानी नपर्नाले राज्यमा अनिकाल परेकाे कुरा बताए। मुनिले भने तपस्या गर्न अधिकार नभएका व्यक्तिले तपस्या गरिरहेछ , त्यस कारण पानी नपरेकाे हाे। त्यसैले अकर्तव्य गर्ने व्यक्तिलाई मार्ने उपाय गर , त्यसबाट दाेष नाश भई पानी पर्नेछ र अनिकाल दूर हुनेछ, भने। राजाले भने प्रभु ती तपस्वी निरपराध छन् , तिनलाई म मार्दिन। बरु अर्काे कुनै उपाय छ भने बताइ दिनुहनेस् ,भने। राजाकाे कुरा सुनेर मुनिले भने -- हे राजन् यदि त्यसलाई नमार्ने हाे भने आषाढ शुक्लपक्षकाे पद्मा नामकाे एकादशीकाे व्रत गर्नाले सुवृष्टि भई अन्नादि उत्पादन हुनेछ , भने। मुनिकाे उपदेश अनुसार राजाले चारैवर्णका प्रजाका साथमा पद्मा एकादशीकाे व्रत गरे । त्यस व्रतका पुण्यका प्रभावले भगवान् हृषीकेश प्रसन्न भई सुवृष्टि भयाे र अन्नादिकाे उत्पादन भएर सम्पूर्ण प्रजामा सुख आनन्दकाे वर्षा भएकाे थियाे । त्यसैले पद्मा वा हरिशयनी एकादशीकाे ठुलाे माहात्म्य रहेछ भन्ने कुरा सिद्ध भयो।
भविष्य पुराणमा पनि हरिशयनी एकादशीकाे माहात्म्य वर्णन गरिएको छ --
यस एकादशीमा विष्णुशयन व्रत गर्नुपर्दछ। एक महिना अघि ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशीका दिन तुलसीको बिउ राख्नु पर्दछ र बिउ राखिएकी तुलसीलाई आषाढ शुक्ल एकादशीका दिन मठमा राेप्ने काम गर्नुपर्दछ , प्रत्येकदिन तुलसीमा जल अर्पण गरी विभिन्न पूजा सामग्री द्वारा तुलसीकाे पूजा गर्नुपर्दछ।चतुर्मासकाे व्रत आरम्भ पनि यसै दिनदेखि गर्नु पर्दछ।
याे व्रत गर्दा भगवान् विष्णुकाे शङ्ख, चक्र, गदा र पद्म हातमा लिएकाे पीताम्बर धारण गरेकाे प्रतिमा बनाएर सुन्दर सफा शुक्लवर्णकाे पलङमा ओढ्ने ओछ्याउने सिराने झूल आदि सम्पूर्ण शय्याकालागि सामग्री सहित शय्या तयार गरी पूजा स्थानमा कलश स्थापना गरेर स्थालीमा नारायणको प्रतिमा राखी पञ्चामृतले स्नान गराई शुद्ध जलले र गङ्गाजलले समेत स्नान गराएर पीताम्बर ,जनै श्रीखण्ड चन्दन कस्तूरी आदि सुगन्धित द्रव्य अनुलेपन गराई पूजाका सामग्रीद्वारा पूजा गरी धूपदीप नैवेद्यादि समर्पण गरेर तुलसी पत्र एवं मञ्जरी सहित विभिन्न सुगन्धित पुष्पहरू अर्पण गरेर मन्त्रसहित पूजा गर्नुपर्दछ र यस मन्त्रले प्रार्थना गर्नुपर्दछ-- ´´सुप्ते त्वयि जगन्नाथे जगत्सुप्तं चराचरम्। विबुद्धे त्वयि बुध्येत जगत्सर्वं चराचरम्।।``(भविष्यपु•।)
