10/10/2022
मुक्ति
मुक्ति बाइबलको प्रमुख बिषय हो । तर मुक्तिको सम्बन्धमा ख्रीष्टियन अगुवाहरुको बिचमा मतान्तर देखिन्छ । एकथरी अगुवाहरु प्रभु येशू ख्रीष्टमा बिश्वास गरिसकेपछि मुक्ति सम्पन्न भयो, हामी स्वर्गीय स्थानहरुमा राज गरिरहेका छौं, भन्छन भने अर्कोथरीचाहिँ प्रभु येशू ख्रीष्टमा बिश्वास गरिसकेपछि हामी मुक्तिको यात्रामा छौं भन्छन । जसले मुक्ति सम्पन्न भईसक्यो भन्छन, तिनीहरुले मुक्ति गुम्दैन भनी दावी गर्छन भने मुक्तिको यात्रामा हुनेहरुले मुक्ति गुम्न सक्छ भन्छन । मुक्ति गुम्दैन भन्नेहरुले परमेश्वरको चुनाव नै मुक्तिको मुख्य आधार ठान्छन भने मुक्ति गुम्छ भन्नेहरुले मुक्तिको निम्ति मानिसहरुको बिश्वासको पनि भुमिका रहन्छ भन्छन । वास्तवमा मुक्ति के हो ? आज हामी यसको निरिक्योल गर्नेछौं ।
प्रभु येशूमा बिश्वास नगरी मुक्ति सम्भव छैन किनकि उहाँ नै मुक्तिदाता हुनुहुन्छ । धेरैको बुझाईमा मुक्ति, उद्धार र छुटकारा समानर्थक शब्द हुन भन्ने छ । यसरी हेर्दा मुक्ति भनेको उद्धार वा छुटकारा हो जस्तो लाग्छ । के मुक्तिको अर्थ उद्धार वा छुटकारा मात्र हो त ? निश्चय नै मुक्ति, उद्धार र छुटकारामा केही न केही सम्बन्ध छ तर यी सबैको एउटै अर्थ चाहिँ होईन । छुटकारा भनेको कुनै पनि जेल वा नेलबाट स्वतन्त्र हुनु हो भने उद्धार भनेको कुनै पनि बन्धन वा जटिलताबाट स्वतन्त्र हुनु हो । मुक्ति, उद्धार र छुटकाराले बोकेको साझा भाव स्वतन्त्रता हो, यस अर्थमा यिनीहरु उस्तै जस्ता देखिएका हुन तापनि एउटैचाहिँ होईनन् किनकि मुक्ति स्वतन्त्रता भन्दा धेरै माथि हो । छुटकरा उद्धारको शुरुवात हो भने उद्धार मुक्तिको प्रारम्भ हो ।
मुक्तिको अर्थ मोक्ष हो । मुक्ति पाउनु भनेको पापबाट छुटकारा पाउनु मात्र होईन, सम्पूर्ण सांसारिक र शारीरिक अभिलाषाहरुबाट पनि स्वतन्त्र हुनु हो । के हामीले प्रभ येशू ख्रीष्टमा बिश्वास गरिसकेपछि सम्पूर्णरुपमा सांसारिक र शारीरिक अभिलाषाहरुबाट स्वतन्त्र भएका छौं ? कसैलाई लाग्न सक्छ, हामी त्यसरी नै स्वतन्त्र भएका छौं, यो लाग्ने कुरा मात्र हो तर व्यवहारमा हामी संसारमै छौं र अभिलाषा मुक्त कदापी छैनौं । यदि त्यसो हुदो हो त १यूहन्ना १ः८ मा “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोखा दिन्छौं” भनी लेखिने थिएन होला ! के यो वचन अबिश्वासीहरुको निम्ति मात्र लेखिएको हो र ? यो पहिला बिश्वासीहरुको निम्ति लेखिएको हो र अबिश्वासीहरुको निम्ति पनि हो । किन घरिघरि बाइबलले बिश्वासीहरुबाट पश्चातापको माग गर्छ ? किनकि मुक्तिले पूर्णता पाएकै छैन ! हो, हामीले हाम्रा प्रभु येशू ख्रीष्टबाट मुक्ति पाएकै हौं, यसमा शंकै छैन तर मुक्तिले पूर्णता पाएको छैन मात्र भनेको हुँ ।
