15/05/2026
हार्दिक निमन्त्रणा ☸️🪷
विषय: ञुङने (मौनव्रतमा) सुरू हुन गईरहेको साथै सहभागी हुने बारे।
ञुङने मौनव्रतको बारे संझिप्त जानकारी तल अन्तिममा लेखिएको छ।
श्रद्धेय बौद्ध धर्मावलम्बी महानुभावहरू,
यस वर्ष २०८३ साल जेठ महिनामा आयोजना हुन गइरहेको पवित्र ञुङने (मौनव्रतमा) यहाँहरू इच्छुक बौद्ध भक्तजनहरू सामेल हुन सकऱ्नुहनेछ साथै यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
कार्यक्रमको विवरण:
* आगमन एवं तयारी: २०८३ जेठ १ गते, बेलुका।
* व्रत प्रारम्भ: २०८३ जेठ २ गते (औँसी तिथि), बिहान ५:०० बजे।
* व्रत समापन: २०८३ जेठ १८ गते बिहान र साथै अभिषेक ( वाङ ) पनि ।
* स्थान: अवलोकितेश्वर महाविहार (ञुङने गुम्बा), पोखरा-१०, रङ्गशाला।
विशेषता तथा महत्त्व:
* सागा दावा (पुण्यको महिना): २०८३ जेठ २ गतेदेखि असार १ गते (औँसी तिथि) सम्मको अवधि अत्यन्तै पवित्र सागा दावा महिना हो।
* त्रिसंयोगको पावन अवसर: यसै पवित्र महिनामा भगवान् बुद्धको जीवनका तीन महत्त्वपूर्ण घटनाहरू—जन्म, ज्ञान प्राप्ति, र महापरिनिर्वाण—भएका थिए।
* यस विशेष महिनामा कम्तीमा पनि एक जोडी मात्र भए पनि ञुङने व्रत बस्नु अत्यधिक फलदायी र महापुण्यदायक मानिन्छ।
* दुर्लभ अवसर: मानव चोला र यस्तो पवित्र महिनाको संयोग बारम्बार नजुर्ने हुनाले यो अमूल्य र दुर्लभ अवसर नगुमाउनु हुन अनुरोध छ।
आवास तथा सम्पर्क:
गुम्बामा नै बसेर व्रत अनुष्ठान पूरा गर्न चाहनुहुने भक्तजनहरूले स्थान सुनिश्चितताका लागि कृपया तल दिएको नम्बरमा सम्पर्क गर्नहोला।
दान तथा सत्कार्यको सुवर्ण अवसर:
यस महापर्वका अवसरमा गुम्बामा पाल्नुहुने व्रतालुहरू र त्रिरत्न (बुद्ध, धर्म र संघ) का निमित्त इच्छाअनुसार निम्नलिखित सामग्रीहरू दान (स्पोन्सर) गरी पुण्यआर्जन गर्न सक्नुहुनेछ:
* चिया, दूध तथा शुद्ध खानेपानी ।
* व्रतालुहरूका लागि भोजन (दिउँसोको खाना) तथा फलफूल ।
* छोग (त्रिरत्नका लागि पवित्र अर्पण/Offering)
अतः यस पावन महिनामा आफ्नो अनुकूलता अनुसार व्रत बस्न तथा दान-दक्षिणा गरी धर्मको भागीदार बन्नुहुन सम्पूर्ण आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपील गर्दछौँ।
स्थान अवलोकितेश्वर महाविहार (ञुङने गुम्बा)।
पोखरा-१०, रङ्गशाला।
सम्पर्क तथा विस्तृत जानकारीका लागि:
* व्यवस्थापक: नोर्बु लामा र चन्द्रावती गुरुङ
* फोन नम्बर: + 977 9763250935, +977 9841511165 .
ञुङने मौनव्रतको बारे संझिप्तमा ।
यस मङ्गल गाथाबाट शुरू गरेर मङ्गल पाठ विस्तारमा गर्दै फूल छर्कने र बाजागाजा धेरै बजाउने गर्नुपर्छ। यसरी तयारी र मूल दुवै दिनमा तीनपल्ट पूजा विधि गर्नुपर्छ। तयारीको दिन मासु, जाँडरक्सी, लसुन, प्याज, मूला, तिल, केराउ आदि नखाइकन तीन सेता खानाहरू (दही, घिउ, दूध) मा आधारित खाना पूर्वाह्न एकपल्ट खानु । काँसको भाँड़ा, पात र हत्केलामा नखानु । बेलुकी चिया, सख्खर (गुँड), पगालेको घिउ खान हुन्छ। मूल दिनमा निद्राबाट बिउँझने बित्तिकैदेखि बोली बन्द गर्नुपर्छ। अन्नको एकै दाना र पानी एकै थोपासम्म पनि पिउनु हुँदैन। पूजा विधि पनि मनले मात्र गर्नुपर्छ भनिए पनि ध्यान अस्पष्ट हुने भएकोले उच्चारण गरेरै पढ़े हुन्छ भनी पहिलेका केही सज्जनहरूले बताउनु भएको छ । अन्तिम दिन उज्यालो भएपछि शरीरमा रहेका कीटाणुहरूको भोक मेटाउन एक कचौरा पातलो खोले पिउनु । त्यो दिनको खाना पनि तयारी दिनकै बेलामा खानुपर्छ। भद्र व्यवहार गरी सफा भएर बस्नु पर्द।