17/08/2026
परिवारमा शान्ति र एकता
आज धेरै परिवार बाहिरबाट हेर्दा राम्रो देखिन्छन्, तर घरभित्र श्रीमान–श्रीमतीबीच मनमुटाव, छोराछोरीसँग दूरी, रिस, अहंकार, अविश्वास र एक–अर्कालाई नबुझ्ने समस्या बढ्दै गएको छ। एउटै घरमा बसेर पनि मनहरू टाढा भएका छन्। परिवारमा धन–सम्पत्ति भएर मात्र सुख हुँदैन; एक–अर्काप्रति प्रेम, क्षमा, सम्मान र समझदारी भयो भने मात्र घर साँच्चिकै घर बन्छ।
बाइबलले भन्छ, “सकेसम्म, तिमीहरूबाट हुनेसम्म, सबै मानिसहरूसँग मेलमिलापमा बस।” — रोमी १२:१८
परिवारमा शान्ति ल्याउने पहिलो कदम अरूलाई दोष दिनु होइन, आफूबाट परिवर्तन सुरु गर्नु हो। श्रीमानले श्रीमतीलाई सम्मान र प्रेम गर्नुपर्छ, श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्छ। छोराछोरीले आमाबुबाको आदर गर्नुपर्छ, र आमाबुबाले पनि छोराछोरीलाई केवल आदेश दिने होइन, प्रेमपूर्वक बुझ्ने र सही बाटो देखाउने गर्नुपर्छ।
“हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो।” — एफिसी ५:२५
परिवारमा कहिलेकाहीँ गल्ती हुन्छ, कठोर शब्द निस्कन्छन् र मन दुख्छ। तर पुरानो चोट समातेर बसिरहँदा सम्बन्ध झन् बिग्रन्छ। त्यसैले क्षमा गर्न सिकौँ। बाइबल भन्छ, “एक-अर्कालाई सहन गर र यदि कसैको विरुद्धमा गुनासो छ भने एक-अर्कालाई क्षमा गर।” — कलस्सी ३:१३
घरमा मोबाइल, पैसा, काम वा बाहिरी मानिसहरूले भन्दा परिवारका सदस्यहरूबीचको संवाद महत्वपूर्ण छ। केही समय एक-अर्कासँग बसेर कुरा गरौँ। रिसाएको बेला निर्णय नगरौँ। आवाज ठूलो पारेर होइन, प्रेमपूर्वक कुरा गरौँ। कसले जित्यो भन्ने होइन, परिवार कसरी बचाउने भन्ने कुरा सोचौँ।
सबैभन्दा महत्वपूर्ण कुरा, परिवारलाई परमेश्वरको हातमा सुम्पौँ। सँगै प्रार्थना गर्ने परिवारले आफ्ना समस्याहरू परमेश्वरसामु राख्न सिक्छ। “म र मेरो घरानाले परमप्रभुको सेवा गर्नेछौँ।” — यहोशू २४:१५
परिवारमा समस्या आउनु अन्त्य होइन। प्रेमले घाउ निको पार्न सक्छ, क्षमाले सम्बन्ध जोड्न सक्छ, नम्रताले अहंकार हटाउन सक्छ र परमेश्वरको वचनले घरलाई सही बाटो देखाउन सक्छ। त्यसैले आजैदेखि एक-अर्कालाई दोष दिने होइन, एक-अर्कालाई बुझ्ने प्रयास गरौँ। टुटेको सम्बन्ध जोड्न पहिलो कदम चाल्न लाज नमानौँ। किनकि संसारमा सबै कुरा गुमाएर पनि परिवार बच्यो भने धेरै कुरा बाँकी रहन्छ; तर सबै कुरा पाएर पनि परिवार गुम्यो भने मनभित्र ठूलो खालीपन रहन्छ।
परिवारमा शान्ति चाहनुहुन्छ भने, परिवर्तन अरूबाट होइन—आफूबाट सुरु गर्नुहोस्।
-आकाश