तनहूँ जिल्लाको सदरमुकाम व्यास नगर अर्थात दमौली बजारबाट ७ कि.मी. दक्षिण–पूर्वमा अवस्थित यो शक्तिपीठमा दमौली बजारबाट एक घण्टाको पैदल यात्रामा सजिलै पुग्न सकिन्छ । यहा“सम्म मोटरबाटो निर्माण गरी नियमित यातायातको प्रबन्ध समेत मिलाइएकोले यो स्थान अझै सुगम्य बनेको छ । वरिपरी डा“डाहरुले घेरेको, बेसीमा समतल फा“ट, शहरीकरणको बिगबिगीले आक्रान्त छ छाब्दी बाराही । यो तनहू“ जिल्लाका तीनवटा गा.वि.स.हरुको संगमस्थ
ल हो । बजारबाट अलिक पूर्व दिशामा भीमकाय पहराको कोप्चेरोमा अवस्थित छन् यी माई । त्यही पहराको काखमा रहेको कञ्चन पानीको कुण्डसंगै जोडेर माईस्थान स्थापना गरिएको छ । कुण्ड र माईस्थानको छेउबाट बग्ने नमादी अर्थात छाब्दी खोलामा घामै छेक्नेगरी बाम र कत्ले माछाहरु खेलिरहन्छन् । भक्तहरुको गन्ध पाउनासाथ कुण्ड र नदीको किनारामा आई चाराको आशा र प्रतीक्षा गर्दछन् । औंसी, एकादशी र साउन महीना बाहेक अन्य दिनहरुमा माईको पूजा, भाकल दर्शन र भेटी फलित हुने भएकाले प्रातःदेखि मध्यान्हसम्म भक्तहरुको घुंइचो लाग्दछ । पूजा आरम्भ भएपछि मात्र कुण्डमा बामहरु देखिन थाल्दछन् ।
गण्डक क्षेत्रका सात बहिनी माईहरु मध्येकी एक छाब्दी बाराही, धर्मभीरु भक्तहरुको आस्थाको धरोहर मानिन्छ । माईको पूजा, भाकल दर्शन र भेटीले मनोकांक्षा पूरा भएका र दीर्धरोगहरु समेत बिसेक भएका अनुभवहरु सुनाउ“दछन् भक्त र पूजारीहरु ।
छाब्दी बाराहीको उत्पत्तिबारे अनौठो किंवदन्ती र विश्वास छ । परापूर्वकालमा कुनै दिन शिवजीको वीर्य पतन भयो र सो वीर्य कुनै नदीमा खेल्ने माछीले सेवन गरिन् परिणाम स्वरुप ती माछी गर्भिणी भईन् । एकदिन जलारी जालहान्दै जा“दा संयोगवश तिनै माछी जालमा परिन् । माझी (जलारी) ले माछीको पेट चिरेर हेर्दा एक कन्या पायो । ऊ सन्तानहीन भएकोले कन्यालाई आफ्नी पुत्री बनाई पाल्यो । काल वित्दै जा“दा कन्या हुर्कंदै गइन्, माझी बृद्ध हु“दै गयो । त्यसै उनले आफ्ना पिताको पेशा सम्हाल्दै घाटमा बस्ने र मानिसहरुलाई नदी तार्ने गर्न थालिन् । यो सेती र मादी नदीको संगमस्थलतिर थियो । संयोगको कुरा ती कन्याले एकदिन परासर ऋषिलाई नदी तार्दै थिइन्, उनको सौन्दर्यबाट ऋषि मोहित भए, अनि ती कन्यासंग रासलीलाको प्रस्ताव राखे । दिवाकाल भएकाले मानिसहरुले देख्ने र आफू माछीबाट जन्मेर माझी कूलमा हुर्केको कारणले शरीरबाट आउने माछाको गन्ध ऋषिलाई नमीठो लाग्ने हु“दा आफ्नो असमर्थता जाहेर गरिन् । तर ऋषिले अन्धकार सिर्जना गर्नका लागि कुहिरो उत्पन्न गरे र दुर्गन्ध हटाउनका लागि अत्तर सिर्जना गरी