हे भगवान् हजुर सुत्नु भएपछि सम्पूर्ण जगत् सुत्त छ , भने हजुर उठेपछि जगत् जागा हुन्छ। यसरी पूजा गरी भगवान्काे प्रतिमालाई शय्यामा शयन गराउनु पर्दछ। र भगवान्का अगाडि दुबैहात जाेडेर यस मन्त्रले प्रार्थना गर्नुपर्दछ --´´ चतुराे वर्षिकान् मासान् देवस्याेत्थापनावधि। ग्रहीष्ये नियमाञ्छुद्धान् निर्विघ्नान् कुरु मे प्रभाे ! ``।। हजुर ४ महिना सम्म शयन गर्नुहुन्छ , चार महिना पछि हजुरकाे बिउँझिने अवधि हाे ।यस अवधिमा म यथा शक्ति नियम पालन गरी व्रत बसेर हजुरकाे आराधना गर्दछु। मेराे व्रत निर्विघ्न पूर्ण हवाेस् , भनी प्रार्थना गर्नुपर्दछ। यसरी भगवान्लाई चार महिना सम्म शयन गराएर चार महिनाभरि विभिन्न नियमहरूकाे पालना गर्नुपर्दछ। नियमहरू यसप्रकार छन्-
´´श्रावणे वर्जयेच्छाकं दधि भाद्रपदे तथा। दुग्धमाश्वयुजे मासि कार्तिके द्विदलं त्यजेत् ।। कूष्माण्डान् राजमाषांश्च मूलकं गृञ्जनं तथा । करमर्दं चेक्षुदण्डं चातुर्मास्ये त्यजेन्नरः।। मसूरं बहुबीजं च वृन्ताकं चैव वर्जयेत्।। `` इत्यदि। भविष्यपु•
श्रावणमा सागपात खानु हुदैन , भाद्रमा दही ,असौजमा दूध र कार्तिकमा दाल खानु हँदैन। त्यस्तै कुभिण्डाे , राजमा , मूला , गाँजर , ।
ऊखु , मसुराे , बहुबीज अर्थात् धेरै बीज हुने बिमिराे आदि ,भाण्टा , बयर , अमला , लौका , तित्री आदि पदार्थकाे सेवन गर्नु हुँदैन। अनि चतुर्मासकाे व्रत गर्दा यथाशक्ति दानहरू पनि गर्नुपर्दछ। जस्तै अन्नदान , वस्त्रदान , गाेदान तिलपात्र दान, भूमिदान , सुवर्णदान , ताम्रपात्र दान घण्टादान आदि गरेर कार्तिक शुक्लद्वादशीमा उद्यापन कर्म समाप्त गरी भगवान्लाई सुताइएकाे प्रतिमा सहित शय्यादान समेत गर्नुपर्दछ। सक्नेले अर्काे शय्या बनाएर दान गर्दा पनि हुन्छ। कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमीमा कुभिण्डाे दान गर्नुपर्छ। चतुर्मासमा भगवान्लाई दैनिक हजार बत्तीेले नीराजन गरेर लक्षदीप दान गर्नु पनि पुण्यदायक हुन्छ। कार्तिक महिनाभर आकाश दीपदान पनि गर्नु पर्दछ। यसरी व्रत गरी
कार्तिक शुक्ल द्वादशीका दिन प्रबाेधाेत्सव गरेर चातुर्मास्य व्रतकाे उद्यापन गर्नु पर्दछ। तुलसीका समीपमा यज्ञवेदी बनाएर अग्निस्थापना गरी हवन, तर्पण मार्जन र ब्राह्मण भाेजन आदि गराई व्रत समाप्ति गर्नुपर्दछ। यसरी चातुर्मासकाे व्रत गर्दा भगवान् नारायण प्रसन्न भई यस लाेकमा सुख सौभाग्य ऐश्वर्य प्राप्त भई परलाेकमा माेक्ष समेत प्राप्त हुन्छ। त्यसैले हामी पनि हरिशयनी एकादशीकाे यथाशक्ति व्रत गरी चातुर्मास व्रत गरौँ , हाम्राे पनि कल्याण हुन्छ। ॐ हरये नमः।।