11/08/2026
खीष्टमा निर्माण भई संसारमा पठाइएकाहरू
फिलिमाओ चाम्बो, महानिरीक्षक
बप्तिस्मा दिने यूहन्नाकहाँ मानिसहरूको ठूलो भीड आयो र सोध्यो, "अब हामीले के गर्ने?" उनको जवाफ सोझो र व्यावहारिक थियो : तिम्रो लुगाफाटा र खाना अरूसँग बाँड, इमानदार बन, कसैलाई नछल्नू र आफूसित जे छ त्यसमै सन्तुष्ट भएर बस। पश्चात्ताप भनेको मनभित्रको भावना मात्र होइन यो त परमेश्वरको राज्य आउँदा त्यसअनुसार आफ्नो जीवन नयाँ तरिकाले चलाउनु हो।
मलाई मोजाम्बिकमा भएको कुराकानीको सम्झना छ। माटसे नाउँका एक जना युवाले मसँग मन खोलेर कुरा गरे। उनले भने : इज्जत-प्रतिष्ठा, परिवारको चाहना र अफिसमा हुने भ्रष्टाचारका कारण असल बाटोमा हिँड्न कति गाह्रो छ। उनले सोधे, "भ्रष्टाचारमा साथ नदिँदा जागिर नै जाने भयो भने के गर्ने? परिवारको कुरा मान्दा खीष्टलाई पछ्याउने कुरासँग मेल खाएन भने के गर्ने?" उनका यी प्रश्नले मलाई एउटा कुरा सम्झाइदियो।
खीष्टको चेला बन्ने सिकाइ यस्तै दैनिक ठाउँहरूमा हुन्छ जहाँ फरक-फरक चीजहरूले हाम्रो जीवनलाई तान्छ। येशूलाई पहिलो ठाउँ दिएर जीवन चलाउनुको मूल अर्थ यही नै हो। पवित्र आत्माले अनुग्रहद्वारा येशूलाई पछ्याउनेहरूको जीवन यसरी बदल्नुहुन्छ कि तिनीहरूको दैनिक सम्बन्ध, काम, परिवार र समाजमा परमेश्वरको पवित्रता देखियोस्। चेला बत्रु भनेको जानकारी थुपार्नु मात्र होइन। यो त पवित्र आत्माले हाम्रो पुरै जीवनलाई नयाँ बनाउनु हो जसले गर्दा हामी साँच्चै येशूलाई "प्रभु" भनी पुकार्नेहरू जस्तै जीवन जिउन
सक्छौं।
हरेक ठाउँ र संस्कृतिमा, मण्डलीमाथि थुप्रै दबाब आउँछ जस्तोः समाजले भने जस्तै हुने, डराउने, भ्रष्टाचार गर्ने, धेरै चाहने वा वास्ता नगर्ने। तर सुसमाचारले हामीलाई अकै बाटो देखाउँछ। मण्डली संसारबाट भाग्नका लागि होइन। बरु मण्डली संसारमै बसेर त्यहीं इमानदार र विश्वासयोग्य भई जिउनका लागि बोलाइएको हो।
यो मण्डली अनुग्रहले बनेको हो, पवित्र आत्माले भरिएको हो र संसारको भलाइका लागि येशूको नाउँमा पठाइएको हो।
परमेश्वरले NDI लाई संसारभरि यस्तै चेलाहरू निर्माण गर्न सधैं प्रयोग गरुन्।