ऋतुदान गरे । यसको परिणाम स्वरुप ती मत्स्य कन्या गर्भवती भईन र व्यास ऋषिलाई जन्म दिइन् । केही काल पर्यन्त आफू कुमारी मै आमा बन्नुपरेकोमा सामाजिक हेपाई भोग्नु परेको कुरा पुत्र व्याससंग कहिन् । तब माताको सेवा र संरक्षण गर्नुपर्ने आफ्नो कर्तव्य संझी पुत्र व्यासले तहा“देखि पूर्वको कुनै शान्त र निर्जन स्थलमा एक कुण्ड निर्माण गरे । सो कुण्डमा विभिन्न १०३ तीर्थस्थलहरुको जलल्याई भरिदिए र आफ्नी मातालाई त्यहीं बस्ने प्रबन्ध मिलाए । ती कन्यालाई सनातन शास्त्रमा मत्स्यगन्धा र सत्यवतीका नामले चिनिन्छ । पुत्रले मिलाएको प्रबन्ध अनुसार उनी त्यही कुण्डमा गई शीलाको रुपमा बास गरिन् । कलियुगमा उनलाई आस्थाका साथ छाब्दी बाराहीका रुपमा पूजागर्न थालियो ।
कलियुगको बिक्रमाब्द १८०० सालपूर्व यिनको महीमाको खासै चर्चा भएको पाईंदैन । यसै सम्वत् जेष्ठ ८ गते सन्ध्याको पहिलो प्रहरतिर एक अपरिचित कन्या गाउ“मा गई जहरसिंह आले मगरको गाई गोठमा बास मागिन् । घरबेटीले बासदिन सक्ने तर आफ्नो गरीबीका कारणले गा“स दिन नसक्ने वाध्यता जनाएपछि ती कन्याले आफू देवी भएको र तलको कुण्डमा प्रकट हुने जानकारी दिंदै उप्रान्त जहरसिंहका सन्तान दरसन्तानले आफ्नो पूजा गर्नू भनेर अलप भइन् । अर्को दिन बिहान जहरसिंह त्यहा“ पुगिहेर्दा एक शीला भेटेछन् र नित्य पूजाको शुरुवात गरेछन् । यस प्रकार यी माईको नित्य पूजा सम्वत १८०० साल जेष्ठ ९ गतेबाट प्रारम्भ भएको देखिन्छ । यहा“का पूजारी आले मगर हुन्छन् र हालका पूजारी जहरसिंहका नवौं पुस्ताका हुन् ।
सांस्कृतिक मात्र होइन, वातारणीय पक्षबाट पनि अत्यन्तै सुरम्य छ, छाब्दी बाराही । चराहरुको चिरबिर चिरबीर आवाज, घण्टहरुको टिनिनिनि.....धून र धूपको वास्नाले भरिपूर्ण यो वातावरण बैरागी र सन्यासीहरुको मन वहलाउने स्थान हो । दुई पहराहरुको कोप्चेरोमा नमादी खोला, झु्म्म झाडी, रङ्गीबिरङ्गी पुतलीहरुको चहलपहल, मौसमी फूलमा मौरी र भँवराहरुको भुन्भुन् आवाज, कञ्चन कुण्ड अनि खोलामा बाम र कत्ले माछाहरुको लुकामारीको दृश्यले पूर्ण छाब्दी बाराही प्रकृतिप्रेमीहरुको क्रीडास्थल र सर्जकहरुको सिर्जनास्थल हुन सक्छ ।
माईस्थानदेखि अलिकति माथिको थुम्को, समतल जमीन, पारीलो वातावरण, ठिङ्ग उभिएका कताकति सालका बुट्टा, वरपीपल चौतारी अनि वारीमा लटरम्म वाली । प्रणय गर्नेहरुका लागि रतिरागका बातमार्ने स्थान हुनसक्छ, यो । त्यसैले धर्मभीरु मात्र होइन, बैरागी, सन्यासी, वातावरणविद्, प्रकृतिप्रेमी, प्रेमजोडी वा जो कसैका लागि पनि त्यहा“ पुग्दा नवीनताको आभाष मिल्दछ ।