01/05/2026
सन्त जोसेफ श्रमिक – शुक्रबार, ०१-०५-२०२६
सन् १९५५ मा क्याथोलिक कलीसियाले मे १ लाई “सन्त जोसेफ श्रमिक” को रूपमा समर्पित गर्यो। कलीसियाले सन्त जोसेफलाई कामदार र हस्तकला गर्नेहरूको संरक्षक सन्तको रूपमा मान्दछ।
यो पर्व केवल श्रमिकहरूको योगदान र अधिकारको सम्मान गर्न मात्र होइन, कामको पवित्रता सिकाउनका लागि पनि मनाइन्छ। कामद्वारा हामी सृष्टिमा सहभागी हुन्छौं र परमेश्वरलाई महिमा दिन्छौं भन्ने कुरा कलीसियाले स्मरण गराउँछ।
सुसमाचारमा येशूलाई “बढईको छोरा” भनेर चिनिन्छ। यसले देखाउँछ कि सन्त जोसेफ बढई हुनुहुन्थ्यो र येशूले पनि त्यही पेशा सिक्दै साधारण मानवीय जीवन बिताउनुभयो। यसरी येशूले श्रम, परिश्रम, खुशी र कठिनाइ सबै अनुभव गर्नुभयो।
पहिले पापका कारण कामलाई श्रापजस्तै मानिन्थ्यो, जस्तै उत्पत्ति ३:१९ मा भनिएको छ: “तिमीले पसिना बगाएर रोटी खानेछौ।” तर परमेश्वरका पुत्र येशूले आफ्नै जीवनद्वारा कामलाई पवित्र बनाउनु भयो। अब हाम्रो काम केवल जीविकोपार्जनको माध्यम मात्र होइन, तर परमेश्वरलाई महिमा दिने बाटो पनि हो।
त्यसैले हामी जे काम गर्छौं, जुनसुकै पेशामा भए पनि, मन लगाएर गरौं। किनकि अन्ततः हामी मानिसका लागि मात्र होइन, परमेश्वरकै लागि काम गरिरहेका हुन्छौं।
जसरी सन्त जोसेफले येशूलाई हातले काम गर्न सिकाउनुभयो, त्यसरी नै उहाँले हाम्रो लागि पनि प्रार्थना गरून्, ताकि हाम्रो परिश्रमद्वारा संसार आशिषित होस् र हामी आफ्ना कामद्वारा यस संसारलाई अझ सुन्दर बनाउन सकौं।