यसप्रकारको शुद्ध आशयद्वारा उपोषथ (ञुङने) र शुद्ध तरीकाले विधि अनुसारको पूजा गरेमा निम्न अनुसारको फाइदा हुन्छ। यस्तो बताइएको छ "हे कुलपुत्र वा कुलपुत्री ! - अष्टमी वा पूर्णिमाको दिन उपोषथ वा उपवास गर्न मिल्छ। अवलोकितेश्वर नामलाई १०८ पल्टसम्म जपेर दण्डवत गरेर मनमा लिएमा त्यो व्यक्तिले पाँच महापापहरू गरे पनि सुखावतीमा निश्चित रूपमा जन्म लिन्छ । दुगर्तिमा जन्म लिँदैन ।' त्यस्तै चालीस हजार कल्पसम्म दुःखी जन्म लिँदैन । मूलापत्ति र पाँच महापाप पनि शुद्ध हुन्छन्। महिलाले पनि एकैपल्ट भए पनि उपोषथमा बसेमा मरेपछि पुरूषको जन्म लिएर बोधिसत्त्व बनेर संसारमा फेरि फर्कनु पर्दैन । साक्षात् अवलोकितेश्वरका बोधिसत्त्व दावा ग्याल्छेनले पनि यस्तो बताउनु भएको छ - विशुद्ध रूपमा उपोषथ (ञुङने)आठपल्ट गरेर आर्य अवलोकितेश्वरको नाम १०० पल्ट पाठ गर्दै दण्डवत गरेमा त्यसले पक्कै सुखावती लोकमा त्यहाँबाट फेरि फर्कनु नपर्ने गरी जन्म लिन्छ र त्यहाँबाट बुद्धत्व प्राप्ति गर्छ । एकैपल्ट मात्र बसेमा पनि पक्कै दुर्गतिको ढोका बन्द हुन्छ। यो धर्म सबै बुद्ध र बोधिसत्त्वको साधना भएकाले सबैले यो पालना गर्नुपर्छ। त्यस्तै तयारी सहितको न्युने उपोषथ एकै आसनमा भोजन गर्ने दिन भोजन चढ़ाएमा आठौ भूमिको बोधिसत्त्वलाई भोजन चढ़ाएको समानको पुण्य प्राप्त हुन्छ । ञुङने सकिने तेस्रो दिन भोजन चढ़ाएका पाँच सय प्रत्येक बुद्धहरूलाई भोजन चढ़ाए बराबरको पुण्य प्राप्त हुन्छ। उपोषथमा मात्र बसेको व्यक्तिलाई भोजन चढ़ाएमा अर्हतलाई भोजन चढ़ाए बराबरको पुण्य प्राप्त हुन्छ। ती दानपतिहरू ३ दुर्गति (नरक, प्रेत, पशु) को रूपमा जन्म लिँदैनन् । रोग, शस्त्र, अस्त्र, अनिकालको कल्पमा जन्म हुँदैन । हरेक जन्ममा सुख शान्ति र सम्पन्नता प्राप्ति हुन्छ। बोधिचित्त मनमा पैदा हुने जस्तो धेरै फाइदा हुन्छन् भनी बताइएको छ। त्यस्तै बोधिसत्त्व छुसाङपाले पनि मृत्यु समयमा दिने उपदेशमा यस्तो बताउनु भएको छ - 'अहिले म गएपछि मेरो लागि अर्को घेवा (कुशल) पूजा - गर्नु पर्दैन । जुङने व्रत बसेकाहरूलाई सकेमा एकपल्ट भोजन गराउनु, नसकेमा अन्तिममा तेस्रो दिनको पातलो खोले चढाइदिनु । त्यो पनि नसकेमा भोजन बनाउनको लागि एउटै दाउरा पनि चढ़ाएमा धेरै पुण्य हुन्छ भनी आर्य अवलोकितेश्वरले प्रत्यक्ष रूपमा बताउनु भएको छ। मान्छेले भनेको जस्तो मात्र हैन। वहाँले कहिल्यै पनि झुठ बोल्नु हुन्न ।' यस्तै भन्दै अनुयायीहरूलाई मायाले अनुशरण गर्दै उपदेश दिनु भएको छ । अहिले कली युगको नराम्रो समयमा अनुत्तर मंत्र यानका गम्भीर दृष्टि र भावनाहरूलाई नबुझीकन जाँड-रक्सी जस्तो मादक पदार्थ खाई मंत्रको चर्या (तुल्सुग) गरेको भन्दै पूजा विधिको क्रम बिगारेमा भ्रष्ट हुने भएकाले सही ढंगले पूजा विधि नगरेमा आफूले आफैलाई बिगारिन्छ । उच्च-निम्न जोसकै व्यक्तिले पनि अभ्यास गर्न सक्ने, कम कष्टमा धेरै लाभ हुने, बढ़ी नाफा र कम घाटा हुने, बाहिर र भित्र दुवैमा सफा यस्तो भद्र मार्गमा प्रयत्न गरेमा अहिले जीवित अवस्थाका रोग, लागोलगान र बाधाहरू शान्त हुन्छन् भने मृत्युपछि अनाथ, सहारा नभएका व्यक्तिका कुशल मूल बढ़ाउन योभन्दा विशेष कुरा अर्को नभएको पक्का हो।यो विशुद्ध पूजा विधि दर्शाएको पुण्यले आमाबा रूपी आकाशसमान षड्गतिका प्राणीहरूले दुई अन्तको महासागर चाँड़ै पार गरी अवलोकितेश्वरको उत्तम अवस्था प्राप्त गर्न सकुन् ।