16/04/2026
नयाँ वर्ष सधैं नयाँ उमंग, नयाँ आशा र नयाँ ऊर्जा लिएर आउने गर्छ।
यस वर्षको आगमनसँगै हामी सबैमा नयाँ सोच, नयाँ जोश र केही सकारात्मक गर्ने प्रेरणा जागृत भएको छ।
लामो समयदेखि अष्ट्रेलियामा छरिएर बसिरहेका हामी नेपालीहरूलाई पनि यस नयाँ वर्षले एकजुट भई केही अर्थपूर्ण कार्य गरौं भन्ने भावना पैदा गरायो। सोही उद्देश्यका साथ हामीले सनातन समाज अष्ट्रेलिया मार्फत नयाँ ढंगले नयाँ वर्ष मनाउने निर्णय गर्यौं।
यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका सनातन समाजका सम्पूर्ण साथीहरूलाई म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु।
हाम्रो प्रयासलाई भव्य रूपमा सफल बनाइदिनु भएको सम्पूर्ण उपस्थित महानुभावहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
साथै, विभिन्न राजनैतिक अतिथिहरू, मन्त्रीज्यूहरू, MLA हरू, राजदूतावास, NRNA लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूलाई आफ्नो गरिमामय उपस्थितिको लागि विशेष धन्यवाद व्यक्त गर्दछु।
क्यानबेरामा स्थापित विभिन्न संघसंस्था तथा अग्रजहरूबाट प्राप्त हौसला र समर्थनका लागि हामी सदैव आभारी छौं।
लेनक्स गार्डेनमा आयोजित कार्यक्रममा नयाँ पुस्ताको उल्लेखनीय सहभागिता देख्दा हाम्रो संस्कृति र परम्पराको पुस्तान्तरणप्रति अझै विश्वास बलियो भएको छ। नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक देश भएकाले हाम्रो कार्यक्रममा पनि ‘अनेकतामा एकता’ को झल्को दिने प्रयास गरिएको थियो।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा पशुपतिनाथ मन्दिर स्थापना गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको हाम्रो सनातन समाजले मन्दिर निर्माणको लागि विश्वासिलो आधार तयार पारिसकेको हाम्रो विश्वास छ।
यस संस्थाको उद्देश्य मन्दिर निर्माणमा मात्र सीमित नभई नेपाली उद्यमीहरूलाई प्रवर्द्धन गर्ने र कलाकारहरूलाई प्रोत्साहन गर्ने पनि हो। हिजोको कार्यक्रममा सहभागी सम्पूर्ण उद्यमी तथा कलाकारहरू प्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यसरी नयाँ वर्ष मनाउन थालेको आज पाँच वर्ष पूरा भएको छ। यस यात्रामा अहिलेसम्म साथ, सहयोग र समर्थन गर्नु हुने सम्पूर्ण हातहरूलाई म हृदयदेखि नमन गर्न चाहन्छु।
अन्त्यमा, हाम्रो कार्यक्रम सफल भए तापनि केही कमीकमजोरीहरू अवश्य पनि रहेका हुन सक्छन्। यदि तपाईँहरूले सुधार गर्नुपर्ने कुनै पक्ष देख्नुभएको छ भने कृपया हामीलाई जानकारी गराउनुहोस्। हामी आगामी दिनहरूमा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
नववर्ष २०८३ को हार्दिक शुभकामना! 🙏🏾
Santosh Malla
President
Sanatan samaj Australia