यदि मुक्ति सम्पन्न भएको हो भने किन १पत्रुस २ः२ मा “....आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ” भन्यो त ? यो खण्डले हामीलाई भन्दै छ कि मुक्ति पाएकै हौं तर बृद्धि हुन र पूर्णता पाउन बाँकी नै छ । त्यसो हो भने मुक्तिले कहिले पूर्णता पाउँछ त ? रोमी १३ः११ मा लेखिएको छ,“...हाम्रो मुक्ति अझ नजिक छ ।” कति नजिक हो त ? रोमी ८ः२३ मा लेखिएको छ,“हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ । सृष्टि मात्रै होईन हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रुपमा ग्रहण गरिनलाई, अर्थात हाम्रो देहको उद्धारको निम्ति प्रतिक्षा गरेर हामी आफै पनि भित्रभित्रै आर्तनाद गर्दछौं ।” यो खण्डले हामीलाई हाम्रो शरीरको उद्धारपछि मात्र मुक्तिले पूर्णता पाउँछ भन्ने कुराको संदेश दिन्छ । जबसम्म हामीसंग शरीर छ तबसम्म हामीसंग अभिलाषाहरु बिद्यामान छन । जब हामी शरीरबाट पनि मुक्ति पाउँछौं र जुन दिन हामी स्वर्ग पुगौंला हाम्रो मुक्तिले पूर्णता पाउनेछ ।
मुक्ति मानिसको बशको बिषय होइन, यो त परमेश्वरबाट मात्र सम्भव छ । व्यवस्थाका धर्मकर्महरुले मुक्ति दिने कुरै छैन, मुक्तिदाता प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ, योचाहिँ परमेश्वरको अनुग्रह हो । तर मुक्ति पाउन मानिसहरुले परमेश्वरको अनुग्रहमा बिश्वास त गर्नुपर्यो नि ! मानिसले मुक्ति पाउन परमेश्वरको चुनाव प्रमुख हो तर परमेश्वरले मानिसलाई मुक्तिको निम्ति चुन्ने आधार के त ? के बिश्वास नै नगरीकनै परमेश्वरले मानिसलाई मुक्ति दिनु हुन्छ र ? पक्कै पनि दिनु हुन्न । त्यसैले मुक्ति पाउन मानिसको बिश्वासको पनि महत्वपूर्ण भुमिका रहन्छ । यदि मानिसले बिश्वास गुमायो भने त्यहाँ मुक्तिको के अर्थ रहन्छ र ? परमेश्वरले प्रेम मात्र गर्नुहुन्न न्याय पनि त गर्नुहुन्छ । यदि परमेश्वरले न्याय गर्नुहुन्छ भने केको आधारमा न्याय गर्नुहुन्छ त ? न्याय गर्ने आधार पनि बिश्वास नै त हो । बिनाबिश्वास परमेश्वरलाई रिझाउन असम्भव छ (हिब्रू ११ः६) । त्यसैले मुक्तिको निम्ति परमेश्वरको अनुग्रह र मानिसको बिश्वास एक सिक्काको दुई पाटा जस्तै हुन, एकबिना अर्को अधुरो नै रहन्छन (एफिसी २ः८) ।
मुक्तिमा मानिसको कुनै पनि साझेदारी हुँदैन भन्ने कुरामा मलाई बिश्वास लाग्दैन । के मानिसलाई परमेश्वले रोबोर्ट जस्तै बनाउनु भएको हो र ? यदि त्यस्तो हो भने स्वतन्त्रताको कुनै अर्थ छैन । परमेश्वरको प्रेम यहीँ हो कि मानिसले पनि असल र खराबको चयन गर्न पाओस । त्यहीँ भएर त परमेश्वरले अदनको बँगैचामा असल र खराबको ज्ञान दिने रुख पनि राख्नु भयो !
