26/05/2026
आदरणीय पाष्टरज्यू तथा अगुवाज्यूहरू,
जयमसिह ।
विषयः बालबालिकाका लागि विश्व प्रार्थना दिवस कार्यक्रममा सहभागी हुने सम्बन्धमा।
महोदय,
पवित्र बाइबलले बालबालिकालाई परमेश्वरको बहुमूल्य उपहारको रूपमा प्रस्तुत गरेको छ। परमेश्वरले मानवलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको हो, र बालबालिकाहरूलाई उहाँले अति प्रेम गर्नु भयो । प्रभु येशू ख्रीष्टले पनि बालबालिकालाई कहिल्यै तुच्छ ठान्नुभएन, तर प्रेमपूर्वक आफ्नो काखमा लिनुभयो, आशिष् दिनुभयो र उनीहरूलाई परमेश्वरको राज्यका उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।
तर येशूले भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।” मत्ती १९ः१४
आजको समयमा नेपाल लगायत विश्वका धेरै मण्डलीहरूमा बालबालिकाको सेवकाइलाई अपेक्षाकृत कम प्राथमिकता दिइएको अनुभव हुन्छ। धेरैजसो अवस्थामा बालबालिकाको सेवकाइ केवल “बालसंगति” सम्म सीमित भएको देखिन्छ। बालसंगतिका शिक्षक–शिक्षिकाहरूलाई प्रोत्साहन, तालिम, आत्मिक हौसला तथा बालबालिकाको समग्र विकासका विषयमा पर्याप्त ध्यान नदिइएको विभिन्न अध्ययन तथा अनुभवहरूले देखाएका छन्।
यदि आजको मण्डलीले बालबालिकाको आत्मिक जीवन, चरित्र निर्माण र भविष्यप्रति गम्भीर चासो नदिने हो भने भविष्यमा मण्डलीहरू कमजोर र रित्तिने सम्भावना बढ्दै जान्छ। त्यसैले हामी सबै पाष्टर, अगुवा तथा विश्वासीहरूले बालबालिकाका निम्ति प्रार्थना गर्दै उनीहरूको आत्मिक, मानसिक, सामाजिक र नैतिक विकासका लागि सचेत रूपमा काम गर्न अत्यन्त आवश्यक छ।
यिनै कुराहरूलाई मध्यनजर गर्दै हरेक वर्ष जुन महिनाको पहिलो शनिबार विश्वभरिका ख्रीष्टियनहरूले “बालबालिकाका लागि विश्व प्रार्थना दिवस” मनाउँदै विशेष प्रार्थना गर्ने गरेका छन्। यसै अवसरमा नेपाल प्रेयर काउन्सिलको भावी पुस्ता विभागद्वारा निम्न मिति, समय र स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
मितिः जुन ०६, २०२६ (शनिबार) (जेठ २३, २०८३)
सययः दिउँसो २ः३०–०५ बजेसम्म
स्थानः बेथशालोम पुत्तलीसडक चर्च, काठमाडौं
यस विशेष अवसरमा पाष्टरज्यूहरू, अगुवाज्यूहरू तथा बालसंगतिका शिक्षक–शिक्षिकाहरूले सहभागी भई बालबालिकाको निम्ति एकतामा प्रार्थना गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। साथै उक्त दिन यहाँहरुको आराधाना सेवामा ५ मिनट मात्र भए पनि बालकालिकाका लागि प्रार्थना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं
धन्यवाद ।
पाष्टर रविनकाजी बैद्य
संयोजक
भावी पुस्ता विभाग
नेपाल प्रेयर काउन्सिल