05/04/2026
झापामा पुनरुत्थान दिवस भव्य रूपमा सम्पन्न
२२ वटा इसाई समाजको सहभागिता, मन्त्रीदेखि स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति
बिर्तामोड, झापा,
झापा इसाई समाज अन्तर्गत रहेका झापाका विभिन्न इसाई समाजहरूको संयुक्त सहभागितामा पुनरुत्थान दिवस कार्यक्रम आज बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा झापाका विभिन्न स्थानीय तहमा क्रियाशील इसाई समाजहरू, मण्डलीका अगुवाहरू, पास्टरहरू, विश्वासीजन, जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजक पक्षका अनुसार कार्यक्रममा सहभागी इसाई समाजहरूमा दमक नगर इसाई समाज, भद्रपुर नगर इसाई समाज, मेची इलाका इसाई समाज, बिर्तामोड नगर इसाई समाज, कनकाई नगर इसाई समाज, शिवसताक्षी नगर इसाई समाज, कचनकवल इसाई समाज, गौरादह इसाई समाज, कमल गाउँपालिका इसाई समाज, बाह्रदशी इसाई समाज, गौरिगञ्ज इसाई समाज, अर्जुनधारा इसाई समाज, शान्तिनगर इसाई समाज, झापा गाउँपालिका इसाई समाज, बुद्धशान्ति इसाई समाज, बाउन्दागी इसाई समाज, बेलडाँगी इसाई समाज, दमक उत्तरी इसाई समाज, मेची नगर मध्यपूर्व इसाई समाज, हल्दीबारी इसाई समाज, खुदुनाबारी एकता इसाई समाज तथा बिर्तामोड क्रिश्चियन समाज रहेका थिए।
कार्यक्रमको सुरुआत रेभ. एन. डी. थुलुङ ले प्रार्थनाबाट गराउनुभएको थियो भने झापा इसाई समितिको कोयर समूहले भजन–आराधना प्रस्तुत गरेको थियो। कार्यक्रमको अध्यक्षता झापा इसाई समाजका अध्यक्ष पास्टर इसहाक सिन्चिउरी ले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि का रूपमा कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय चिन्तन पाठक सहभागी हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि का रूपमा कोशी प्रदेश सभा सदस्य माननीय गोपाल तामाङ ले आसन ग्रहण गर्नुभएको थियो।
पुनरुत्थान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमका मुख्य वक्ता का रूपमा इलाम जिल्ला इसाई समाजका अध्यक्ष पास्टर टेक बहादुर राई रहनुभएको थियो। उहाँले आफ्नो प्रवचनमार्फत येशू ख्रीष्टको पुनरुत्थानको सत्यता, यसको आत्मिक महत्त्व, विश्वासीको आशा र विजयपूर्ण जीवनको सन्देश प्रस्तुत गर्नुभएको थियो।
यस अवसरमा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई को पनि उपस्थिति रहेको थियो। साथै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए।
राजनीतिक दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला कार्यसमितिका प्रतिनिधि सदस्य लिला खड्का, नेपाली कांग्रेस झापा जिल्ला प्रतिनिधि तथा जिल्ला समिति कोषाध्यक्ष जलकुमार गुरुङ, र नेकपा एमाले झापा जिल्ला कार्यसमितिका प्रतिनिधि प्रेम गिरी ले उपस्थिति जनाउनुभएको थियो। अन्य राजनीतिक दल तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको पनि कार्यक्रममा सहभागिता रहेको जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले पुनरुत्थान दिवस केवल एउटा धार्मिक पर्व मात्र नभई आशा, जीवन, विजय र उद्धारको घोषणा भएको बताएका थिए। झापाका विभिन्न इसाई समाजहरूको एकताबद्ध सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको सहभागीहरूको भनाइ थियो।
झापा जिल्लाभित्र रहेका २२ वटा इसाई समाजहरूको संयुक्त उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले इसाई समुदायबीचको एकता, सहकार्य र विश्वासको सन्देश थप बलियो बनाएको आयोजकले जनाएको छ।