परमेश्वरले मानिसलाई आफ्नो साझेदारीको निम्ति सृष्टि गर्नुभएको हो । त्यही भएर त आदमलाई उहाँले राजा बनाउनु भएको थियो । बिडम्बना, आदमले परमेश्वरको उद्धेश्य गुमाए ! यदि मुक्तिमा पनि आदमले परमेश्वरसंग साझेदारी गरेनन् भने उनले मुक्ति पाउँदैनन् । आदमको साझेदारी परमेश्वरको अनुग्रहमा बिश्वास गर्नु हो । यही कुरालाई एफिसी २ः८–१० मा यसरी लेखिएको छ,“किनभने अनुग्रहबाट बिश्वासद्वारा तिमीहरुले उद्धार पाएका छौ, यो तिमीहरु आफैबाट होइन, यो परमेश्वरको वरदान हो, कर्महरुद्वारा होइन नत्रता मानिसले घमण्ड गर्नेछ । किनकि हामी असल कामहरुका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं । हामी ती बमोजिम हिडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको थियो ।” यो खण्डले कामहरुद्वारा मुक्ति सम्भव छैन भनी ठोकुवा गर्यो । तर परमेश्वरको अनुग्रहमा बिश्वास त गर्नु पर्यो नि ! बिश्वासपछि कामका कुरा पनि त गर्यो ! हो यहीँ हो परमेश्वरसंग साझेदारी गर्नु भनेको । यदि कामको कुनै पनि मुल्य छैन भने हामी कसरी ख्रीष्टमा जिउन सकौंला ? यदि कामको कुनै पनि अर्थ छैन भने बाइबलबाट याकुबको पुस्तक हटाईदिए पनि भयो, किनकि उनी भन्छन,“जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसैगरी बिश्वास पनि कामहरुदेखि अलग हुँदा मरेको हुन्छ (याकुब २ः१४,१७,२४,२६) ।” ती कामहरु मुक्तिमा जिवित रहनको निम्ति गरिने कुरा हुन नत्र हामी कसरी परमेश्वरको बिश्राममा प्रवेश गरौंला ?
बिश्वासपछिको हाम्रो यात्रा पवित्रीकरण हो किनकि हाम्रो परमेश्वर पवित्र हुनुहुन्छ र हामी पनि पवित्र भएको उहाँ रुचाउनु हुन्छ (लेवी ११ः४४–४५, १९ः२, १पत्रुुुस १ः१५–१६)। पवित्रीकरणको बाइबलीय अर्थ जीवनको हरेक रहन सहनमा परमेश्वरको निम्ति अलग हुनु हो (यशैया ५२ः११, २कोरिन्थी ६ः१४–१८) ।
बिश्वास गर्दा बित्तिकै मुक्ति सम्पन्न भएको हो भने किन फेरि, फेरि पनि मानिस समस्याहरु र उल्झनहरुबाट गुज्रनु पर्छ त ? किन ऊसले परिक्षाहरुको सामाना गरिरहनु पर्ने ? यदि मुक्ति सम्पन्न भएकै हो भने त मानिसले पूर्णरुपमा बिश्राम पाउनु पर्ने हाईन र ? जबसम्म हामी पूर्णरुपमा परमेश्वरको बिश्राममा प्रवेश गर्दैनौं मुक्तिले पूर्णता पाउँदैन । बिश्राम गरिसकेपछि कुनै पनि काम गर्न पर्दैन भने त्यो अवस्थालाई मात्र मुक्ति भनिन्छ होईन र (हिब्रू ४ः८–११) ? जब हामी परमेश्वरलाई पच्छ्याउन संघर्ष गरिरहेका छौं भने हामी मुक्तिको यात्रामा छौं । एक दिन हामी हाम्रो गन्तब्यमा अवस्य पुग्नेछौं ।
जब इस्राएलीहरुलाई परमेश्वरले मिश्रबाट निकाल्नु भयो, त्यतिबेलै उनीहरुले मिश्रको दासत्वबाट मुक्ति पाएका थिए तर जबसम्म कनानमा पुगिसकेका थिएनन् तिनीहरु मुक्तिको यात्रामा थिए । यो भौतिक दृष्टान्त हो । जबसम्म हामी स्वर्गमा पुग्दैनौं हामी पनि मुक्तिको यात्रामा छौं । ख्रीष्ट येशूमा हाम्रो गन्तब्य निश्चित छ, अबस्य स्वर्गमा पुग्नेछौं र परमेश्वरको बिश्राममा प्रवेश गर्नेछौं, यो हो मुक्ति ।